प्रधानमन्त्री ओलीकाे राैतहटबाट गुनासो : मधेसविरोधी सुन्नुपर्दा दुःख लाग्छ

शनिबार, २५ फागुन २०७५, १८ : ४१ मदन ठाकुर

रौतहट - तराई मधेसको समृद्धि र विकासको लागि नेकपा र नेकपा नेतृत्वको सरकार गम्भीर रहेको पार्टीका प्रमुख तीन नेताले एकै मञ्चबाट घोषणा गरेका छन्।  नेकपाको प्रदेश २ ले रौतहटको गरुडामा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विकासको लागि गम्भीरतापूर्वक र सजगतापूर्वक अगाडि बढेको बताएका छन्।

प्रधानमन्त्री ओलीले पृथकवादी र ‘अलगावादी’ राजनीतिको भविष्य नभई देशको समृद्धि नै एकमात्र बाटो देखेर सीके राउत नेतृत्वको समूह देशको अखण्डता र अविभाज्यतालाई स्वीकार गर्दै संविधानप्रति ऐक्यबद्धता जनाएको बताएका छन्।

प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए। यसैगरी तराई मधेसको समृद्धिका लागि २ सय ५३ करोड रुपैयाँको विशेष बजेटको अभियान चलिरहेको बताउँदै रौतहटमा आफू ४६ वर्ष अगाडि भूमिगत बसेको स्मरण गरे। प्रधानमन्त्री ओलीले प्रदेश २ मा चलिरहेको विभिन्न ठूला योजनाको चर्चा गर्दै थप योजना पनि सञ्चालन गर्ने घोषणा गरे। 

देशको समृद्धिका लागि समृद्ध नेपाल सुखी नेपालीको नारा तय गर्दै यसका लागि हरसम्भव प्रयास गरिरहेको बताएका छन्। प्रम ओलीले देशलाई उन्नत र देशबासीलाई सुखी बनाउन सबैको भूमिका र सहयोग आवश्यक रहेकोले साथ दिन सबैलाई आह्वान गरेका छन्। 

‘७० हजारभन्दा बढी’ मानिस उपस्थित गरुडाको कार्यक्रममा प्रम ओलीले रौतहटको विभिन्न गाउँलाई सम्झेको पनि बताएका छन्। ४६ वर्षपहिले आफू नेकपाको कार्यकर्ता भएर रौतहटको कोपवामा र गरुडा, इनरवारी, भैंसहीलगायत ठाउँमा बसेको स्पष्ट पारेका छन्। रौतहटमा अस्पताल, सडक, दमकल, खानेपानी, सिँचाइलगायत आवश्यकता पूरा गर्ने आश्वासन दिएका छन्।

प्रधानमन्त्री ओलीले नेकपाको एकीकरण पार्टी मोटाएर जीउ सुन्निएको देखाउनलाई मात्र नभएर देशको समृद्धि, शान्ति र समृद्धिको सपना साकार पार्न भएको बताए।

प्रधानमन्त्री ओलीले प्रदेश २ का सबै सदरमुकामलाई मुख्य राजमार्गसित जोड्ने बाटोलाई चार लेनको बनाउने घोषणा पनि गरे। दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, द्रूत मार्ग निर्माण भएपछि प्रदेशको कायापलट हुने बताउँदै प्रम ओलीले भन्सारहरुको आधुनिकीकरण गरिने पनि बताए। लालबकैया र बागमती नदीलाई नियन्त्रण गर्ने घोषणा गर्दै प्रम ओलीले भारतले सीमानजिकै बनाएको तटबन्धले डुबानमा पर्ने गरेकोले अब सर्वेको काम भइरहेको र केही वर्षमा बाढीको पानीले निकास पाउने घोषणा पनि यसै मञ्चबाट गरे। 

प्रदेशका किसानको सिंचाइ समस्या पनि छिट्टै समाधान गरिने बताउँदै प्रम ओलीले औद्योगिकीकरण, कृषिको आधुनिकीकरण, व्यावसायीकरणमा पनि जोड दिए। हरेक स्थानीय तहमा व्यावसायिक विद्यालयको स्थापना गर्ने लक्ष्य लिएर अगाडि बढेको सरकारले विद्यालयको गुणस्तर वृद्धि गरी कलेजको स्तर वृद्धि गर्ने पनि बताए। 

सीके राउतलाई मूलधारमा ल्याइसकेपछि राजपाप्रति व्यंग्य गर्दै प्रम ओलीले भने, ‘एकचोटि अलिकति भोट ल्याएर प्रदेशमा सरकार बनाइहालेपछि बढी फुर्ति लगाउनुको कुनै अर्थ छैन। प्रदेश २ मा अर्कोपटक नेकपाकै दुईतिहाइ सरकार बन्छ।’ आफू मधेसमै बसेको र मधेसबाटै आन्दोलन सुरु गरेको भन्दै उनले आफूलाई मधेसविरोधी भन्दा आश्चार्यसँगै दुःख लागेको बताए। 

आमसभामा देखिएको उपस्थितिले नेकपाप्रति लागेको मधेसविरोधीको आरोपको जवाफ दिएको प्रम ओलीले घुमाउरो किसिमले कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गरे। 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चार वर्षभित्र प्रदेश २ मा ठूलो परिवर्तन हुने बताएका छन्। सरकारले ठूला आयोजनाहरुको सञ्चालन गरेको र तराई मधेसका बासिन्दाको मर्म र भावनालाई बुझेको सरकार र नेकपा भएकोले भौतिक विकासको साथै मधेसको विविधताको संरक्षण गर्ने पनि बताए। विभेद, असमानता र अन्यायविरुद्ध मधेसवासी जहिले पनि अग्रणी मोर्चामा रहेका भन्दै उनले मधेसीको प्रशंसा गरेका थिए। देशमा नेकपाको हरेक लोकतान्त्रिक आन्दोलनमा तराई मधेसको सहभागिता रहेको भन्दै उनले प्रशंसा गरे।

तराई मधेसले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनामा अति विशिष्ट भूमिका खेलेको बताउँदै दाहालले कम्युनिष्ट आन्दोलन तराई मधेसको विरासत भएको स्पष्ट पारे। भने, ‘नेकपाबाहेक कुनै पार्टीले जनताको समृद्धिको सपना पूरा गर्न सक्दैन।’ वर्तमान सरकारले छिमेकीसँग पनि असल सम्बन्ध विकास गरेको भन्दै सरकारको तारिफ गरे। 

नेता दाहालले नेकपाको एकीकरण सानोतिनो ऐतिहासिक काम नभएको बताउँदै जिल्ला र तल्लो तहसम्म छिटै पार्टी एकताको काम सम्पन्न गरी देश दौडाहामा आफूहरु जाने पनि बताए। उनले यस मञ्चबाट दोहो¥याए –‘पार्टी एकता साधारण कुरो थिएन।’ 

त्यस्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पनि विभेद, असमानता र अन्यायका साथै नेकपाको आन्दोलनमा रौतहटको साथै तराई मधेसको भूमिका प्रशंसनीय रहेको बताए। दुई प्रधानमन्त्रीले तराई मधेसको खुलेर प्रशंसा गरेजस्तै उनले पनि देशमा वामपन्थी आन्दोलन स्थापित गर्न तराई मधेसको भूमिकाको प्रशंसा गरे। वामपन्थी आन्दोलनलाई सफल पार्न मधेसको भूमिका ठूलो भएको उनले बताए। 

नेकपा स्थापनाको तीन वर्षमै रौतहटबाट किसान आन्दोलनको सुरुआत भएको, किसान मजदुरलाई पनि सम्मानको दृष्टिले हेर्नुपर्ने भावनात्मक र भौतिक दुवै किसिमको आन्दोलनको विकास भएको उनले स्मरण गराए। नेता नेपालले भ्रष्टाचारलाई समाप्त पार्न वर्तमान सरकार लागिपरेकोले नेकपाका सम्पूर्ण कार्यकर्ताहरुले यस अभियानमा आफ्नो योगदान दिनुपर्ने बताए।

रौतहटको स्थानीय भाषा बज्जिकामा भाषामा बोल्दै नेपालले तराई मधेसको नाममा जनतामा फूट ल्याउने चलखेल भएको बताए। फुटको राजनीति गर्नेहरुले नेकपालाई मधेसविरोधी भएको भ्रम छर्ने गरेका उनको भनाइ थियो। 

प्रदेशको आवश्यकता र जनताको चाहनालाई देशका तीनवटै नेताले राम्ररी बुझेकाले प्रदेशलाई विशेष प्राथमिकतामा राख्नुपर्ने कार्यक्रमको अध्यक्षता गरेका नेकपाको प्रदेश अध्यक्ष प्रभु साहले बताए। नेकपाको एकीकरण र सरकार गठनपछि नेकपाको प्रदेश समितिद्वारा पहिलोपटक आमसभाको आयोजना गरिएको थियो।
 








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad