७ वैशाख २०८१ शुक्रबार
समाज

भक्कासरी बाफिरहेछ जिन्दगी…

भक्का पकाउँदै सावित्री राजवंशी। तस्बिर : नागरिक

फलामको पाता गोलो पारेर चुलोको आकार दिइएको छ। चुलोमा ३/४ वटा दाउरा ठोसिएकोछ। धिपधिप आगो बलिरहेछ। सानो कसौडिमा पानी बसाइएको छ। कसौडिमाथि माटोको ढकनी छ। बिचमा सानो प्वाल पारिएको ढकनीलाई वरिपरि पीठोको लेपलगाएर कसौडिमा टाँसिएको छ।

‘ढकनीको प्वालबाट निस्किएको पानीको बाफले भक्का पकाउँछ,’ भक्का पकाउँदै गरेकी सावित्री राजवंशी (६३) भन्छिन्।

सानो कचौरामा चामलको पीठो भर्छिन्,उनी। त्यसलाई पातलो सेतो कपडाले टम्म छोपेर बाफ निस्किरहेको ढकनीको प्वालमाथि राखिदिन्छिन्। १ मिनेटमा भक्का तयार। केही दिनअघि झापाको पानी ट्याङ्की अघि भेट्दा उनी धमाधम भक्का बनाउनमै व्यस्त थिइन्। वरिपरि रहेका आफ्ना ग्राहकहरुलाई ‘सर्भ’ गर्न पनि भ्याइनभ्याइ थियो।

अब त बुढी भइन्, राजवंशी। अनुहार, हातका छालाहरु चाउरिन थालिसके।  एक भाँडो ओसिलो चामलको पीठो बोकर काँकरभिट्टा चोकमा हिँड्न पनि सकस हन्छ उनलाई। भक्का पकाउँदा–पकाउँदा पानीको बाफले हातभरि ठेला उठेको छ।

झापा इँटाभट्टाकी राजवंशी हरेक बिहान भक्का बनाउन काँकडभिट्टा पानीट्याङ्कीआसपास आइपुग्छिन्। साथमा बोकेकी हुन्छिन्– एक भाँडो चामलको पिठो, एकमुठ्ठा दाउरा, एक जर्किन पानी, एउटा स्टिलको आरी (बाटी), एक बटुका अचार। बाँकी त के नै हुन्छ र। वर्षौँदेखी उनी यिनै चिजहरुसँग खेलिरहेकी छन्। कहिलेकाहीँ घरबाटै पुरी पकाएर बोक्छिन्। पुरी खासै बिक्री हुँदैन।

झापाली ब्राण्ड हो, भक्का। जाडो महिनामा यसको विशेष खपत हुन्छ।

हिँजोआज झापाको तापक्रम उकालो लाग्ने क्रममा छ। चिसोको अवशेष विहान÷बेलुका अलिअलि भेटिन्छ। गर्मी लागेर होला भक्काको व्यापारमा कमी आउन थालेको छ। बिक्दै नबिक्ने हैन। राजवंशी भन्छिन्, ‘जाडोमा त हारालुछ हुन्छ।अहिले अलि कम भएको छ।चैत लागेपछि खासै नचल्ला।’

झापाली सडकमा राजवंशीले भक्का बेच्न थालेको ३५ वर्ष पुग्यो। त्यतिबेला काँकरभिट्टामा यत्ति बाक्लो बस्ती थिएन। जंगल थियो। मान्छेको चाप थिएन। व्यापारका सुरुवाती दिन त उनलाई सम्झना पनि छैन। पहिलो दिनको कमाइ कति थियो ?, पसल कहाँ राखेकी थिइन् ?, कति रुपैयाँ गोटा बेचेकी थिइन् ? अहँ, उनी ठम्याउन सक्दिनन्। हाँस्दै भन्छिन्, ‘बुढी भइसकेँ। उहिलेका कुरा कहाँ सम्झिन्छु त ?’ उनी मोटो रुपमा जान्दछिन्– त्यतिबेला भक्का सस्तो थियो, १/२ रुपैयाँ गोटा पर्थ्यो होला। खुब बिक्थ्यो। मान्छे बोर्डर पारि (भारत) बाट खान आइपुग्थे।

उनलाई भक्का बनाउन आफ्नै आमाले सिकाएकी थिइन्। आमाले कहाँबाट जानिन् उनलाई थाहा छैन। कहिल्यै सोधिनन् पनि। ‘हजुरआमाले सिकाको होला,’ उनी अनुमान लगाउँछिन्।

घरमा खाजाको रुपमा भक्का पकाउने चलन थियो। ‘आमाले दिनैपिच्छे पकाएको हेरेपछि मैले पनि सिकेँ,’ उनी उत्साहित देखिन्छिन्, ‘१०/११ वर्षको उमेरसम्ममा त कसरी पकाउने भन्ने मलाई थाहा भइसकेको थियो।’ त्यसपछि घरमा आमा नहुँदा भक्का पकाएर परिवारलाई खाजा खुवाउने जिम्मा उनकै हुन्थ्यो। ती दिनहरुमा पकाउन नजानेर पीठो बिग्रन्थ्यो। कतिपटक त ‘बा’ले गाली पनि गरे।

हिजोआज उनका छोराछोरीले भक्का पकाउन जान्दैनन्। सिक्नै चाहँदैनन्। ८ जना छोराछोरी छन्। तीमध्ये केही हुर्के, बढे। कोही सानै छन्। अब आफ्ना सन्तानले भक्का बनाएर बेच्लान् भन्ने आस पनि छैन उनलाई।

‘छोरीको ध्यान यतातिर छैन। छोराहरु पनि जाँगर चलाउँदैनन्। पढेगुनेका छैनन्, जागिर पनि पाईँदैन,’ उनी थप्छिन्, ‘मैले जेनेतेने अहिलेसम्म पकाएर बेचेँ। अब हाम्रो परिवारमा यसरी दुःख गर्ने कोही छैन।’

दुःख सम्झिँदा त छोराछोरीले भक्का बनाउन नसिकेर ठिकै गरेजस्तो लाग्छ, उनलाई। आफ्नो जमिन छैन। भक्का बनाउन चामल चाहियो। चामलको भाउ आकाशिएको छ। अर्कातिर, ढिकी कुट्न असाध्यै गाह्रो हुन्छ। छिन्कने मान्छे चाहियो, कुट्ने मान्छे चाहियो।

ढिकी कुट्दाकुट्दै एकपटक राजवंशीको हात पनि कुटियो। दाहिने हातमा अहिलेपनि ठुलो डाम छ। ‘ढिकीको मुङ्ग्राले लागेपछि ठुलो घाउ बन्यो। थुप्रै दिनसम्म निको भएन,’ त्यो घटना सम्झिन्छिन् उनी।

त्यसपछि अहिलेसम्म त्यस्तो दुर्घटना खेप्नु परेको छैन, उनले। अब त बुढी भइन्। अनुहार, हातका छालाहरु चाउरीन थालिसके। एक भाँडो ओसिलो चामलको पिठो बोकर काँकरभिट्टा चोकमा हिँड्न पनि उनलाई सकस हन्छ। भक्का पकाउँदा–पकाउँदा पानीको बाफले हातभरी ठेला उठेको छ।

तीन÷चार वर्ष अघि भक्का बनाउन काठमाडौं जाने ‘अफर’ पनि आएको रहेछ, उनलाई। काठमाडौंका एक रैथानेले ‘सबै बन्दोबस्त मिलाई दिन्छु, काठमाडौं जाउँ’ भनेका रहेछन्। ति रैथाने झापा पुग्दा उनैकोमा भक्का खान पुगेछन्। एकमनले त राजवंशीलाई काठमाडौं जाउँजाउँ जस्तो लागको थियो, त्यतिबेला।

जता गएपनि आखिर भक्का नै बेच्ने त हो। सिप त्यसैमा छ। काठमाडौं जानेबारे धेरै सोचिन्। उनलाई लाग्यो– चामल कुट्न काठमाडौंमा ढिकी पाइँदैन। मिलमा पिसाएको पिठोले भक्का बिग्रन्छ।

त्यसपछि, उनले काठमाडौं नजाने निधो गरिन्।

जति हुन्छ यहीँ बसेर कमाइ गर्ने उनको सोच छ। दैनिक ६/७ सय रुपैयाँ आम्दानी हुन्छ। त्यही पैसाले घरखर्च चलाउँछिन्। भक्काका लागि सरसामान किन्नपर्याे। श्रीमान घरमै यताउता काम गर्छन्। छोराछोरी पनि ‘दुई÷चार पैसो’ कमाउँछन्।

अब कतिन्जेल बेच्ने भक्का ? राजवंशी भन्छिन्, ‘काम गर्नुपर्छ।सित्तैमा कसले खान दिन्छ र ? सकुन्जेल बेच्छु।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App