coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

समस्या स्रोतको होइन, सोचको : चौधरी

काठमाडौं - चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आव्हान गरेका छन्। केही गर्ने नयाँ सोच र त्यसलाई पछ्याउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए । 

पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् । ‘आज विश्वका टप १०० अर्बपतिमध्ये ७३ अर्बपति ‘सेल्फ मेड’ हुन् । उनीहरुमध्येका ३६ जना गरिब परिवारमा जन्मिएका थिए । १८ जनासँग कलेजको डिग्री छैन । उनीहरुमध्येका केहीले बाल्यकालमा अभिभावक गुमाएका थिए । 

उनीहरू आफ्नै सपना कार्यान्वयन गरेर अर्बपति बनेका हुन्,’ नेपालका एकमात्र डलर अर्बपति चौधरीले भने, तपाईंहरु उनीहरुको भन्दा राम्रो अवस्थामा हुनुहुन्छ । लक्ष्य निर्धारण गरेर अगाडि बढ्न सके नेपालमा धेरै अर्बपति जन्मिनु गाह्रो कुरा होइन ।’ कार्यक्रममा नवलपरासी र चितवनका पाँच सयभन्दा बढी युवा सहभागी थिए । स्थानीय कलेज, गैरसरकारी संस्था र निजी क्षेत्रबाट युवाहरु चौधरीसँग अन्तरक्रिया गर्न आएका थिए। 

‘केही गर्नु त हुन्थ्यो तर के गर्ने पैसा नै छैन’ भनेर सोच्ने युवाहरूको संख्या अत्यधिक छ । समस्या स्रोतको होइन, सोचको हो,’ चौधरीले भने, ‘समस्या आफूले के गर्न सक्छु भनेर थाहा पाउन नसक्ने आत्मविश्वासको हो ।’ चौधरीले विश्वका चर्चित अर्बपति अमान्सियो ओर्टेगाको सफलताको कथा सुनाउँदै भने, ‘उनका बाबु रेलवे र रोडमा मजदुरी गर्थे । उनकी आमा सामान्य हाउस वाइफ थिइन । 

परिवार गरिबीको चपेटामा थियो । परिवारको खर्च चलाउन गाह्रो भएपछि १३ वर्षको उमेरमा उनले एउटा कपडा पसलमा काम गरे । उनी अहिले विश्वविख्यात इन्डिटेक्स कम्पनीका मालिक छन् । विश्वभरका प्रमुख सात हजार पाँच सय सहरमा उनका स्टोर्स छन् । म्याड्रिड, वार्सिलोना, लन्डन, सिकागो, मियामी, न्यूयोर्कलगायत सहरमा रियल स्टेट कारोबार फैलिएको छ ।’ चौधरीले सुनाए, ‘स्रोत छैन भन्दै टोलाएर बसेको भए के उनीहरूले यो उपलब्धी हासिल गर्न सम्भव थिएन । तपाईंहरूका बुवा किसान हुनुहोला । शिक्षक हुनुहोला । सानोतिनो व्यवसाय चलाइरहनु भएको होला । गाडी चालक हुनु होला वा कोही वेरोजगार नै पनि हुनुहोला । तर म निश्चिन्तका साथ भन्न सक्छु तपाईंहरूका बुवा अमान्सियो ओर्टेगाको बुबाभन्दा खराब हालतमा हुनुहुन्न ।’ 

चौधरीले गत साता सार्वजनिक भएको फोर्ब्स लिस्टको चर्चा गर्दै भने, ‘२१ वर्षको उमेरमा केली जेनर सबैभन्दा कान्छी अर्बपति बनेकी छन् । उनी सेल्फ मेड अर्बपति हुन् ।’ त्यस क्रममा चौधरीले विश्वभर फैलिएको वाइवाई र आफ्नो होटल बिजनेसबारे पनि जानकारी दिएका थिए ।

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App