४ वैशाख २०८१ मंगलबार
खेल

युभेन्ट्सको मनोबल उच्च

मिलान - च्याम्पियन्स लिगमा अर्को साता एट्लेटिको मड्रिडसँग हुने खेलका लागि युभेन्ट्सले शुक्रबार इटालियन सिरी ‘ए’ मा युडिनेसीलाई ४–१ ले पराजित गर्दै मनोबल उच्च बनाएको छ।

शुक्रबार घरेलु मैदानमा भएको खेलमा पाहुना टोली युडिनेसीलाई पराजित गरेसँगै युभेन्ट्सले लिगमा १९ अंकको अग्रता बनाउन सफल भएको छ । दोस्रो स्थानमा रहेको नेपोलीको एक खेल कम खेल्दा शीर्ष स्थानको युभेन्ट्सले फराकिलो दूरी बनाउन सफल भएको हो। 

अर्को सात च्याम्पियन्स लिगका लागि भरपर्दा खेलाडी क्रिस्टियानो रोनाल्डो, मारियो मान्ड्जुकिच र पल डिबालाबिना नै युभेन्ट्स युडिनेसीविरुद्ध  उत्रिएको थियो । यद्यपि शीर्ष स्थानको युभेन्ट्सलाई निरन्तरता दिँदै स्टार खेलाडीबिना पनि टोली मजबुत रहेको प्रमाणित गरेको छ । च्याम्पियन्स लिगअन्तर्गत यसअघि  भएको पहिलो लेगमा युभेन्ट्सले एट्लेटिको मड्रिडको घरेलु मैदानमा २–० को नतिजा सुम्पिएको थियो। त्यसैले च्याम्पियन्स लिगको अन्तिमा आठमा प्रवेशका लागि युभेन्ट्सले घरेलु मैदानमा फराकिलो अन्तरले जित हात पार्नुपर्ने हुन्छ। 

शुक्रबार युडिनेसीविरुद्ध फराकिलो जित निकाल्न मोइस केइनले दुई गोल गरे भने इम्रे क्यान र ब्लेजी मातौडीले समान एक÷एक गोल गरे । खेलको ११औं मिनेटमा नै घरेलु टोलीले गोलको खाता खोलेको थियो । मोइस केइनले एलेक्स सान्ड्राको क्रस पासमा आकर्षक गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । केही स्टार खेलाडीबिना नै मैदान उत्रिएको युभेन्ट्सले पाहुना टोलीलाई दबाबमा राख्दै ३९औं मिनेटमा दोस्रो गोल थप्यो । १९ वर्षे केइनले नै गोल गर्दै अग्रता २–० मा पुर्याए । यो नै केइनको जारी सिजनको पहिलो गोल हो। 

पहिलो हाफमा लिएको २–० को अग्रतापछि घरेलु टोलीले दोस्रो हाफमा पनि उत्कृष्ट खेल खेल्यो । ५३औं मिनेटमा इम्रे क्यानले पेनाल्टीबाट गोल गर्दै टोलीको अग्रता फराकिलो पारे । ८१औं मिनेटमा मातौडीले टोलीका लागि चौथो गोल गरे । रोड्रिगो बेन्टासुईको पासलाई सदुपयोग गर्दै मातौडीले अन्तर बढाएका हुन् । फराकिलो अन्तरले पछि परेको युडिनेसीले खेल सकिन ८ मिनेट बाँकी रहँदा गोल गर्दै अन्तर कम बनायो । खेलमा युडिनेसीका केभिजन लासागेनले गोल गर्दै अग्रता छोट्याएका थिए । बाँकी समयमा थप गोल हुन सकेन र अंक सुम्पिन बाध्य भयो। 

‘केइन भविष्य बोकेका राम्रा खेलाडी हुन् । उनले खेलमा देखाएको प्रदर्शनमा म प्रभावित छु । उनले गरेको गोल निकै आकर्षक थियो,’ युभेन्ट्सका प्रशिक्षक मासिमिलियानो एलेग्रीले भने, ‘कलिला केइनले भविष्यमा राम्रो गर्छन् भन्नेमा म पूर्ण विश्वस्त छु । तर च्याम्पियन्स लिगमा एट्लेटिको मड्रिडसँग हुने खेलमा पनि रणनीति बिलकुलै फरक हुनेछ । किनभने हामी जितको खोजीमा मैदान उत्रनेछौं । त्यसका लागि हामी तयार छौं ।’

जारी सिजनमा अपराजित रहेको साबिकको विजेता युभेन्ट्सको २७ खेलबाट ७५ अंक भएको छ । एक कम खेलेको नेपोलीको २६ खेलबाट ५६ अंक छ । यस्तै शीर्ष स्थानको युभेन्ट्ससँग पराजित भएको युडिनेसीको भने २६ खेलबाट २५ अंक छ । युडिनेसी तालिकाको १५औं स्थानमा छ । यस्तै मिलान ४८ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा इन्टर ४७ अंकका साथ चौथो स्थानमा छ । उता च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको रोमा भने समान २६ खेलबाट ४४ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App