६ वैशाख २०८१ बिहीबार
राजनीति

राजपा र फोरम सशंकित

काठमाडौं - सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन्।

राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको सहमतिले सरकारप्रति धेरै प्रश्न खडा गरेको छ। अबका दिनमा राउतका गतिविधि कस्ता हुने छन्, त्यो हेर्न बाँकी नै छ।’ सरकारले नै राउतलाई प्रयोग गर्दै आएको उनको भनाइ थियो। उनले भने, ‘राउतलाई देखाएर हामीले रोटी सेक्ने गरका होइनौं। सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ आगामि दिनमा राउतले कसको हितमा गतिविधि गर्ने हुन यसबारे अहिले नै केही भन्न नसकिने बताउँदै उनले भने, ‘राउतले जनमतसंग्रहमा सरकारले सहमति जनायो भनेका छन तर सरकारले जनमतसंग्रहमा सहमति नभएको बताएको छ। यस विषयमा प्रधानमन्त्रीले स्पष्ट भन्नुपर्छ।’

सरकार र राउतबीच भएको सहमतिमा अरू भित्री खेल भएको हुन सक्ने भन्दै महतोले आशंका प्रकट गरे। उनले भने, ‘बाहिर हेर्दा सरकार र राउतबीच ११ बुँदै सहमति भएको देखिएको छ तर भित्री खेल के हो। त्यो अझै आउन सकेको छैन। अबका दिनमा त्यो खेलबारे थाहा होला।’ राजपा महासचिव केशव झाले सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनका नाममा संगठन गर्न छुट दिएको बताए। उनले भने, ‘के अब सरकारले राउतलाई स्वतन्त्र मधेस गठबन्धनको नाममा संगठन गर्न छुट दिएको हो ? यस विषयमा गम्भीर प्रश्न उठेको छ। मधेस आन्दोलनका बेला राउतको विषयमा एक शब्द चर्चा भएन। तर सरकार आफैंले राउतलाई प्रयोग गर्दै आएको छ।’ राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको भोलिपल्ट सरकारले राउतसँग सहमति गरेको थियो।

त्यस्तै फोरमका महासचिव रामसाह यादवले राउतलाई देखाएर अन्य दलले मधेसमा रोटी सेक्ने दिन गए भन्दै दिएको अभिव्यक्तिको आलोचना गरे। उनले भने, ‘कसले कसलाई प्रयोग गर्दै आएका छन्। त्यो आगामी दिनमा थाहा हुँदै जान्छ।’ फोरमले राउतलाई कहिले पनि प्रयोग नगरेको उनले प्रष्ट पारे। उनले भने, ‘पृथक्तावादी राजनीति गर्दै आएका राउतसँग सरकारले सहमति गर्नु र राउतले पृथक्तवादी राजनीति नगर्ने प्रतिबद्धता जनाउनु सरकारात्मक कुरा हो। तर राउतसँग हाम्रो पार्टीको कुनै सम्बन्ध छैन।’ तर उनले सरकारले राउतसँग गरेको सहमतिप्रति शंका व्यक्त गर्दै यसले अनेक प्रश्न खडा गरेको बताए।

महासचिव यादवले शुक्रबार साँझ जारी गरेका प्रेस विज्ञप्तिमा सरकारी कार्यशैलीको आलोचना गरिएको छ। रेशम चौधरीको विषयमा कैलाली जिल्ला अदालतले गरेको फैसलालाई लिएर असन्तुष्टि जनाइएको विज्ञप्तिमा सरकार र राउतबीच भएको सहमतिबारे भने एक शब्द पनि उल्लेख छैन। राउतसँग सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा फोरमका अध्यक्ष एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादव सहभागी भएनन्। फोरमबाट मन्त्री बनेका इस्तियाक राई पनि कार्यक्रममा सहभागी भएनन्। सहमतिप्रति असन्तुष्ट फोरमका नेता हस्ताक्षर कार्यक्रममा सहभागी नभएको स्रोतले बतायो।

प्रकाशित: २६ फाल्गुन २०७५ ०१:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App