कलाकार

चित्रबाटै संरक्षणको सन्देश

शनिबार, २५ फागुन २०७५, १२ : २३ श्रीराम राई

मुलुकभित्रका ६ सयभन्दा बढी चराको चित्र बनाइसकेका कलाकार हेम पौडेल ७८ वर्षको उमेरमा पनि चित्रकलामै समर्पित छन्। चित्रकलामार्फत् वातावरण संरक्षणको जनचेतना फैलाउने अभियन्ता हुन् उनी। चराका आकृति र तिनका बासस्थानलाई चित्रमा उतारेर संरक्षणको सन्देश बाँड्दै आएका कलाकार हुन्– हेम पौडेल। बढ्दो औद्योगीकरण, सहरीकरण, ग्लोबल वार्निङ र भौतिक उन्नतिको होडमा मानिसले वातावरण विनाश गरिरहेका बेला उनी चित्रमार्फत् संरक्षणको सन्देश दिँदै आएका छन्।  

उनले नेपालमा पाइने ६ सयभन्दा बढी प्रजातिका चराका चित्र बनाएका छन्। उनका चित्र चरासम्बन्धी पुस्तकमा संग्रहित छन्। त्यति मात्रै होइन, स्वदेश र विदेशमा समेत कला प्रदर्शनी गरेका छन्। अहिले ७८ वर्षको उमेरमा समेत उनी चित्रकलामै समर्पित छन्।  काठमाडौंको बत्तीसपुतलीमा १९९७ सालमा जन्मेका पौडेलले प्रकृतिकै प्रेरणाबाट कला क्षेत्रमा लागेको बताए। ‘मैले दस वर्षको हुँदादेखि नै चित्र कोर्न थालेका हौं,’ उनले भने, ‘घरको कौसी र छतमा बसेर हुस्सु लागेको हेरिरहन्थें। मधुरो सूर्यको टकमा घरबस्तीहरू देखिन्थे। त्यहाँबाट घरनजिकैको बत्तीसपुतलीको राममन्दिरँ छर्लंग देखिन्थ्यो। म कोठामा बसेर सिसाकलमले ती दृश्यहरूको चित्र कोर्थे।’ 

उनले भिनाजु बद्रीप्रसाद थपलियाले कला क्षेत्रमा लाग्न हौस्याएको बताए। ‘म चाडपर्वको बेला पनि कोठैमा बसेर चित्र कोरिरहन्थें। पूजाकोठामा बसेर देवीदेवता हेर्दै चित्रहरू कोर्थें,’ उनले भने। उनको प्रतिभा देखेर थपलियाले कलाकार चन्द्रमान मास्केसित भेट गराए। तिनताका कला विषयका स्कुल–कलेज थिएनन्। मास्केसित उनले एक वर्ष कला सिके। 
‘पहिले अभिभावकहरू छोराछोरीहरू कला क्षेत्रमा लागेको पटक्कै रुचाउँदैन थिए। मास्के सरले सिक्न आएको, सिकाउनुपर्छ भन्ने सोचले हामीलाई निःशुल्क पढाउनुभएको हो,’ उनले भने। 

उनका अनुसार नेपालमा चित्र बेचेर जीवन गुजार्न कठिन भए पनि केही सुधार हुँदै गएको छ। उनले भने, ‘समय बदलियो। आज कला विषयमै उच्च शिक्षासम्म पढाइ हुन्छ। अभिभावकका पनि चेतना आएको छ।’ समयसँग राम्रा कलाकार बने पौडेल। उनको कला विदेशसम्म पुगेको छ। उनले घरेलु शिल्पकला उद्योग त्रिपुरेश्वरमा जर्मन प्रशिक्षकद्वारा २०१६ देखि २०१९ सम्म तीन वर्ष कमर्सियल आर्ट कोर्ष प्रशिक्षण लिने मौका पाए। त्यतिबेला उनीहरूलाई भत्ताको पनि व्यवस्था गरिएको थियो। 

उनले लैनसिंह वाङ्देल कूलपति भएका बेला तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा दुई वर्ष कला जाागिरेको अनुभव बटुले। त्यही बेला नेपालका चराहरूको विषयमा २५ वर्ष अनुसन्धान गरेका विशेषज्ञ रोबर्ट एल फ्लेमिङ सिनियर र रोबर्ट एल फ्लेमिङ जुनियरले पुस्तक प्रकाशन गर्न वाङ्देलसित कलाकारका लागि सम्पर्क गरे। त्यतिबेलै उनी र हिरालाल डंगोल छानिए। 

दुवैले चार वर्ष लगाएर कालिज, डाँफे, मयुर, मुनाल, लाम्पछ्रेजस्ता ६ सयभन्दा बढी प्रजातिका चरा बनाए। ती चराहरू ‘बर्डस् अफ नेपाल’ पुस्तकमा प्रकाशित भयो। अस्ट्रेलिया, क्यानडा, जापान, बेलायत, फ्रान्स, स्वीजरल्याण्ड, साउदी अरब जस्ता विश्वका ठूल्ठूला अन्तर्राष्ट्रिय पुस्तकालयहरूमा ‘बर्डस् अफ नेपाल’ पुग्यो। उनलाई त्यसैका चित्रहरू हेरेर विभिन्न देशबाट चराका चित्रहरूको ‘अर्डर’ आउन थाल्यो। उनी हुलाकमार्फत् चित्र पठाउँथे। र, उनलाई उताबाट नेपाल बैंकमा पैसा पठाउने गर्थे। 

प्रज्ञा प्रतिष्ठानले २०३९ सालमा ‘नेपालका चराहरू’ कृति प्रकाशित गर्याे। उनी २०६५ सालदेखि ‘वातावरण र चराहरू’ विषयमा वातावरण जोगाउन जनचेतनामूलक काम गर्दै आएका छन्। ‘वातावरण र चराहरू’ शीर्षकमा चित्रकला प्रदर्शनी गरेर चेतना जगाउने काममा समर्पित छन्। पहिला पानी रंग प्रयोग गर्ने पौडेल २०६५ देखि तैल चित्र बनाइरहेका छन्। 

उनले कलाले गर्दा बुढ्यौली जीवन निकै सहज भएको बताए। ‘म सधैं कलामै रमाइरहन्छु। त्यसैले दिन काट्न सजिलो भएको छ,’ उनले भने, ‘आफ्नो रूचिको काम गर्दा दिन बितेको पत्तै हुँदैन। मर्निङ वाक, योगा, पूजापाठ र खाना खाएपछि पेन्टिङ गर्नु मेरो दिनचर्या हो।’ उनले प्रत्येक शनिबार वैदिक संघमा गएर धार्मिक क्रियाकलापमा संलग्न हुने गरेको पनि बताए।

उनले नेपाल चराहरूको स्वर्ग भएको बताए। ‘यहाँ हिमाल, पहाड र तराई क्षेत्र छ। त्यसैले चराहरूलाई तापक्रमअनुसार आउजाउ गर्न सजिलो छ। नेपालमा रैथाने चराहरू छँदै छन्। यहाँ संसारमा नपाइने काँडे भ्याकुर पाइन्छ। साइबेरियाबाट कर्याङकुरुङ, चखेवो र सारस जस्ता थरिथरिका पाहुना चराहरू आउँछन्,’ उनले भने, ‘तर, वातावरण खस्किँदै गएकाले पहिले जस्तो बथानैे कर्याङकुरुङहरू आउँदैनन्। हामीले वातावरण जोगाएर चराहरूको संरक्षण गर्नुपर्छ।’ उनले विदेशबाट चराका अध्ययन गर्न आउनेहरूलाई आकर्षित गर्न राज्यले विशेष पहल गर्नुपर्ने बताए। उनले चराको कलाका लागि कोशी टप्पु, चितवनको सौराहा, शिवपुरी, पुल्चोकी, टौदह, चन्द्रागिरी जस्ता विभिन्न ठाउँ घुमेका छन्।  

उनको २०३१ सालमा सर्वप्रथम दार्जिलिङमा एकल चित्रकला प्रदर्शनी गरे। उनले काठमाडौं, चितवन, पोखरा, विराटनगर, भोजपुर जस्ता ठाउँमा विभिन्न समयमा एकल चित्रकला प्रदर्शनी गरेका छन्। उनले २०६४ सालमा विश्व वातावरण दिवसको अवसरमा ‘वातावरण र चराहरू’ शीर्षकमा एकल चित्र प्रदर्शनी गरेका थिए। उनी भर्खरै साताँै वालिङ महोत्सवमा एकल चित्रकला प्रदर्शनी गरेर फर्किएका छन्। 

उनको २०६२ सालमा ‘शान्तिको आलोक’ नामक कवितासंग्रह पनि प्रकाशित छन्। उनलाई धर्मपत्नी साहित्यकार गंगा पौडेल कर्माचार्यले निरन्तर साथ दिइरहेकी छन्। उनले धर्मपत्नीको सुझावमा नेपाली कला विकासका लागि योगदान पुर्याउने उद्देश्यले २०६५ मा ‘हेमगंगा युवा कला प्रतिभा पुरस्कार’ स्थापना गरेका छन्। निजी क्षेत्रबाट कलाको निम्ति स्थापना भएको यो पहिलो पुरस्कार हो। यसको पुरस्कार राशी १० हजार १ सय १ रूपैयाँ छ। चार लाख रूपैयाँ अक्षय कोष रहेको उक्त पुरस्कार प्रत्येक वर्ष अरनिको दिवसमा कलाको विधि विधामा योगदान पुर्याउने युवा कलाकारलाई प्रदान गरिँदै आएको छ।

आफ्नै निवासमा ‘हेम आर्ट ग्यालरी’को स्थापना गरेर उनी एकसुर चराहरूकै संसारमा हराइरहेका छन्। दृढ इच्छा शक्ति र निरन्तर प्रयास भए सफलता हात पार्न सकिन्छ भन्ने उदाहरण बनेको उनले विभिन्न ठाउँमा उत्कृष्ट कला प्रदर्शनी गरेका छन्। तर, कलापारखीहरू उनको योगदान अनुसारको सम्मान नभएको बताउँछन्। यसमा उनी कत्ति पनि गुनासो गर्दैनन्। उनले साउदी अरबको आराम्को कम्पनीमा भएको चित्रकला प्रदर्शनीमा प्रथम पुरस्कार र नेपाल जापान कला प्रदर्शनी २०६२ प्रशंसापत्र पाएका थिए। यसैगरी उनले विभिन्न संघसंस्थाबाट सम्मान पाइरहेका छन्। 

उडिरहेको डाँफेको पखेटा र पुच्छरको रङ, नाचिरहेको मयुर र माछापुछ्रेको काखमा चिरबिर गर्दै रमाइरहेको कालिजहरूको सौन्दर्ययुक्त चित्रले उहाँको ग्यालरी आउने जो कोही मन्त्रमुग्ध हुन्छन् नै। उनको कलामा प्रकृति र चराको आकर्षक संयोजन देखिन्छ। चराको चित्रसँगै अग्रभागमा आकर्षक हिमाल, पहाड, झ्याम्म परेको रूख र बिरुवालाई उनको कुचीले सौन्दर्य थपेको छ। उनको बारेमा मुकेश मल्लले ‘हेम पौडेलको अविरल कलायात्रा’ भन्ने पुस्तक लेखेका छन्। 

 







यसमा तपाईको मत


अन्य समाचार

ज्वेलरी एक्सपोको रौनक

ज्वेलरी एक्सपोको रौनक

नेपाली आभुषण तथा मौलिक हस्तकलालाई बिश्वसामु उजागर गरि अन्तर्रा्ष्ट्रिय क्षेत्रमा निर्यात तथा प्रवद्र्धन गर्नुका साथै राजश्व अभिवृद्धि गर्ने अभिप्रायका साथ...

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो बेल्जियमले आफ्नो प्रविधि र उत्पादनहरु नेपालमा भित्राउदैं ।

म्यागाटो इन्डिया प्रा.लि.ले अरभिन्द इम्पोरियम प्रा.लि.को सहकार्यमा आफ्ना विभिन्न उत्पादनहरुको नेपाली बजारमा सेवा बिस्तार गरेको छ । विश्वका १५० राष्ट्रमा...

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी एप्सहरू

स्मार्टफोन फोटोग्राफीका लागि उपयोगी केहि एन्ड्रोइड र आइफोनका एपहरू ...

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सिटिसि मोबाइल हबमा मोबाइल एक्सचेन्ज अफर, शून्य ब्याजदरमा किस्ताबन्दीमा मोबाइल

सुनधारा स्थित सिभिल ट्रेड सेन्टरमा रहेको सिटिसी मोबाइल हबमा जेठ ३ गते शुक्रबारदेखि मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ ।...

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL)
संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् सर्वोत्कृष्ट प्रदर्शनका भारतको प्रतिष्ठित स्टील (SAIL) संगठनद्वारा सम्मानित

जगदम्बा स्टील्स् भारतको प्रतिष्ठित स्टील संगठन स्टील अथोरटी अफ् इण्डिया (SAIL)द्वारा एक कार्यक्रम बीच सम्मानित भएको छ । यही मे...

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

मर्जरका लागि सम्झौतापत्रमा हस्ताक्षर

बैंकको पुँजीगत आधार सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्वेश्यका साथ् राष्ट्रीय स्तरको "ख" वर्गको ओम डेभलपमेन्ट बैंक लिमिटेड "क"...

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोन ब्याट्रीको प्रयोग आयु बढाउने तरिका

स्मार्टफोनको ब्याट्रीलाई धेरै वर्षको प्रयोग पछि पनि राम्रो टिक्ने कसरी बनाउने ? ...

कम लागतमा बलियो घर कसरी बनाउने ?

कम लागतमा बलियो घर कसरी बनाउने ?

सस्तो भनेर अत्याधिक सस्तो खोज्यौं भने हामीले सोचे जस्तो बलियो घर बन्दैन । हामीले घरको नक्साको कुरादेखी घरको डिजाइन, घर...