८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

भेनेजुएला संकटकै बीच ‘ब्ल्याकआउट’

कराकस - विद्युत् आपूर्ति बन्द गराइएका कारण शुक्रबार भेनेजुएलाको अधिकांश क्षेत्रका बासिन्दाले अन्धकारको सामना गर्नु परेको छ । सरकारविरुद्ध शनिबार तय गरिएको प्रदर्शनपूर्व शुक्रबार विद्युत् आपूर्ति बन्द भएको बिबिसीले उल्लेख गरेको छ । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनलाई पदबाट हटाउनका लागि अमेरिकी समर्थन रहेको गठबन्धनले भने विद्युत् आपूर्ति बन्दका लागि एकअर्कालाई दोषारोपण गरेका छन् । विद्युत् आपूर्ति बन्द भएका कारण देशैभरका विभिन्न क्षेत्र पनि प्रभावित बनेको समाचार आएका छन् । विद्युत् आपूर्ति नहुँदा अस्पतालहरु पनि प्रभावित भएको बताइएको छ । 

विद्युत् आपूर्ति नहुँदा रेस्पिरेटरले काम नगरेपछि कम्तीमा एक जनाको मृत्यु भएको बिबिसीले उल्लेख गरेको छ । देशको प्रमुख जलविद्युत् आयोजनामा समस्या उत्पन्न गराइएपछि बिहीबारबाट विद्युत् आपूर्ति बन्द भएको थियो । 

तेलका लागि धनी भए पनि भेनेजुएलाले आन्तरिक विद्युत्का लागि जलविद्युत् आपूर्तिमा भर पर्ने गरेको छ । तर दशकौंदेखि मर्मतसम्भारमा लगानी गर्न नसक्दा भेनेजुएलाका प्रमुख जलविद्युत् आयोजनाका जलाधार र बाँध काम नलाग्ने भएका कारण देशमा विद्युत् आपूर्तिको समस्या हुने गरेको छ । 

राजधानी कराकस र देशका अन्य क्षेत्रमा विद्युत् आपूर्ति शनिबारबाट सुचारु भएसँगै सरकारको पक्ष र विपक्षमा प्रदर्शन भएको बताइएको छ । 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App