coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

अक्षरांकन पद्धतिको ‘साइड इफेक्ट’

देविराम आचार्य
विद्यालय शिक्षामा लामो समयदेखि प्रचलित प्राप्तांकलाई प्रमाणित गरेर प्रमाणपत्र दिने पद्धतिमा परिवर्तन गरी प्राप्तांकको समूहलाई अक्षरको सङ्केतबाट प्रमाणित गर्ने पद्धति लागू गरियो। यो पद्धति लागू गर्दाकै बखत पनि यसले सिकाइ स्तर झनै कमजोर बनाउँछ भनेर आलोचना र टीकाटिप्पणी भइरहेको थियो। त्यो टीकाटिप्पणी यतिखेर वास्तविक बन्दै गएको अवस्था छ। तर अक्षरांकन पद्धति आफैँमा सिकाइमा सुधार गर्ने र कमजोर बनाउने दुवै कुरासँग सम्बन्धित छैन। यो त केवल विद्यार्थीले प्राप्त गरेको अंकलाई सामान्य सफ्टवेयरमा अक्षरको समूहमा परिणत गर्ने विषय मात्र हो।

सामुदायिक विद्यालयको सिकाइस्तर कमजोर छ भन्नका लागि थुप्रै तथ्य र प्रमाणहरू छन्। अक्षरांकन पद्धति लागू हुनुपूर्व प्रवेशिका (हाल एसइइ) परीक्षाको उत्तीर्ण प्रतिशत प्रायः ३० भन्दा तल रहेको हुन्थ्यो। अक्षरांकन पद्धतिका ९ वटा समूह (इ देखि ए प्लस) मध्ये सामुदायिक विद्यालयका ८० प्रतिशत विद्यार्थी तल्ला पाँचवटा समूहमा मात्र हुन्छन्। त्यसमा पनि माथिल्लो समूहमा छात्रको संख्या बढी हुन्छ भने तल्लो समूहमा छात्राको संख्या बढी हुन्छ। विसं २०७४ को नियमित परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ६० प्रतिशत विद्यार्थीको जिपीए तल्लो पाँच समूह (इ देखि सी) मा रहेको थियो। अक्षरांकन पद्धितको कार्यविधि अनुसार यी विद्यार्थीको सिकाइ स्तर अति कमजोर, कमजोर, आंशिक स्वीकार्य, स्वीकार्य र सन्तोषजनक मात्र हो।

विद्यालय तहको अन्तिममा हुने गरेको प्रवेशिका परीक्षाको विसं १९९० देखिकै इतिहास हेर्दा हाम्रो शिक्षा प्रणालीको सिकाइ सक्षमता सधैँ नै कमजोर थियो। विसं १९९० देखि २०७१ सम्मको ८२ वर्षे अवधिमा ६० वर्षसम्मको उत्तीर्ण प्रतिशत ५० भन्दा कम रहेको थियो। अक्षरांकन पद्धति लागू गरेपछि विद्यार्थीको अनुत्तीर्ण प्रतिशत कति भन्ने त हराएको छ, तर अहिले पनि ६० प्रतिशत विद्यार्थीको सिकाइ स्तर कमजोर नै छ, बाँकी ४० प्रतिशत विद्यार्थी पनि हातमा ग्रेड सिट बोकेर आफूले चाहेको विषय पढ्न नपाएको लघुताभासमा रहेका छन्। प्राप्त ग्रेडले माथिल्लो कक्षामा चाहेको विषय अध्ययन गर्न नपाउने भएकाले  ३३ प्रतिशत विद्यार्थी २०७४ को ग्रेड वृद्धि परीक्षामा सहभागी थिए।

अक्षरांकन पद्धतिले सिकाइमा परेको प्रभावको कुनै अध्ययन अनुसन्धान भएको त छैन तर अधिकांश शिक्षक अभिभावकहरूले विद्यार्थीमा फेल नहुने भएकाले पढ्ने बानी कमजोर हुँदै गएको भन्ने गरेका छन्। यसमा केही सत्यता पनि होला तर विद्यार्थीमा पढ्ने बानी मात्र होइन, विद्यालय, शिक्षक र अभिभावकमा विद्यार्थीको पढाइमा ध्यान दिने प्रवृत्ति पनि कमजोर हुँदै गएको छ। कतिपय विद्यालय र केही खास विषयमा उत्तीर्ण प्रतिशत शून्य हुने अवस्थाबाट मुक्त भएकाले त्यस्ता विद्यालयका लागि यो व्यवस्था राम्रै भएको छ। अक्षरांकन पद्धतिको सुरुवात नगरी नहुने कारण के थिए अथवा यो पद्धतिको प्रयोग नर्गदा के बिग्रिएको थियो भन्ने त हामीसँग कुनै विशिष्ट कारण छैन, तथापि विद्यार्थीहरू परीक्षामा फेल भएको लघुताभासले आत्महत्यासम्म गर्न पुगेको, केही साधारण विषय पढ्न र सीप सिक्न रोक लागेको तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यो अक्षरांकन पद्धति प्रचलनमा रहेको जस्ता कारणले यसको कार्यान्वयन गरियो।

कतिपय व्यक्तिबाट यसलाई सार्वजनिक शिक्षाको सिकाइ स्तर सुधार गर्न लागू गरिएको भनेर अर्थ लगाइएको थियो जुन पूर्णतः गलत थियो। अक्षरांकन पद्धति आफैँले विद्यार्थीको सिकाइमा सुधार गर्ने पनि होइन र यसले कमजोर बनाउने पनि होइन। हाम्रो अभ्यासमा यो केवल विद्यार्थीलाई प्रदान गर्ने प्रमाणपत्रमा लेख्ने अंक र अक्षरको मात्र कुरा हो। यसमा विद्यार्थीले परीक्षामा प्राप्त गरेको प्राप्तांकलाई विभिन्न समूहमा समूहीकृत गरी एउटा समूहको सबै प्राप्तांकलाई एउटा संकेत प्रदान गर्ने गरिन्छ। त्यो संकेत (अक्षरको समूह) अंकबाटै आउने हो। उदाहरणका लागि, कुनै विषयमा विद्यार्थीको प्राप्ताङ्क ३१ भए डी प्लस, ४५ भए सी, ५६ भए सी प्लस र ६९ भए बी हुन्छ।

सिकाइ प्रमाणीकरणको अंकन प्रणालीका पनि केही राम्रा पक्ष थिए भने अक्षरांकनका पनि केही नराम्रा पक्ष छन्। अक्षरांकनको सुरुवात गर्दा अंकन प्रणालीलाई कामै नलाग्ने र अक्षरांकन त सबै समस्याको रामवाण भन्ने अर्थमा बुझाउन खोजियो। त्यसबाट यसले सिकाइ स्तर कमजोर बनाउँदै गएको भन्नका लागि बल पुगेको छ। हाम्रो ध्यान विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अंकमा बढी छ, त्यसैले एसइइको नतिजा प्रकाशन भएपश्चात् धेरैले जिपिएलाई प्रतिशतमा परिणत गरेर बधाई दिइरहेका हुन्छौँ। एसइइको नतिजा प्रकाशनपछि जति सिकाइका कुरा गर्छौं परीक्षा र नतिजाभन्दा अगाडि दश वर्षसम्मको पठनपाठनका कुरा हामीले कहिल्यै गरेका हुदैनौँ। सिकाइको आधार स्तम्भ प्राथमिक तथा आधारभूत तहको कमजोर सिकाइमा ध्यान दिएका छैनौँ। विद्यालयमा पठनपाठनका लागि नभई नहुने तत्व गुणस्तरीय शिक्षकको उपलब्धता हाम्रो प्राथमिकतामा कहिल्यै परेन। कक्षाकोठाको पठनपाठनमा सुधार नभई नतिजामा त सुधार आउँदैन नै।

अक्षरांकन पद्धतिमा हरेक विषयका खण्डीकृत तथ्य तथ्यांकहरू प्रकाशन नगर्ने र उपलब्धिको कमजोरी स्पष्ट थाहा नदिने प्रचलन विकास भएको छ, यसबाट हामी बिस्तारै पठनपाठनको चासो र चिन्ता अझ कम गर्दै गइरहेका छौँ। जब सिकाइप्रतिको चासो र चिन्ता, छलफल र बहस कम हुँदै जान्छ, निश्चित रूपमा विद्यार्थीको सिकाइस्तर घट्दै जान्छ। कक्षा १ देखि नै न्यूनतम सिकाइ स्तर हासिल नगरी विद्यार्थीहरू विद्यालय शिक्षाको अन्तिम कक्षासम्म पुग्ने गरेको अवस्था छ।

विद्यार्थीले आत्महत्या गर्ने छैनन्, विद्यालयका बीच अस्वस्थ प्रतिस्पर्धा हुनेछैन, कसैले आफूलाई, प्रथम, दोस्रो भनेर घोषणा गर्ने छैनन्, कोही पनि फेल भएको लघुताभासमा पर्ने छैनन्, यी शैक्षिक गतिविधिमा राम्रा पक्ष नै हुन् तर हामीले चाहेको कुरा के हो ?  हाम्रा प्राथमिकता के हुन् ? सिकाइ हो कि, सिकाइको प्रमाणीकरण हो। विगतमा सयभन्दा बढी विद्यालयको नतिजा शून्य हुन्थ्यो, करिब ६० प्रतिशत विद्यार्थीलाई फेल भएको लब्धांकपत्र दिन्थ्यौँ। हामीले सुधार त्यहाँ खोजेको हो कि, प्रमाणपत्रमा। विद्यार्थीको अगाडि बढ्ने बाटो उसलाई सिकाएर जान्ने बनाएर नरोक्ने कि, फेल नभएको भनेर मात्र। बहस र छलफल यता हुनुपर्ने त्यो हुन सकेको छैन। सुधार गर्ने क्षेत्र सिकाइ र पठनपाठन हो, कक्षाकोठाका क्रियाकलाप हुन्। सिकाइको प्रमाणीकरण दोस्रो पक्ष हुनुपर्ला। भन्दा फेल नभन्ने तर माथिल्लो कक्षामा उसले चाहेको विषय पढ्न भने नपाइने अहिलेको अवस्था छ।

हामीले सुधार गर्नुपर्ने क्षेत्र सिकाइको प्रमाणीकरण कसरी गर्ने भन्ने थिएन र होइन, सिकाइ सुनिश्चितता कसरी गर्ने र उसको सिकाइलाई वास्तविक रूपमा प्रमाणीकरण गर्ने भन्ने हो। कक्षाकोठाको शिक्षण सिकाइ प्रक्रियामा सुधार नगरी सिकाइ सुधार हुन कठिन अथवा असम्भव नै छ। पाठ्यक्रम परिमार्जन, सिकाइका उद्देश्यको विशिष्टीकरण, परीक्षा प्रणालीमा सुधार, प्रश्न निर्माणमा स्तरीयता, विश्वसनीयता र वैधता, कक्षाकोठाको सिकाइ सुधार गर्दै सिकाइको प्रमाणीकरण प्रणाली सुधार हुनुपर्नेमा हामीले उल्टो बाटो अपनायौँ। सिकाइमा सुधार गर्दै प्रमाणीकरणमा जानु उपयुक्त थियो।

सिकाइ स्तर कमजोर हुनु र राम्रो हुनुमा अक्षरांकन पद्धतिको कुनै भूमिका छैन। अक्षरांकन पद्धतिमा नपढे पनि पास भइन्छ र पास हुन्छ, माथिल्लो कक्षामा पढ्न पाइहाल्छ भन्ने जुन आम बुझाइ बनेको छ, सच्याउनु जरुरी छ। यो बुझाउने जिम्मेवारी मूलतः शिक्षकको हो। तर कतिपय अवस्थामा शिक्षकहरूबाटै यसलाई कोही फेल हुँदैन भनेर बुझ्दा र बुझाउँदा समस्या भएको छ। जसरी साना कक्षामा निरन्तर विद्यार्थी मूल्यांकन कसैलाई फेल नगर्ने भनेर बुझ्ने र कार्यान्वयन गर्ने काम भएको छ यसले पनि त्यही बाटो समात्दै छ। यसप्रति समयमै सबैलाई बुझाउने र सिकाइमा सुधार गर्ने जिम्मेवारी हामी सबैको साझा जिम्मेवारी हो। सुधार दोष लगाएर होइन, जिम्मेवारीबोध गर्दै जवाफदेहिताबाट मात्र हुन्छ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App