किन पछि पर्छन् महिला?

शनिबार, २५ फागुन २०७५, १४ : १५ बीना श्रेष्ठ

132


परापूर्वकालदेखि नै महिला र पुरुष बिच कामको बाँडफाँड भएको छ। महिलाले घर सम्हाल्ने र पुरुषले परिवार भरणपोषणको जिम्मेवारी लिने। कामको यो विभाजन आफैमा गलत थिएन। मूलतः बच्चा जन्माउने र हुर्काउने जिम्मेवारी आमामा बढी पर्ने भएकाले यस्तो श्रम विभाजन भएको थियो। श्रम विभाजन आफैँमा विभेद भने थिएन। तर समयक्रमसँगै महिलालाई घर भित्र सीमित गरीयो। नीजि सम्पत्तिको मान्यता विकास भएसँगै घर भित्र गरीने कामलाई महत्त्वपूर्ण ठानिएन किनभने त्यो कामको मूल्य कहिल्यै पनि हिसाब गरिएन। परिणाम, महिलाको काम जहिले पनि गौण देखियो। घरको कामलाई काम नै  ठान्न छोडियो।

महिलाले गर्ने भनिएको काम पुरुषले गर्दा जोईटिङ्ग्रे उपनाम दिने जस्ता डरले घरको काम गरनु त पर जाओस् सघाउन पनि नहुने परिपाटी बस्न थाले। यसप्रकार घरायसी काम महिलाहरुले नै गर्नु पर्ने बाध्यता बन्दै गयो।

बिस्तारै समयले फड्को मार्न थाल्यो। महिलाहरु पनि शिक्षित हुनु पर्छ, महिला शिक्षित भए परिवार शिक्षित हुन्छ भन्ने सोच को बिकास भयो। समान अधिकारका सवाल उठ्न थाले। महिला बिकास, महिला पुरुष समबिकास, लैङ्गिक समानता, महिला सशक्तिकरणकालागि थुप्रै कार्यक्रमका साथै अन्य अधिकारका कुराहरु उठयो, उठीरहेको छ। साथै महिलाको घरायसी कामलाई पनि अर्थ को हिसाबले हेरीनु पर्ने र सो सरह उत्तिकै सम्मान हुनु पर्छ भन्नेमा दबाब बढ्न थाल्यो। सामाजीक अभियन्ताहरु गाँऊ गाउँमा गएर चुलो चौकामा मात्र सिमित भएका निरक्षर, साधारण लेखपढ गर्न जानेका देखी साक्षर र शिक्षित महिलाहरु सबैलाई केही त गरौँ भन्ने भावना जगाई बिकासको मुलधारमा ल्याउन अझै पनि कोसिस गरीरहेका छन्।

महिला अगाडि बढ्न घर परिवारका सदस्यहरु, साथी सँगी र विशेष गरी पुरुष सहयात्रीलेभूमिका अझ गहन र जिम्मेवारपूर्ण हुन्छ।

 

यधपि महिलाहरुको आर्थिक अवस्था जबसम्म मजबुत हुन सकदैन, तबसम्म उनीहरु घर, समाजका साथै राजनिती एबं निती निर्माण तह सम्म आउन सक्तैन।  महिलाहरुको आर्थिक अवस्था बलियो भए परिवार, समाज अनि राष्ट्र बलियो हुन सक्ने सम्भावनालाई मनन गरी  महिलाहरुको पेवा बढाउनेकार्यक्रम(1982), महिला लघुवित्त कार्यक्रम(1994), सहकारी बैंक (1956), साना किसान बिकास कार्यक्रम (1975), जस्ता कार्यक्रमहरु संचालनमा आयो। तर कुनै पनि कार्यक्रमबाट पनि सोचे जस्तो परिणाम आएको छैन्। यसो हुनुमा पहिलो कारण हो,  हाम्रो समाजीक संरचना, पारिवारिक पृष्ठभूमि, रुढीवादी धारणा। तर यति भन्दाभन्दै महिला स्वंय दोषी भएको तथ्य भने बिर्सन मिल्दैन। महिला दमित छन् र उनको कामको मूल्यांकन भएको छैन भन्ने जान्दा जान्दै पनि अनभिज्ञ भए झैं गर्नु यात त्यस सम्बन्धि सचेतना अझैपनि महिलाहरुमा नआई सकेको अवस्था हाम्रो समाजमा बिद्यमान हुनु हो।

महिलामा पुरुष सरह अझ त्यो भन्दा बढि काम गर्न सक्ने खुबी छ। तर महिलाको प्राथमिकतामा घरको काम, परिवारप्रति जिम्मेवारी पछि मात्र आफूले रोजेको नोकरी वा व्यापार, व्यवसाय आउने पेशागत वा व्यवसायिक काममा राम्रो नतिजा देखाउन सक्दैनन्। बिवाहितको हकमा त झन् घरपरिवार, बच्चा र श्रीमान पहिलो प्राथमिकतामा पर्छन्। जिम्मेवारी बढ्दै जाने हुँदा घरको काम र बाहिरको कामको तालमेल मिलाउन असहज स्थिति जन्मिन्छ। घर, परिवार बच्चा बच्चीको दायित्व नै पहिलो प्राथमिकतामा पर्ने भएकोले दुबै अवस्थालाई मिलाएर लैजान  सबै महिलाहरुको लागि संम्भव हुदैन। यस अवस्थामा या त आफ्नो करिअरलाई आहुति दिनु पर्छ या परिवार बालबच्चालाई हेरचाह गर्ने तारतम्य मिलाउन सक्नु पर्छ।

यस्ता यस्ता कारणले कतिपय अवस्थामा  कामकाजी महिलाहरुले भने अनुसार काम गर्न सकिरहेको हुँदैन। दिएको जिम्मेवारी पुरा गर्न सकिँदैन कि भनेर हचकिने स्वभावले पछाडी पर्ने गरेको हुन्छ।

महिला अगाडि बढ्न घर परिवारका सदस्यहरु, साथी सँगी र विशेष गरी पुरुष सहयात्रीलेभूमिका अझ गहन र जिम्मेवारपूर्ण हुन्छ। घरका पुरूषले कुरा बुझिंदिदा वातावरण सहज र सरल बन्न पुग्छ। अहिले पनि महिलाहरुले जति कुरा बुझे पनि पुरूष सहज नबनेको खण्डमा महिलालाई कुनै पनि काम गर्न सरल नहुने शहरमा पढेलेखेकाले समेत पनि भोग्नु पर्ने बाध्यता छ भने ग्रामीण महिलाको त कुरै छोडौं त्यसमा पनि परनिर्भरहरुको त कुरै अर्कै हुनसक्छ। यहि यथार्थलाई बुझेर महिलासंग सम्बन्धित परियोजनाहरु चाहे त्यो महिलाहरुको पेवा बढाउने होस वा आयआर्जन, शिपमूलक, महिला लघु ऋण, महिला स्वास्थसंग सम्बधित कार्यक्रम किन नहोस् घरका सबै सदस्यहरु त्यसमा पनि पुरूष सदस्यहरुलाई सहभागी बनाउन आवश्यक ठानिन्छ। यस्तो सोच हुनुको प्रमुख कारण पितृसत्तात्मक सोच त हो नै त्यसैको असरबाट भने महिला स्वयं पनि टाढा हुन सकेको छैन।

प्रायः पुरूष सफल हुनुको पछाडि एउटा महिलाको हात हुन्छ भने झैं महिलाको सफलतामा पनि पुरूषको साथ सहयोगको त्यति नै आवश्यकता हुन्छ। त्यसो भन्दैमा महिलाकोलागि पुरुषले सहज वातावरण बनाई दिएको खण्डमा मात्र महिला पुरुष समान हुन सक्ने भन्ने चै  बिलकुलै होइन। त्यसैले नै कानूनी रूपमै महिलाको हकहितको बन्दोबस्त गरिएको छ।

समानता र अधिकारका विषय कानुनी रुपमा सुनिश्चित हुनुपर्ने आवाज उठी नै रहेको छ तर ब्यवहारमा लागू हुन सकिरहेको छैन। प्राप्त अधिकार समेत प्रभावकारी रुपमा कार्यन्वयन हुन सकेको छैन भने नियमक निकायको भुमिका पनि फितलो हुनाले महिला हक र अधिकारका विषय उठाउनका लागि मात्र उठाउने अवस्था देखिन्छ। त्यसकारणले गर्दा महिला स्वयं सचेत हुनु  आवश्यक छ। विडम्बना अधिकांश महिलामा आफु भित्र आत्मविश्वासको कमी छ। केही गर्न खोज्नेले पनि आफनालागि अनुकूल वातावरण बनाउन नखोज्ने, श्रीमानको कमाईले पुगीरहेकै छ किन गर्ने भन्ने चिन्तन हावी छ।

यदि महिलाहरु घरबार सम्हालेर भएपनि बाहिर गएर आय आर्जन हुने काम गर्न खोज्यो भने फलानालाई पैसाले कत्ति पनि नपुगेको भन्नेहरु पनि छन्। अझै श्रीमान् ठुला ओहोदामा छ भने र श्रीमतीले काम गर्यो भने त काण्डै पुग्छ। ठूलै पदमा जागीरे भए त फरक नपर्ला तर साना तिना ओहदाको काम गर्यो भने श्रीमानको ईज्जत नै फालेर पनि के काम गर्नु परेको होला भन्नु पनि पछि पर्दैनन्। श्रीमती आफ्नो क्षेत्रमा अब्बल छ भने पनि श्रीमानको अगाडि उनको भूमिका छायाँमा पर्छ। श्रीमान् ठूलो पदमा भएकोले मात्र त्याहाँ सम्म पुग्न सकेको, या बढुवा भएको या कुनै संघसंस्थामा स्थान देको भनेर उसको दक्षताको धज्जी उडाउनुको साथै उसको योग्यता माथि प्रश्न उठाउने पनि महिलाहरु नै हुन्छन। यस्ता असमान सोचलाई महिला आफैले नै प्रशय दिएको पाईन्छ।

धेरै अगाडि एक जना परिचित महिलालाई खेर गएको समय मात्र चुलो चौका मा बिताउनु भन्दा केही शीपमूलक तालिम लिएर काम गरेहुने भन्ने सल्लाह दिंदा श्रीमान कामबाट थाकेर आउने, आउनासाथ तातो तातो पकाएर खुवाउनु पाउदा आफुलाई आनन्द लाग्ने र श्रीमानले पनि बाहिर गएर काम गरेको मन नपराउने बताएकी थिइन्। तर त्यसो भनेको दुई चार वर्ष पछि श्रीमान् संग अर्को श्रीमती भित्रिए, दुई बिच असमान ब्यवहार हुन थाले पछि त्यस समयमा केही आय आर्जन हुने काम गरेकी भए सायद कुनै ठोस निर्णय मा पुग्न सक्थे, उनैको मुख ताकेर बस्नु पर्ने थिएन भनेर गुनासो पोखिन्।

यसै गरी अर्की एक महिला, श्रीमानले बाहिरी काम गरेर किन दुःख गर्न परयो भनेकोले घर भीत्रको काम धन्दामा नै रमाएको तर सबै बच्चा बच्ची हुर्के पछि आफु एक्लो हुने गरेकोले अहिले चाहिने नचाहिँदो कुराले दिमागमा जरा गाडेर मानसिक रूपले अस्वस्थ हुने गरेको बताईन।

महिलाहरुकर्तव्य संगै आफ्नो अधिकार प्रति पनि सजग हुन सक्नुपर्छ भन्ने यी घटनाले बताउँछन्।

यस्ता संकिर्णता हटाउन कुनै न कुनै काममा व्यस्त हुन सके आफुलाई त फाईदा छदैंछ अरुलाई समेत सहयोग गर्न पछि पर्नु पर्दैन।

केही काममा व्यस्त हुनु भनेको पैसा मात्र कमाउनु नभएर मनमा अनावश्यक कुरालाई भित्रिन नदिनु, स्वाभिमानका साथ जीवन विताउनु, रोगलाई टाढै राख्नु र  सधैं निरोगी हुनु पनि त हो। त्यसैकारणले महिलाहरु स्वयं सचेत भई आफु कुनै काममा व्यस्त हुनु सक्नु भनेको आफनैलागी हो भन्ने सोचको बिकास हुनु अति नै आवश्यक देखिन्छ। यसो हुन सकेमा मात्र यस परिबर्तित सामाजमा महिलाले, महिलालाई महिलाकोलागी सम्मानित भई अगाडि बढ्न र बढाउन सक्ने वातावरण तैयार गर्न सक्षम हुन्छन्। याहाँ गर्न नसक्ने भन्ने केही छैन, मात्र गर्छु भन्ने इच्छाशक्ति हुनुपर्छ। खाने मुखलाई जुँगाले छेक्दैन भने झैं महिला समानता, हक र अधिकार सुनिश्चित गर्न महिलाहरु आफै जिम्मेवार बन्न अत्यन्त जरुरी छ। त्यसैले महिलासशक्तीकरण, महिला बिकास, समानता हक र अधिकार भन्ने बिषय उठाउनु भनेको मात्र आत्मसन्तुष्टिको लागि नभएर आत्मविश्वासको साथ आफ्नो लागि निर्णय लिन सक्ने हुनुको लागि हो।

परिवार भित्र होस या काम गर्ने कार्यलयमा नै किन नहोस सकारात्मक ब्यवहार र अनुकूल वातावरण सबैलाई, अझ महिलाहरुलाई आवश्यक पर्छ। महिला अधिकारकर्मीहरुले महिला समानता र सशक्तिकरणका पक्षमा काम गर्दै नआएको पनि होइन। महिला हिंसा कम गर्न सोर्ह दिने अभियान सञ्चालन गर्दै आएको छ तर पनि हाम्रो समाजमा महिला हिंसा, पुरुष सँगसँगै महिलाबाट नै पनि घटने भएकोले त्यस प्रति महिलाहरु स्वयं पनि संबेदनशिल हुनु आवश्यक छ। जबसम्म महिलाहरु स्वयं आफ्नो अधिकारका लागि जागरुक, चेतनशील र सही गलतको निर्णय लिन सक्षम हुदैन र पाएको अधिकार ब्यवहारमा लागू गर्न सक्दैन तबसम्म नत नारी दिवस मनाएर, नत सोर्ह दिने अभियान चलाएर नत कानुनमा लेखेर महिला अगाडि बढ्न सक्छ।

महिला होस या पुरूष आफु पनि नगर्ने, गर्न लाई हौसला पनि नबढाउने जस्ता कुन्ठीत मानसिकतालाई निर्मुल र निष्कृय पार्न सके मात्र सोचे अनुरुप महिला पुरुष समान हुनुको साथै समुन्नत समाज निर्माण हुने कुरामा विश्वस्त हुन सकिन्छ।

 

 






यसमा तपाईको मत


अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

Ncell Footer Ad