७ वैशाख २०८१ शुक्रबार
राजनीति

'शक्तिकेन्द्र धाएर पाएको पद होइन'

समिम मियाँ अन्सारी
संवैधानिक परिषद्बाट मुस्लिम आयोग अध्यक्षमा सिफारिस भएका समिम मियाँ अन्सारीको संसदीय सुनुवाइ समितिमा नागरिकता, राजनीतिक दलको सदस्य र शैक्षिक प्रमाणपत्रका विषयमा उजुरी परेका छन् । उनीसिफारिस भएकोबारे संसदीय सुनुवाई समितिमा पत्र आएको शनिबार ४५ दिन पुगेको छ । यसअवधिमा उनीविरुद्ध विभिन्न उजुरी परे पनि ती उजुरीका आधारमा समितिले कुनै निर्णय नदिएपछि अब उनी स्वत अध्यक्षमा नियुक्त हुने भएका छन् । उनको परिषद्बाट भएको सिफारिस र उजरीबारे उनीसँग नागरिकका लागि ईश्वरी सुवेदीले लिएको कुराकानीको सम्पादित अंशः

तपाईंलाई मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरे पनि योग्यतामा प्रश्न उठ्यो नि ?
म लामो समयसम्म मधेसीकोटाबाट मुस्लिम कलस्टर कायम हुनुपर्छ भन्ने विषयमा आन्दोलन गरेको मान्छे हुँ । आन्दोलनकै कारण नयाँ संविधानमा मुस्लिम कलस्टर राखियो । मेरो मुस्लिमको हक हितका लागि खेलेको भूमिका देखेर होला मलाई संवैधानिक परिषद्ले आयोगको अध्यक्षमा सिफारिस ग¥यो ।

तपाईंको दुईवटा जन्ममिति छ भन्ने आरोपबारे के भन्नुहुन्छ ?
संसदीय सुनुवाइ समितिमा मेरो सुनुवाइ हुँदा त्यहाँ पनि स्पष्ट गरिसकेको छु मेरो दुईवटा जन्ममिति छैन । २०६६ सालमा नागरिकता लिँदा मेरो नागरिकतामा २०३० साल असोज २४ गते छ तर अभिलेखमा भने २०३७ साल लेखिएको रहेछ, यो जिल्ला प्रशासनको त्रुटिले भएको हो यसलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीले पनि स्वीकार गर्नुभएको छ । २०५५ सालमा लिएको पहिलो नागरिकतामा जन्ममिति २०३० साल नै छ भने अभिलेखमा पनि २०३० साल छ । पहिलो नागरिकता लिएको १५ दिनपछि गाडीको लाइसेन्स लिएको छु, त्यो लाइसेन्समा पनि जन्ममिति २०३० साल नै छ । यही कुराबाट स्पष्ट हुन्छ मेरो जम्ममिति दुईवटा छैन ।

अनि तपाईंको शैक्षिक प्रमाणपत्रमा उठेको प्रश्नबारे के भन्नुहुन्छ ?
मैले आफ्नो शैक्षिक प्रमाणपत्र संवैधानिक परिषद्मा बुझाएको हुँ । एसएलसी, आइए र बिएको सर्टिफिकेट सबै परिषद्मा बुझाएको हो । परिषद्ले सिफारिस भएका पाँचवटा आयोगका अध्यक्षको संसदीय सुनुवाइ समितिमा सबैको बिए पासको मात्र सर्टिफिकेट पठाएको रहेछ । अरुको उजुरी परेन र खोजी भएन मेरो भने उजुरी परेकाले खोजी गरियो, एसएलसी र आइएको सर्टिफिकेट नै छैन भन्ने प्रचार गरियो, त्यसपछि परिषद्ले सुनुवाइ समितिमा मेरो एसएलसी, आइएको सर्टिफिकेट पठाएको छ । मेरा सबै पढाई भारतमा भएको हो । मैले त्रिभुवन विश्वविद्यालयबाट समानीकरण (इक्युभ्यालेन्ट) गराएको छु । मेरो शैक्षिक प्रमाणपत्रमा कुनै समस्या छैन ।

नागरिकता र शैक्षिक प्रमाणपत्रमा कुनै समस्या छैन भन्नुभयो तपाईंको सुनुवाइ हुँदा सत्तापक्षका सांसदले यसैमा समस्या देखियो भन्दै तपाईंलाई स्वेच्छाले पछि हट्दा राम्रो हुन्छ भन्ने सल्लाह पनि दिए नि होइन ?
मैले यो सुझावका लागि धन्यवाद पनि दिएको छु, ममाथि उजुरी नै सुनियोजित तरिकाले भएको छ । मैले थप छानबिन गर्नुपर्छ भने पनि गर्नुस् भनेको छु । म ठूलाठूला संघर्ष गरेर आएको हुँदा म यो पदमा बस्न योग्य छु भन्ने लाग्छ । म सही भएकाले यसबाट व्याक हुनुपर्ने कुरा देख्दिन ।

तपाईंका दाइले नागरिकता पर्साबाट लिएको देखिन्छ, तपाईंको काठमाडौंबाट लिनुभएको छ । किन फरकफरक ठाउँबाट लिनुभएको हो ?
मेरो र दाईको उमेर १०/११ वर्षको फरक छ । दाई वीरगञ्जमा जन्मनुभयो त्यहँीबाट नागरिकता लिनुभयो । म काठमाडौंमा जन्मेको हो । मैले काठमाडौंबाटै नागरिकता लिएको छु ।

तपाईको बुवाले कहाँबाट नागरिकता लिनुभएको हो ?

मेरो बुवाले पनि वीरगञ्जबाट नागरिकता लिनुभएको हो । कसैले शंका मानेमा त्यहाँ गएर बुझे हुन्छ । उहाँले वीरगञ्जबाट वंशजकै नागरिकता लिनुभएको छ । सुनुवाइ समितिमा मेरो सुनुवाइ हुँदा एकजना सदस्यले मेरो बुवाको नागरिकता देखाउन भन्नुभयो । तर मेरो बुवाको नागरिकता घरमा भएकाले मैले देखाउन सकिन तर बुवाको नागरिकता मसँग सुरक्षित छ ।

तपार्इंले एसएलसी आइए र विए कहाँ पढ्नु भयो ?
मेरो एसएलसी हाइस्कुल हुलास पट्टी बिहारबाट हो । आइए केएस कलेज दरभङ्गा बिहारमा हो भने हो भने विए विएडी कलेज पटना बिहारबाट गरेको हो ।

सबै तहमा प्रथम श्रेणी ल्याउनु भएको छ नि ?
प्रथम श्रेणी पढाई राम्रो भएपछि आउने कुरा हो । प्रथम श्रेणी आउनै हुँदैन भन्ने कुरा हुँदैन । त्रिभुवन विश्वविद्यालयबाट ‘इक्युभ्यालेन्ट’ गराएको छु । यो सबै फर्जि उजुरीले उठाएको प्रश्न हो ।

तपाईंको राजनीतिक दलको सदस्य त्याग गरेको जानकारी आयोगमा सिफारिस भएपछि मात्र पठाइयो नि ?

मैले मेरो नाम सिफारिस हुने संकेत देखेपछि माघ ४ गते नेकपा पार्टी कार्यालयलाई दुईवटा पत्र लेखेको छु । एउटा पत्र नेकपाको केन्दींय सदस्य र साधारण सदस्यबाट हटाउनका लागि र अर्को पत्र समानुपातिक वन्दसुचीमा रहेको नाम हटाउनका लागि लेखेको थिए । मेरो नाम संवैधानिक परिषदले माघ ६ गते सिफारिस ग¥यो । त्यसपछि पार्टीले बिर्सेर हो कि केहो नेकपाको फागुन १० गते मात्रै सचिवालय बैठक बसेर समानुपातिक सूचीबाट नाम हटाउन निर्वाचन आयोगमा पत्र पठयो । फागुन १३ गते पत्र पठाएपछि निर्वाचन आयोगले फागुन १४ गते बैठक बसेर नेकपाको पार्टी कार्यालयमा अन्सारीको समानुपातिक बन्दसुचीबाट नाम हटाएको पत्र पठायो । पार्टी कार्यालयले १६ गते सुनुवाइ समितिमा साधरण सदस्य, केन्द्रीय सदस्य र समानुपातिक सूचीबाट हटाएको जानकारी पठायो । संवैधानिक आयोग सम्बन्धी कानुनमा नियुक्ति हुदाका बखत कुनै दलको सदस्य नरहेको भन्ने उल्लेख छ । मेरो सिफारिस मात्र भएको छ तर नियुक्त भएको छैन । त्यसकारण सिफारिस भएपछि दलको सदस्य त्याग हुँदा कुनै फरक पर्दैन भन्ने मलाई लाग्छ ।

तपाईंले सुनुवाइ समितिमा पार्टीको चिठी पठाउन लगाउनुभएको हो ?
म त्यति ठूलो हैसियत भएको मान्छे हैन, मैले भन्दैमा पार्टीले चिठी पठाउँछ भन्ने लाग्दैन । मैले कुनै दबाब दिएर चिठी पठाउन लगएको छैन ।

तपाईंमाथि विभिन्न उजुरी परेपछि शक्तिकेन्द्र धाउनु भयो भनिन्छ नि ?
म कुनै पनि शक्ति केन्द्र धाएको छैन । म सही छु भने कही धाउनु पर्दैन, गलत छु भने शाक्ति केन्द्र धाएर पनि केही हुँदैन ।

तपाईंले हालसम्म के के काममा संलग्न हुनुभयो ?
नेपाल मिलन परिषद भन्ने संस्था २०६२ सालमा खोलेको थिए । पहिला त्यसको सञ्चालक सदस्य भए अहिले त्यसको अध्यक्ष छु । यस संस्थाले प्राकृतिक प्रकोपबाट पीडित बनेकालाई राहत दिने काम गरेको छ । २०६२ सालमा हजकमिटिको सल्लाहकार भए । २०६७ सालमा राष्ट्रिय खेलकुद परिषद्को सदस्यपछि निमित्त सदस्य सचिव भएर काम गरें । खेलकुद मन्त्री गणेश तिवारी, नेपाली र इश्वर दयाल मिश्र भौतिक राज्यमन्त्रीहुँदा दुवैको राजनीतिक सल्लाहकार भएको थिए । सन् २०१५ मा निर्वाचित ओलम्पिक कमिटीको सदस्य भएको थिए । २०४८ सालदेखि के कु सिंन कराँतेको खेलाडी पनि थिए ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
म अन्यायमा परेको व्यक्ति हो । मलाई न्याय चाहिएको छ, । मिडियालाई आम जनताले विश्वास गर्छन् । उजुरी कै भरमा मात्र मिडियाले समाचार बाहिर ल्यायो, मलाई दुःख लागेको छ । म आयोगको अध्यक्षमा भएमा मेरो क्षमताले भ्याएसम्म कुनै भेदभावमा नपरी मुस्लिम समुदायको उत्थानमा काम गर्नेछु ।

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App