coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तराई मधेसको समृद्धिमा जुट्ने उद्घोष

रौतहटको गरुडामा नेकपाले आयोजना गरेको आम सभालाई सम्बोधन गर्दै शिर्श नेता। तस्बिरः मदन/नागरिक

रौतहट - तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्। नेकपाको प्रदेश नम्बर २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री एवं वरिष्ठ नेता माधव कुमार नेपालले सरकारले विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्।

प्रधानमन्त्री ओलीले पृथकवादी र अलगाववादी राजनीतिको भविष्य नभई देशको समृद्धि नै एकमात्र बाटो देखेर सिके राउत नेतृत्वको समूह देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यबद्धता जनाएको बताएका छन्। प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्नलाई भएको बताएका छन्। यसै गरी तराई मधेसको समृद्धिको लागि २५३ करोड रुपैयाको विशेष अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गरेका छन्। प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि संचालन गर्ने घोषणा गरेका छन्। देशको समृद्धिका लागि समृद्ध नेपाल सुखी नेपालीको नारा तय गर्दै यसका लागि हर सम्भव प्रयास गरिरहेको बताएका छन्। प्रम ओलीले देशलाई उन्नत र देशबासीलाई सुखी बनाउन सबैको भूमिका र सहयोग आवश्यक रहेकोले साथ दिन सबैलाई आह्वान गरेका छन्।

७० हजारभन्दा बढी मानिस उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताएका छन्। ४६ वर्षपहिले आफू नेकपाको कार्यकर्ता भएर रौतहटको कोपवामा बसेको वेला गरुडा, इनरवारी, भैँसही लगायतको ठाउँमा बसेको स्पष्ट पारेका छन्। रौतहटमा अस्पताल, सडक, दमकल, खानेपानी, सिंचाइ लगायतको आवश्यकता पूरा गर्ने आश्वासन दिएका छन्।

प्रम ओलीले प्रदेश २ को सबै सदरमुकामलाई मुख्य राजमार्गसित जोड्ने बाटोलाई चार लेनको बनाउने घोषणा पनि गरेका छन्। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रूत मार्ग निर्माण भएपछि प्रदेशको कायापलट हुने बताउँदै प्रम ओलीले भन्सारहरुको आधुनिकीकरण गरिने पनि बताएका छन्। लालबकैया र बागमती नदीलाई नियन्त्रण गर्ने घोषणा गर्दै प्रम ओलीले भारतले सीमानजिकै बनाएको तटबन्धले डुबानमा पर्ने गरेकोले अब सर्वेको काम भइरहेको र केही वर्षमा बाढीको पानीले निकास पाउने घोषणा गरेका छन्। प्रदेशको किसानको सिंचाइको समस्या पनि समाधान गरिने बताउँदै प्रम ओलीले औद्योगिकीकरण, कृषिको आधुनिकीकरण, व्यावसायीकरणमा पनि जोड दिने घोषणा गरेका छन्।

हरेक स्थानीय तहमा व्यावसायिक विद्यालयको स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको सरकारले विद्यालयको गुणस्तर वृद्धि गरी कलेजको स्तर वृद्धि गर्ने पनि बताएका छन्। सिके राउतलाई मूल धारमा ल्याइसकेपछि राजपाप्रति व्यंग्य गर्दै प्रम ओलीले एकचोटि अलिकति भोट ल्याएर प्रदेशमा सरकार बनाइहालेपछि बढी फुर्ति लगाउनुको कुनै अर्थ नभएको बताएका छन्। प्रदेश २ मा पनि अर्कोपटक नेकपाकै दुई तिहाइको सरकार बन्ने पनि प्रम ओलीले ठोकुवा गरेका छन्। आफू मधेसमै बसेको, मधेसबाटै आन्दोलन सुरु गरेकोले आफूलाई मधेस विरोधी भन्दा आश्चर्य लाग्ने गरेको प्रम ओलीको दुखेसो थियो। आमसभामा देखिएको उपस्थितिले नेकपाप्रति लगाउने गरेको मधेस विरोधीको आरोपको जबाफ दिएको प्रम ओलीले घुमाउरो किसिमले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताएका छन्। सरकारले ठूला आयोजनाहरुको संचालन गरेको र तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताएका छन्। विभेद, असमानता र अन्याय विरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा काम गरेको इतिहास रहेकोले देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिताको प्रशंसा गरेका छन्। तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै दाहालले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारेका छन्। नेकपा बाहेक अरु कुनै पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न नसक्ने दाहालले स्पष्ट पारेका छन्।

नेता दाहालले वर्तमान सरकारले छिमेकीहरुसित असल सम्बन्धको विकास गरेको पनि बताएका छन्। भारत र चीनसित नेपालले एकै किसिमको सम्बन्धको विकास गरेको र दुवै देश नेपालको विकासमा समान सहभागिता हुन सक्ने वातावरणको निर्माण भएको दाहालले बताएका छन्। नेता दाहालले नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिटै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि बताएका छन्। उनले दोहो¥याएका छन् – पार्टी एकता साधारण कुरो थिएन।

पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि विभेद, असमानता र अन्यायका साथै नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताएका छन्। देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिका सबैभन्दा ठूलो भएको वरिष्ठ नेता नेपालले बताएका छन्। नेकपाको स्थापना भएको तीन वर्षमै रौतहटबाट किसान आन्दोलनको सुरुआत भएको, किसान मजदुरलाई पनि सम्मानको दृष्टिले हेर्नुपर्ने भावनात्मक र भौतिक दुवै किसिमको आन्दोलनको विकास भएको स्मरण गर्दै नेता नेपालले भ्रष्टाचारलाई समाप्त पार्न वर्तमान सरकार लागि परेकोले नेकपाका सम्पूर्ण कार्यकर्ताहरुले यस अभियानमा आफ्नो योगदान दिनुपर्ने बताएका छन्।

रौतहटको स्थानीयभाषा बज्जिकामा बोल्दै नेता नेपालले तराई मधेसको नाममा जनतामा फूट ल्याएर राजनीति गर्नेहरु नेकपालाई मधेस विरोधी भएको भ्रम छर्ने गरेकाले सबै भ्रमहरुलाई चिरेर र आफूहरु पनि भ्रममा नपरेर नेकपाको पक्षमा जनलहर ल्याउन आह्वाना गरेका छन्। प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताएका छन्। नेकपाको एकीकरण र सरकारको गठन भएपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आम सभाको आयोजना गरिएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App