coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दुई दिनमा सवा १० करोडको कारोबार

काठमाडौं - राजधानीको भृकुटीमण्डपमा जारी नेपाल १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५ मा तेस्रो दिन शनिबारसम्म सवा १० करोड रुपैयाँको कारोबार भएको आयोजकले जनाएको छ । शनिबारसम्म मेला एक लाख ८७ हजारजनाले अवलोकन गरेका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा बिहीबार सुरु भएको मेला त्यस दिन २० हजारले अवलोकन गरेका थिए । पहिलो दिन सवा करोडको र शुक्रबार ५० हजारले अवलोकन गरी चार करोड रुपैयाँको कारोबार भएको आयोजकको दाबी छ । शनिबार एक लाख १७ हजारले मेला अवलोकन गर्दा ६ करोड रुपैयाँ बराबरको कारोबार भएको बताइएको छ ।

आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ मंगलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राजधानीमा एक समारोहबीच उद्घाटन गरेको प्रदर्शनीमा प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बहाम्के, राष्ट्रियसभा तथा प्रतिनिधिसभाका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानसेनापति, सरकारी तथा गैरसरकारी निकायका जिम्मेवार व्यक्तित्वलगायत सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको आयोजकको भनाइ छ ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले मुलुकभर छरिएर रहेका लघु, घरेलु तथा साना उद्योगको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यका साथ २०५८ सालबाट सुरु गरेको औद्योगिक प्रदर्शनी विभिन्न आरोह–अवरोह पार गर्दै यसपटक १५औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योेग महोत्सव र तेस्रो प्रांगारिक कृषि मेला–२०७५ को नामबाट सञ्चालन भएको बताए । 

मुलकले अहिले वार्षिक १२ खर्बभन्दा बढीको वैदेशिक व्यापार घाटा बेहोरिरहेको भन्दै उनले थपे, ‘एकातिर हामी दैनिक उपभोग्य वस्तुसमेत विदेशबाट आयात गरिरहेका छौं, अर्कोतिर हाम्रा निर्यातयोग्य उत्पादन निर्यात गर्न सकिरहेका छैनौं । निर्यातले मात्र हाम्रो व्यापार घाटा पूर्ति गर्न सक्ने अवस्थामा हामी छैनौं, अपितु स्वदेशी उत्पादनको उपयोगबाट मात्र हामीले यसलाई कम गर्न सक्छौं । त्यसैले हामीले यस मेलाको मूल  उद्देश्य मेहनत सिर्जना, उत्पादन र वस्तु मेरै नेपालको र नेपाली वस्तु प्रयोग गरौं नेपाली भएकोमा गर्व गरौं नारामार्फत प्रकट गरेका छौं ।’

समृद्ध नेपाल, सुखी नेपालीको नारालाई अभियानका रुपमा सञ्चालन गर्ने उद्घोष गरेको वर्तमान सरकारको कार्य मुलुकको समृद्धितर्फ केन्द्रित हुनुपर्ने परिप्रेक्ष्यमा मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिबिम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । 

‘हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धीका संवाहकका रुपमा रहेका भए तापनि प्रविधि प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरु प्रतिस्पर्धी बन्न नसकेको हुँदा आकर्षक प्रतिफल दिन सकेका छैनन् । जसले गर्दा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेको छैन,’ सिंहले भने, ‘परिणामतः यस्ता उद्योगहरूमा पुस्ता हस्तान्तरणको समस्या छ । यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदानप्रदान गर्न महासंघले धेरै अघिदेखि नै नियमित रुपमा राष्ट्रिय, प्रदेश तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनी आयोजना गर्दै आएको छ ।’

विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रुपमा आयोजना गर्न सुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १५आंै अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र तेस्रो प्रांगारिक कृषि मेला–२०७५’ को नाममा आयोजना भएको छ ।

हाम्रा तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन समेत गरिने यस मेलाले मुलुकको औद्योगिकरणको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बिटुबी, बिटुसी, बिटुजी जस्ता अन्तक्र्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने बताइएको छ । 

महोत्सवको सह–आयोजक अर्गानिक एसोसियसन अफ नेपाल रहेको छ । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । पाँच दिन चल्ने मेलामा दुई सय पाँचवटा स्टल छन् । उपत्यकाबाहिरका ५२ जिल्लाका ८० उद्योगहरु सहभागी रहेको र चीन, भारत र बंगलादेश गरी ४५ वटा अन्तर्राष्ट्रिय स्टल रहेको आयोजकको भनाइ छ । पाँच दिनको अवधिमा करिब चार लाख ५० हजारले मेला अवलोकन गर्ने र झण्डै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App