coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाठेघर क्यान्सरबारे ग्रामीण महिला अनभिज्ञ

स्वास्थ्य शिविरमा ग्रामीण महिलाको स्वास्थ्य परीक्षण गर्दै चिकित्सक। तस्बिर : मञ्जु/नागरिक

रामेछाप - रामेछाप नगरपालिका–१ की ५० वर्षीया प्रेमकुमारी थापाले पाठेघरमा लाग्ने धेरैखाले रोगबारे सुनेकी थिइन्। तर क्यान्सर पनि हुन सक्ने भएकाले समयसमयमा जँचाइरहनुपर्छ भन्नेचाहिँ सुनेकी थिइनन्।

शनिबार बज्र समाज नेपालले गाउँमै आयोजना गरेको स्त्रीरोगसम्बन्धी शिविरमा प्रेमकुमारीले पाठेघरमा क्यान्सर हुन सक्ने र सामान्य परीक्षणबाटै रोग पत्ता लगाई उपचार गर्न सकिने थाहा पाइन्। त्यही शिविरमा उनले आफ्नो पाठेघरमा क्यान्सर भए÷नभएको परीक्षण गराइन् र क्यान्सर नभएको थाहा पाएपछि उनी दंग परिन्। ‘सुरुमा त डर लागेको थियो,’ उनले खुसी हुँदै भनिन्, ‘तर स्वास्थ्यकर्मीले केही भएको छैन भनेपछि खुसी लाग्यो।’ उनी अहिले आफूले जानेको कुरा अरूलाई सुनाउँदै, सुरक्षित रहन आग्रह गर्दै हिँड्छिन्।

प्रेमकुमारी पाठेघर क्यान्सरबारे अनभिज्ञ एक प्रतिनिधि पात्र मात्र हुन्। ग्रामीण भेगमा पाठेघरको क्यान्सरबारे जानकारी नभएका थुप्रै महिला छन्। सामान्य अवस्थाकै चरणमा क्यान्सर पहिचान गरी उपचार गर्न सकिने अवस्था भए पनि त्यसतर्फ सरोकारवालाको चासो कम देखिन्छ। गैरसरकारी संस्थाहरूले केही ठाउँमा रोग पहिचानका लागि शिविर सञ्चालन गर्ने भए पनि राज्यकै जिम्मेवार सरकारी निकायहरू भने यसतर्फ सक्रिय बन्न सकेका छैनन्। जसका कारण ग्रामीण महिलाहरू संक्रमणको उच्च जोखिममा छन्। महिलाहरूमा जटिल समस्याका रूपमा पाठेघर झर्ने (आङ खस्ने) रोग रहिरहेकै अवस्थामा पछिल्ला दिनमा जिल्लाका महिलाहरूमा पाठेघरको मुखको क्यान्सरसमेत प्रकोपका रूपमा देखापर्न थालेको छ। पाठेघरको मुखको क्यान्सरबारे ग्रामीण क्षेत्रमा जागरण शिक्षा पुग्न नसक्दा धेरै महिला पाठेघरको क्यान्सरको सिकार बन्न पुगेका छन्। पछिल्ला दिनहरूको तथ्यांकलाई हेर्ने हो भने महिलाहरूमा पाठेघरको क्यान्सर प्रकोप जनचेतनाको कमीकै कारण देखापरेको बज्र समाज नेपालका अध्यक्ष पूर्णबहादुर मगरले बताए। उनले आफ्नो संस्थाले पाठेघर क्यान्सरसँग सम्बन्धित रहेर शिविर सञ्चालन गरेकाले अन्य जिल्लाको तुलनामा रामेछापमा पीडितको संख्या कम रहेको दाबी गरे। ‘यस विषयमा चौतर्फी बहस सञ्चालन गरी सहज उपचारको प्रबन्ध मिलाउने हो भने समस्या सामान्य बन्दै जानेछ,’ उनले भने।

बज्र समाज नेपालले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर रामेछाप नगरपालिकामा तीन दिन फरक–फरक स्थानमा आयोजना गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा स्त्रीरोगको निःशुल्क स्वास्थ्य शिविरमा पनि पीडित महिलाहरू भेटिए। तीन दिन सञ्चालन भएको शिविरमा रामेछाप–५ रामपुरमा परीक्षण गराउने ९३ जनामध्ये ६ जनामा र वडा १ गोठगाउँमा ९२ जनाको परीक्षण गरिएकोमा एकजनामा पाठेघरको मुखको क्यान्सर देखिएको आयोजकले जनाएको छ। यसबाट पछिल्लो समय ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढ्दै जाने अवस्था रहेको देखिन्छ। जिल्लामा दक्ष जनशक्तिको अभाव हुँदा र आवश्यक उपकरणहरूको उचित प्रबन्ध हुन नसक्दा पाठेघरको मुखको क्यान्सर परीक्षणकै लागि समस्या बनेको जिल्ला स्वास्थ्य कार्यालय रामेछापकी वरिष्ठ अनमी लीला तामाङले बताइन्। उनका अनुसार स्वास्थ्य संस्थामा सामान्य व्यवस्थापन गरेर रोग परीक्षण गर्न सक्ने अवस्था हुँदा राज्यको माथिल्लो निकायले त्यसतर्फ सोच्नुपर्ने बेला आएको छ।

शरीरमा विशेष समस्या हुँदा मात्र स्वास्थ्य संस्थामा जाने र उपचार गर्नेभन्दा पनि समयअनुसारको स्वास्थ्य परीक्षण गराउँदै जानुपर्ने रहेछ भन्ने जानकारी शिवरका कारण थाहा भएको स्थानीय राधा थापाले बताइन्। ‘लाजले रोग लुकाएर बस्ने हो भने पैसा पनि धेरै खर्च हुने र ज्यान नै जोखिममा पर्ने जानकारी मिल्यो,’ उनले भनिन्। पछिल्लो समय महिलामा पाठेघरको मुखको क्यान्सरको चर्चा चल्न थालेपछि जिल्लाका कुनाकाप्चाका महिलामा यस्तो विषयमा जानकारी पुग्न मुस्किल रहने अवस्था अझै रहेको तामाकोसी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्यले बताए। राज्यको लगानी स्वास्थ्यमा न्यून रहेको र भएको लगानीमा समेत घोटाला हुने कारणले स्वास्थ्यमा सोचेजस्तो परिवर्तन आउन नसकेको उनको जिकिर थियो। ‘राज्य सामान्य लगानी गरेर महŒवपूर्ण उपलब्धि हासिल गर्न सक्ने क्षेत्रमा लगानी गर्न आवश्यक छ। गाउँमा सञ्चालन गरिने स्वास्थ्य शिविरले सर्वसाधारणमा सचेतना भर्ने र रोगबारे सजग गराउने काम मात्र गर्छ। गाउँमा सञ्चालन हुने एउटा शिविर राम्रोसँग सञ्चालन गर्ने हो भने राज्यले जिल्लामा लगानी गर्ने स्वास्थ्यको कुल बजेट एउटै शिविरमा लगानी गर्नुपर्नेगरी ग्रामीण भेगमा शिविरमा मानिसहरू आउने बताउँदै यसतर्फ राज्यको ध्यान जानुपर्नेमा जोड दिए।

प्रकाशित: २७ फाल्गुन २०७५ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App