coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

सरल मान्छेहरू

“हुन त म स्वभावैले अव्यवस्थित छु र मेरो दैनिक तालिका भन्ने त्यस्तो केही छैन तर जेलले केही कुरा व्यवस्थित गरेको छ। अक्सर बिहान चार बजेतिर उठ्छु अनि मुख धोइसकेपछि चिया पकाउँछु। यति गर्न आधा घण्टा लागिहाल्छ। पानी नउम्लिन्जेल हिजोका पत्रिका र कविताहरू पढ्ने कोसिस गर्छु। कोठाबाहिरको पालेलाई पनि एक गिलास चिया बनाउँछु। चियाले उसलाई ठूलो आनन्द दिन्छ भन्ने कुरामा शंका छैन, किनभने म साह्रै मीठो चिया पकाउँछु।” (बिपी कोइरालाको ‘फेरि सुन्दरीजल’ जेल डायरी २०३३–३४, पृष्ठ १६०)

आज वडादेखि सिंहदरबारसम्म फैलिएको तुजुक फजुल खर्च, अर्बौं रुपियाँको निरर्थक व्ययभार तथा ‘म मालिक हुँ’ भन्ने मानसिकता हेर्दा पुराना कुरा दन्त्यकथा बन्दै छ। सिद्धान्तमा कठोर तर व्यवहारमा बिपी अत्यन्त सरल थिए भन्ने कुरा उनको संगत गरेका परशुनारायण चौधरी, श्रीभद्र शर्मा, नरेन्द्रनाथ बाँस्तोला, सीके प्रसाई आदिबाट सुनेको हुँ। सरल हुन सजिलो छैन, जसरी साहसी र इमानदार हुन सजिलो छैन। सरल लेख्न झन् गाह्रो छ।

जनमत संग्रहको घोषणापछि बिपी कोइराला विमानबाट विराटनगर गए। उनी चढेको विमान अवतरण हुन नदिन पूर्वाञ्चलका पञ्च र पञ्चायती व्यवस्थाका समर्थक विद्यार्थीहरू विमानस्थलमा अवरोध गरिरहेका थिए। विमानस्थलको दक्षिणतिर नेपाली कांग्रेसका हजारौँ समर्थकहरू ‘वीर विश्वेश्वर जिन्दावाद’ नारा लगाइरहेका थिए। भद्रपुरबाट नकुलकाजीको सम्पादनमा प्रकाशित हुने ‘विवेचना’ साप्ताहिकका निम्ति समाचार संकलन गर्न म विराटनगर पुगेको थिएँ। स्थिति तनावपूर्ण थियो।

दुवै अभिमानी बन्दा देश त टुक्रियो नै, हिन्दु–मुसलमान दंगामा ३८ लाखभन्दा धेरै मानिस मरे। राष्ट्र हाँक्नेहरू हठी, घमण्डी भए भने दुर्घटना हुन्छ भन्ने यो एउटा उदाहरण हो।

विमानस्थलमा सेतो कुर्ता–पाइजामा लगाएका एकजना भद्रपुरुष बडो बेचैन मुद्रामा यताउता घुमिरहेका थिए। अनुहार बिपीसँग मिल्दोजुल्दो थियो। मैले नमस्कार गरेर परिचय दिएँ, ‘म अखबारको रिपोर्टर ...।’
नमस्कार फर्काउँदै उनले भने, ‘म केशवप्रसाद कोइराला।’ आश्चर्य व्यक्त गर्दै मैले प्रश्न गरेँ, ‘बिपीको परिवारका कुनै पनि मानिसमाथि यहाँ दुव्र्यवहार हुन सक्ने देख्छु म त, हजुरलाई डर लाग्दैन ?’ उनले भने, “म त सान्दाजु (बीपी) लाई लिन आएको, डराउने भए किन आउँथे र, बाबू।” गृष्मबहादुर देवकोटाको पुस्तक ‘नेपालको राजनीतिक दर्पण’ छिचोलिसकेको थिएँ मैले। केशवप्रसाद (कोशुबाबू) बिपीका भाइ मात्र थिएनन्, राजनीतिक सहयोद्धा पनि थिए। ऊबेला बीस वर्षको ठिटो थिएँ म। पछि थाहा भयो, शेखर कोइराला उनकै छोरा रहेछन्।

२०३७ सालमा सीके प्रसाई (झापा) को घरमा पाँच÷सात मिनेट भेट्ने मौका मिल्यो, बिपीसँग। क्यान्सरले आवाज मलिन थियो। जनमत संग्रहको बेला थियो त्यो। नेपालमा २००७ सालपछि सर्वसाधारणका छोराछोरी पनि प्रधानमन्त्री हुने व्यवस्था भयो। मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भए। उनको अन्तर्वार्ता लिने मौका मिल्यो। धेरैवटा भाषा जानेका, अध्ययनशील र सरल थिए मातृका। उनका छोरा कमलप्रसाद कोइराला पनि सरल छन्। अभिमान पटक्कै छैन। कवि शिरोमणि लेखनाथले लेखेका छन्, “फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र !”

टंकप्रसाद आचार्य, रामहरि शर्मा, रामहरि जोशी, डिल्लीरमण रेग्मी, मनमोहन अधिकारी, कमलराज रेग्मी, केशरजंग रायमाझी सबै सरल थिए। नब्बे वर्षको उमेरमा हिँड्दै छन्, प्रयागराजसिंह सुवाल। साह्रै सरल लाग्यो। मरीचमानसिंह श्रेष्ठ झन् सरल थिए। घरमा कोही नुहँदा आफैँले चिया पकाएर खुवाउँथे। कीर्तिनिधि विष्ट ठूलो स्वरले बोल्ने, मनको कुरा सबै खोल्ने। सूर्यबहादुर थापा सरल थिएनन्। स्पष्ट वक्ता जस्तो लाग्ने तर अभिमान झल्किन्थ्यो।

नीति, नियम, विधि, कानुन र संविधान बनाउनेहरूले नै कानुन पालना गरेर देखाए पो अरुले पनि सिक्छन्। यहाँ त कानुन मिच्न सक्ने र फुर्तिफार्ती देखाउनेलाई ‘ठूलो मान्छे’ भनिन्छ। सरल बन्दा ‘सर्वसाधारण’ जस्तो बन्नुपर्ला भन्ने सोच्छन् कथित भिआइपीहरू।

पुराना मान्छेहरूमा राजेश्वर देवकोटा, बद्रीविक्रम थापा, कल्याणविक्रम अधिकारी, यदुनाथ खनाल, हरिश्चन्द्र महत, भोलानाथ झा, पुण्यप्रभादेवी ढुंगाना, सिद्धिचरण श्रेष्ठ, बालकृष्ण सम, खड्गमान मल्ल, विजयबहादुर मल्ल आदि सबै सरल लाग्यो। राजा महेन्द्रका छोरा रविन्द्र शाह (गीतकार) सरल थिए। गीता गुरुङका कोखबाट जन्मिएका रविन्द्रको मुहार राजा महेन्द्रसँग मिल्दोजुल्दो थियो। पूर्वसचिव तथा रविन्द्र शाहका सम्धी तेजबहादुर प्रसाईं पनि स्पष्टवक्ता र सरल थिए। उनको निवास ललितपुरमा प्रसार्इंले २०५६ सालतिरै भनेका थिए, “संविधानसभाको चुनाव राजाले नै गराउनु पर्छ भन्ने कुरामा तपाईं र मेरो विचार मिल्न आयो।”

राजाले नै संविधानसभाको चुनाव गराएर राजसंस्था तथा दलहरू अटाउने प्रणालीलाई व्यवस्थित गर्दा राजनीतिक र संवैधानिक दुर्घटना हुन पाउँदैन भन्ने प्रसाईंको तर्क थियो। यस विषयमा उनका लेखहरू पनि छापिएका छन्। त्यो त कुम्भमेलामा वंशी बजाएजस्तो भयो। उमेरले प्रसाईं मेरा पितासमान थिए तर मित्रवत् व्यवहार गर्थे। कुलीन परिवारका शिक्षित प्रसाईं शालीन, सुसंस्कृत र विनम्र थिए। उनका भाइ गणेशहादुर प्रसाईं (समालोचक) पनि सरल थिए।

कसको कति सम्पत्ति छ भन्ने कुराले कुनै महत्व राख्दैन। समाज, जनता राष्ट्रका बारेमा कुनै चासो नराख्ने तर “मैं खाऊँ, मै लाऊँ, अरु सब मरुन् दुर्बलहरू’ भन्ने सोचका द्रव्यपिशाचहरू टोलटोल र गाउँगाउँमा भेटिन्छन्। जंगी, निजामती, प्रहरी, निजी क्षेत्र, उद्योग, व्यापार, कूटनीति, राजनीतिलगायत हरेक बजारमा छन् – त्यस्ता लोभीहरू। श्रीमतीलाई सुनको दाम्लो भिराउने र सुनकै काम्लो ओढ्न चाहनेहरू कति छन् कति। ती मर्दा कसैको आँखा रसाउँदैन।

जवाहरलाल नेहरु र पाकिस्तानका जन्मदाता महम्मद अलि जिन्ना दुवै अभिमानी, कुटिल र क्लिष्ट थिए भन्ने कैँयन् लेखकले उल्लेख गरेका छन्। जिन्ना र नेहरु धनीका छोरा थिए। दुवैका एकएक जना छोरी मात्र सन्तान थिए। आफूलाई राजपुत्र जस्तै ठान्थे उनीहरू। सन् १९१३ मा मुस्लिम लिग खोले जिन्नाले। नेहरुले कांग्रेसमा राम्रो पद नदिएपछि जिन्ना रिसाए। कांग्रेसले नेहरुलाई सन् १९३६ मा पार्टी अध्यक्ष बनायो, लखनउ अधिवेशनमा। भारत शासन अधिनियम बनाएर अंग्रेजहरूले प्रान्तको चुनाव गराउँदै थिए। आफू जस्तै ब्रिटेनमा कानुन पढेको जिन्नाले अध्यक्ष पद उछिट्याउला भन्ने औढाहा भयो नेहरूलाई। १९३६ को फेब्रुअरी २८ मा पत्नी कमला नेहरुको शरीरान्त हुँदा केही महिना उद्विग्न बने नेहरु। त्यसपछि पुनः सक्रिय भए, राजनीतिमा। तर जिन्नाको मुस्लिम लिग दलप्रति उनले कहिल्यै सदाशय देखाएनन्। कांगे्रसले जितेका प्रान्तमा सहयात्री बन्न चाहन्थ्यो, मुस्लिम लिग। नेहरु सहज र सरल नबन्दा अलि जिनाले विद्रोह गर्ने छाँटकाट देखाए। उनले घोषणा गरे, ‘अब धर्मका आधारमा छुट्टै मुसलमान राष्ट्र चाहिन्छ हामीलाई, अंशबण्डा गरिदेओ।”

अंग्रेजको गुप्त योजना त्यही थियो। यत्तिकैमा द्वितीय विश्वयुद्ध सुरु भयो। यता ‘पाकिस्तान’ बनाउने खेल चलिरह्यो। सन् १९४७ को अगस्त दोस्रो हप्ता भारत र पाकिस्तानलाई दुई कित्तामा बाँडेर अंग्रेज शासकले देश टुक्र्याइदिए। नेहरु र जिन्ना सरल, सहज र विनम्र भइदिएको भए समझदारी सम्भव थियो भन्ने इतिहासकारहरूको मत पाइन्छ। दुवै अभिमानी बन्दा देश त टुक्रियो नै, हिन्दु–मुसलमान दंगामा ३८ लाखभन्दा धेरै मानिस मरे संघीयताका नाममा। राष्ट्र हाँक्नेहरू हठी, घमण्डी भए भने दुर्घटना हुन्छ भन्ने यो एउटा उदाहरण हो।

लियो तल्स्तयको कथन घतलाग्दो छ, “सरल हुनु भनेकै महान् हुनु हो। त्यसैले सबै महान् बन्न सक्दैनन्।” बुद्ध भन्छन्, “डर, लोभ, लालच र आशाले घेरिँदा जीवन जटिल बन्छ।” सरल शब्दमा भन्नुपर्दा, जन्मदेखि मृत्युसम्मको यात्रा हो, जीवन। कोही रमाउँदै, गीत गुन्गुनाउँदै, दृश्यहरू हेर्दै यात्रा गर्छन्। यात्राको मज्जा लिन्छन्। कोही रिसाउँदै, ठुस्किँदै, गजधम्म परेर यात्रा गर्छन्। बडो कष्टकर हुन्छ, काठमाडौँ–पाखराको यात्रा पनि उनीहरूलाई।

“कालो मन्दाकिनीको जल, जलनिधिको मोतीको ज्योति कालो
कालो सौदामिनीको चहक, शरच्चन्द्रको कान्ति कालो
कैलाशश्रेणी कालो झलमल गर्ने सूर्यको विम्ब कालो
यो सारा सृष्टि कालो, मनबीच छ भने दम्भ–दुर्भाव कालो।”
कवि लेखनाथले कति सुन्दर उपमा दिएका छन्। जीवन संघर्षमय छ, कन्टकमय छ तर मुस्कानमय पनि त छ नि। पशु हाँस्न सक्दैन, जान्दैन। मान्छे मुसुक्क हाँस्न सक्छ। सरल बन्न सक्छ।
शान्त, समुन्नत र सभ्य राष्ट्रहरूबाट हामीले धेरै सिक्न सक्छौँ। प्राचीन धर्म–संस्कृतिमा धनी भए पनि हाम्रो सभ्यता जोखिममा छ। टालेका जस्ता देखिने तर महँगा लुगा लाउने, अपशब्द बोल्ने, बाबुलाई फाटेका सुरुवाल लगाउन बाध्य पारेर पचास साठी हजार रुपियाँका मोबाइल फोन बोक्ने युवा हुन् वा व्यक्तिगत सुखका लागि राष्ट्र लुट्ने नेता, ती भाइरस नै हुन्। विवेकहीन र निर्घिणी हुन्। सरलता नहुँदा जीवनमा हरेक दिन कष्ट छ, ती दुःखी मनुवालाई।
कलमबाट राम्रो गुजारा नभएपछि मैले खर्च जुटाउन विदेशीलाई नेपाली भाषा सिकाउने काम पनि गरेँ। स्पेनकी एउटी विद्यार्थीले एकदिन भनिन्, “गुरु, यहाँ त देखावटी कुरा धेरै रहेछ। हाम्रो देशमा त दरबारका ससाना केटाकेटीको स्कुलको फिस तिर्न राजा पनि लाइनमा बस्छन्। हामीले नै लाइन मिच्यौँ भने अरुले कोबाट सिक्ने पो भन्छन्। हामी मामुली मान्छेसँग पनि घुलमिल हुन्छन्, राजपरिवारका सदस्य।”
मैले भनेँ, “विधिको शासन भनेकै त्यही हो। नीति, नियम, विधि, कानुन र संविधान बनाउनेहरूले नै कानुन पालना गरेर देखाए पो अरुले पनि सिक्छन्। यहाँ त कानुन मिच्न सक्ने र फुर्तिफार्ति देखाउनेलाई ‘ठूलो मान्छे’ भनिन्छ। सरल बन्दा ‘सर्वसाधारण’ जस्तो बन्नुपर्ला भन्ने सोच्छन् कथित भिआइपीहरू।”

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App