coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

झापा गोल्डकप : आर्मीले दाउफिन्सलाई फेरि रोक्यो

दमक - क्यामरुनको दाउफिन्स फुटबल क्लबलाई १–० ले हराउँदै शनिबार डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मीले दाउफिन्सका खेलाडीको आत्मघाती गोलको उपहारबाट फाइनल यात्रा तय गर्यो । भरत खवासले गरेको क्रस पासमा नवयुग श्रेष्ठलाई मार्क गरिरहेका दाउफिन्सका सिलो नाङ्गाले चेस्ट गर्न खोज्दा बलले जाली चुमेको थियो । खेलको २३औं मिनेटको त्यही आत्मघाती गोलको मद्दतले आर्मी फाइनलमा प्रवेश गरेको हो। 

आर्मीले फाइनलमा झापासँगको भेट पक्का गरेको हो। यस सिजनमा पोखरामा भएको मनकामना केबुलकार पोखरा कप, धरानमा भएको बुढासुब्बा कप र रूपन्देहीको तिलोत्तमा गोल्ड कप उपाधि जितेको दाउफिन्सको उपाधियात्रालाई आर्मीले आहा रारा कोल्डकपमा रोकेको थियो। 

खेलअवधिभर दाउफिन्सले एक दर्जन बढी पावरफुल प्रहार गरेको भए पनि गोल हुन नसक्दा उसको यात्रा सेमिफाइनलमा टुङ्गिएको छ । पहिलो हाफमा खासै मुभ बनाउन नसकेको दाउफिन्सले दोस्रो हाफमा केही सशक्त प्रहार गरेको थियो । खेलको ४५औं मिनेटमा दाउफिन्सका अहन्दा इशाको पावरफुल प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पन्च गरेर बाहिर फ्याले । ५२औं मिनेटमा टिना टिनाको प्रहार गोलरक्षक कुथुले फिर्ता गरिदिएपछि दाउफिन्स गोल गर्ने अवसरबाट वञ्चित भएको थियो । ५७औं मिनेटमा दाउफिन्सका पेटाङ्गाले खाली पोस्टमा गोल गर्न सकेनन् । ६३औं मिनेटमा पेटाङ्गाको पावरफुल प्रहार कुथुले बचाउ गरे। 

आर्मीका टेकबहादुर बुढाथोकीले खेलको ३१औं मिनेटमा खाली पोस्टमा गरेको प्रहार बाहिरियो । जितसँगै झापा गोल्डकपमा त्रिभुवन आर्मी क्लबले तेस्रो पटक फाइनल खेल्ने भएको छ । आर्मीले पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । आर्मीले फाइनल जितेका सबै खेल झापासँगको भेटमा हो । झापा ११ भने चौथो पटक फाइनलमा पुगे पनि हालसम्म उपाधि रक्षा गर्न सकेको छैन । खेलको म्यान अफ दी म्याच त्रिभुवन आर्मीका विमल पाण्डे भए । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार पाएका थिए।    

बिर्तामोडको हिम इलेक्ट्रोनिक्सले प्रदान गर्दै आएको २८ इन्चको एलइडी टेलिभिजन बिर्तामोडका भरत गुरागार्इंले पाए । टिकट काटेर खेल हेर्न आएका दर्शकमध्ये लक्की ‘ड्र’ बाट निरौलाले टेलिभिजन हात पारेका हुन्। जितपछि आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्नो टोलीका धेरै खेलाडी घाइते भएको हुनाले अपेक्षित प्रदर्शन हुन नसकेको बताए । आर्मीका लागि एक गोलको स्कोर भइसकेपछि रक्षात्मक खेल खेलेको हुनाले थप गोल गर्नतर्फ नलागेको उनले बताए। 

दाउफिन्सका मेनेजर आशिक थापामगरले उत्कृष्ट प्रदर्शनका बावजुद पनि स्कोर हुन नसकेको बताए। खेलमा पाएका अवसरलाई सदुपयोग गर्न नसकेका कारण खेलबाट बाहिरिनुपरेको थापाले बताए। 

 

प्रकाशित: २६ फाल्गुन २०७५ ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App