coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

महिलामा उद्यमशीलता विकास गर्नुपर्छ : उपराष्ट्रपति

काठमाडौं - उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको आर्थिक समृद्धिका लागि महिलामा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्।नेपाल महिला चेम्बरको आयोजनामा शुक्रबार राजधानीमा आयोजित अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा यस्तो धारणा राखेका हुन्। 

‘महिलाको राजनीतिक शसक्तीकरण भएको छ,’ पुनले भने, ‘आर्थिक समृद्धिका लागि महिलालाई उद्यमी बनाउनु पर्छ ।’ संविधानले सामाजिक, राजनीतिक हक सुरक्षित गरेकाले आर्थिक सशक्तीकरणका लागि राज्यले वातावरण बनाउनु पर्ने बताए । ‘दिगो आर्थिक विकासका लागि उद्यमशीलता आवश्यक छ,’ उनले भने, ‘उद्यम क्षेत्रमा महिलाको बलियो उपस्थिति बढाउनु पर्छ ।’

राजनीतिक, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि महिलाले गरेको प्रेरणादायी योगदानका कारण देशमा परिवर्तन सम्भव भएको बताए । मुलुकको निर्यात व्यापारमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताए । ‘हस्तकला उत्पादनमा महिलाले ठूलो योगदान गरेका छन्,’ उनले भने, ‘निर्यातजन्य प्रमुख वस्तुमा हस्तकला पर्छ ।’ पुँजीमाथि महिलाको स्वामित्व वृद्धि गर्नुपर्ने बताए। ‘उद्योगधन्दामा महिलाको सहभागिता बढाउनु पर्छ,’ उनले भने।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिलाको आर्थिक शसक्तीकरण गर्नुपर्ने बताए । ‘हरेक क्षेत्रमा महिलाको सहभागिता बढेको छ,’ श्रेष्ठले भने, ‘व्यवसाय  र उद्यममा लगाएर आर्थिक सशक्तीकरण गर्नुपर्छ ।’ चेम्बरले महिलालाई व्यवसायमा ल्याउनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए। ‘महिलाले आर्थिक उन्नती गर्नका लागि व्यवसायमा आउनु पर्छ,’ उनले भने, ‘त्यसका लागि महिला चेम्बरले पनि सघाइरहेको छ ।’

नेपाल महिला चेम्बरका सभापति उर्मिला श्रेष्ठले मुलुकको आर्थिक क्षेत्रमा महिलाको योगदान उल्लेख्य भए पनि गणना नभएको बताइन् । गृहिणी, कृषि क्षेत्रमा महिलाले ठूलो योगदान दिए पनि जिडिपीमा त्यो क्षेत्रको योगदानको गणना नभएको बताइन् । ‘गैर मौद्रिक क्षेत्रमा महिलाको योगदान ठूलो छ,’ श्रेष्ठले भनिन्, ‘महिलाको भूमिकालाई मूल्यमा परिणत गर्नुपर्छ ।’ उक्त कार्यक्रममा युरोपियन युनियनका राजदूत बेरोनिका कोडीले महिलालाई शिक्षासँगै आर्थिक क्रियाकलापमा सहभागी गराउनु पर्नेमा जाेड दिइन। 

कार्यक्रममा विभिन्न पेसा व्यवसायमा संलग्न भएर योगदान दिने नौ महिलालाई नेपाल महिला चेम्बरले सम्मान गरेको थियो । हस्पिटालिटी क्षेत्रमा काम गर्ने महिला विधाता श्रेष्ठ, उद्योगबाट कृष्णकुमारी पौडेल, पर्यटन व्यवसायबाट लाक्पा फुटी शेर्पा, निर्यात व्यापारमा संलग्न मिरा भट्टराई, सामाजिक उद्यमशीलताबाट शिवकुमारी डंगोल, कृषिमा सुलोचना श्रेष्ठ नेवा, सञ्चार क्षेत्रबाट मन्जु मिश्र, बैंकिङ क्षेत्रबाट मेघा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र लाइफ टाइम एचिभमेन्ट अवार्डबाट लक्ष्मी शर्मालाई सम्मानित गरिएको थियो।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App