coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

सच्चा भक्त

मुनाले भनी, “अंकल ऊ त्यहाँ बस्ने एउटी बुढी आमै भोको हुनुहुन्छ । उनकै लागि मैले काम गरेकी । यो काम गरेको पैसा मलाई दिनुस् न !”

शान्ति सापकोटा               

मुना विद्यालय जाँदै थिइन् । बाटो छेउमा बसेकी बुढी आमैले हात पसारिन्, “म तीन दिनदेखि भोकै छु केही खान देऊ न नानी !”
उनले ती आमैको अनुहारमा हेरिन् । चाउरी परेका गालामा दुःखहरू खुजमुजिएका थिए । ओठमा हेरिन्, सुक्खा र कटकटिएको थियो । दुवै आँखामा हेरिन्, उदासिनताका कालो बादल मडारिएका थिए । लट्टा परेका र सेतै फुलेको कपाल, पट्पटी फुटेका गोडामा असहाय छट्पटिएका थिए । सारा शरीर लगलगी कामिरहेको थियो । 

बुढी आमालाई देखेर मुनाको आँखा रसायो । उनले झोला खोलिन् । “ला आज टिफिन बट्टा ल्याउनै भुलेंछु आमै !” उनले खल्ती छाम्दै भनिन्, “मसँग पैसा पनि रहेनछ ।’ तैपनि उनले बुढी आमैलाई ढाडस दिँदै भनिन्, “एकछिन पर्खनुहोस् है आमै ! म खानेकुरा लिएर आउँछु ।” उनले आमाकै छेउमा झोला राखेर भनिन्, “झोला यहीँ राखेकी छु हेर्दै गर्नुहोला ।”

आमैले मुनालाई हेरिरहिन् । मुना नजिकैको खाजा पसलतिर लागिन् । साहुजीले भित्तामा टाँगेको मन्दिरमा धूप सल्काइरहेका थिए । चुलोमा दूध उम्लेको थियो । साइकलवालाले भर्खर ताजा पाउरोटी ¥याकमाथि राखेर गएको थियो । उनी साहुजीका नजिकै  गइन् र भनिन्, “साहुजी, एक पुरिया पाउरोटी र एक गिलास दूधलाई कति पर्छ ?” 
   “पचास रुपैंयाँ”
    “उ त्यहाँ पर बुढी आमै बस्नु भएको छ । भोकै हुनुहुन्छ, दिनुस् न !”
     “पैसा खोइ?”
     “आज ल्याउन भुलेंछु । भोलि खुत्रुकेबाट झिकेर ल्याइदिन्छु नि !” 
     “पहिले पैसा अनि सामान”, उनले कडा जवाफ दिए । तैपनि मुना चुपचाप उभिइन् । साहुले आँखा ठूलो ठूलो पारे । मुना त्यहाँबाट हिंडिन् । नजिकैको मन्दिरमा घण्टी बजेको सुनेर मुना त्यतै गइन् । महादेवको मूर्तिअगाडि भक्त थिए । मुना पनि चुपचाप तिनै भक्तका पछाडि उभिइन् । भक्तले आँखा चिम्लिएका थिए । दुई हात जोडेर नमस्कार पनि गरेका थिए । मनमनै केही भनेजस्तो ओठ चलेका थिए । भक्तले आँखा खोले । मूर्तिको आडमा राखेको रातो टीका निधारमा लगाए । खल्तीबाट पैसा निकाले र मूर्तिलाई चढाए । मुनाले भक्तका सबै क्रियाकलाप हेरिरहेकी थिइन् । उनले मनमनै भनिन्, ‘यी भक्तले त पक्कै पैसा देलान् । बरु बुढी आमैको नाम नलिएर म नै भोकै छु भन्नु पर्ला । दया गरेर दिन्छन् कि भक्तले ।’ 

भक्त बाहिर निस्किए । मुना पनि बाहिरिइन् । मुनाले भक्तसँग पैसा मागिन्, “अंकल म भोकै छु । पैसा दिनुहोस् न । खानेकुरा भए पनि हुन्छ ।” 
उनले मुनाका कुरा सुनेनन् । उल्टै उनका हात हटाए र सरासर हिँडे । मुनाले जिद्धी गरिन्, “दिनुस् न दिनुस् । म भोकै छु क्या ।”

 “छैन पैसा सैसा !” उनी झर्किए । 
मन्दिर नजिकै मस्जिद पनि थियो । उनि त्यहीँ गइन् । मस्जिदमा भक्त प्रार्थना गरिरहेका थिए । उनले भक्तलाई हेरिन् । भक्तले दानपेटिकामा पैसा खसाले । मुनाले परबाट सबै हेरिरहिन् । त्यसपछि भक्त बाहिरिए । मुना पनि बाहिरिइन् । 
 मुनाले मस्जिदका भक्तसँग पैसा मागिन्, “अंकल म भोकै छु पैसा दिनुहोस् न । खानेकुरा भए पनि हुन्छ ।” ती भक्तले पनि नसुनेझैं गरे । उनले पनि मुनाको हात हटाए र बाटो लागे । मुनाले अझै हार मानिनन् । उनी फेरि चिया पसलमा गइन् । मन्दिरका भक्त आएर पसलको बेन्चमा बसिसकेका थिए । एकैछिनमा मस्जिदको भक्त पनि आएर उनकै छेउमा बसे । चिया मगाए । पत्रिका पढे । 

साहुजीले मुना आएतिर हेर्दै मनमनै भने, ‘यो फेरि माग्न आई ।’ भक्तहरूले पनि मनमनै भने, ‘यो फेरि माग्न आई ।’ मुना टक्क रोकिई । उनीहरूलाई पालैपालो हेरी । नजिकै आइरहेको गाडीको वेगले झस्की । फर्केर हेरी । गाडीवाला हतारमा थिए । गाडी रोकेर वर्कसपतिर दौडिए । उनी वर्कसपतिर गएका होलान् ! वर्कसप अझै बन्द थियो । ‘सायद गाडी धुनु परेको थियो होला’, मुनाको मनले यसै भन्यो ।   

उनको गाडी मैलो थियो । मुनाले जुक्ति निकालिन्, ‘यो काम गरें भने पक्कै पैसा पाउनेछु ।’ वर्कसपको नजिकै टालो थियो । उनले हतारहतार गाडी पुछिन् । अगाडिको सिसा पुछिन् । पछाडिको सिसा पनि पुछिन् । ढोका र झ्याल पनि पुछ्दै गर्दा गाडीका मानिस आए । हेर्दाहेर्दै गाडी राम्रै देखियो । ती मानिस छक्क परे र भने, “म गाडी धुन भनेर आएको थिएँ । वर्कसप अझै खोलेको रहेनछ । म उनीहरू बस्ने डेरासम्म पुगेर आएँ । फेरि तिमीलाई कसरी थाहा भयो, मेरो गाडी पुछ्नु पर्छ भन्ने कुरा ! अनि यति सानो मान्छेले काम गर्ने हो त !” उनले मुनाका हात समातेर भने । 

मुनाले भनी, “अंकल ऊ त्यहाँ बस्ने एउटी बुढी आमै भोको हुनुहुन्छ । उनकै लागि मैले काम गरेकी । यो काम गरेको पैसा मलाई दिनुस् न !”
“अहो नानी त कति जाती ! लौ यो पैसा । जे मन लाग्छ किनेर खुवाऊ । मलाई हतार छ । म अहिले गएँ ।” 
 धन्यवाद अंकल ! यसरी उनले अहोभाव प्रकट गरिन् र हात हल्लाइन् ।  
मुना पसलेको नजिकै गइन् र भनिन्, “साहुजी ! मलाई एक गिलास दूध दिनुस् । अनि भर्खर ल्याएको ताजा पाउरोटी पनि । पैसा पनि लिनुहोस् !” 

साहुजीले कागजको गिलासमा दूध राखे र एक प्याकेट पाउरोटी दिए । मुना एक हातमा दूधको गिलास र अर्को हातमा पाउरोटी लिएर सरासर हिँडिन् । परसम्म दुईजना भक्त र साहुजीले छक्क पर्दै हेरिरहे । बुढी आमैले कतिबेला आउलिन् नानी भनेर हेरिरहेकी थिइन् । उनी आएको देखी खुशी भइन् । उनलाई पाउरोटी र दूध दिइन् । आफूसँग उभे्रको पैसा पनि हातमा थमाइदिइन् । आमैले मुनालाई भनिन्, “तिमी त भगवान्को रूप हौ बा ! मेरो पुकार सुनिदियौ !”
मुनाले आफ्नो झोला बोकिन् । आमैलाई ‘बाइ’ गरिन् र स्कूलतिर लागिन् । पसलमा ती भक्त र साहुजी आश्चर्य मानेर हेर्दै थिए जब मुनाको अनुहारमा हाँसो थियो । ती तीनै जनालाई मुनाले पालैपालो ‘बाइ’ गरिन् । तीनै जनाका शिर निहुरियो । सच्चा ईश्वर भक्तको पाठ मुनाले तिनलाई सिकाइन्।

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App