७ वैशाख २०८१ शुक्रबार
अन्य

डलर टिप्नेहरूका कथा

दाजु गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’ले डलर टिप्न हङकङ हिँडेका नेपालीको कथा बोकेको छ। संखुवासभाको मादीमा जन्मेका गुरुङ हाल हङकङमा बसोबास गर्छन्। यो पुस्तकमा उनले  भोगेका, देखेका र अनुभूत गरेका विषय पस्केका छन्। 

टाँकी नेपालको बेसी भेगमा फुल्छ। सेतो, रातो र बैजनी रङमा टाँकी फूलेपछि दसैँ आएको अनुभव हुन्छ। यही टाँकीको फूल, हङकङ डलरमा छापिन्छ। त्यही डलरलाई टाँकीको फूलको बिम्ब दिइएको छ। कवि अनिल पौडेलले पुस्तक समीक्षामा लेखेका छन्, ‘के फल्छ टाँकीका फूलहरूमा, कसरी फल्छ, कसरी टिप्नुपर्छ, कहाँ–कहाँबाट आउँछन्,  फूल टिप्ने हातहरू ? फूल टिप्दा पहिचान हराएका हातको कथा कस्तो हुन्छ ? नेपालमा उच्च शिक्षा हासिल गरेर फूल टिप्न हङकङ गएका कथाकार आफै लेखक र पात्र भएर फ्युजन भएका छन्। यसमा फूलले खाएका अनेक सपनाको मार्मिक कथा पढ्न पाइन्छ।’

यसमा संग्रहित १७ कथामा नेपालबाट हङकङमा पैसा (टाँकीका फूलहरू) कमाउन गएका नेपालीको रोमान्स, सुख, दुःख, पीडा र परिवार विखण्डनका विषय छन्। ‘हराएको मान्छे’ शीर्षकमा बलदेवसिं थापा मगरले आइडी बनाउन हङकङ इमिग्रेसनमा पाएको दुःख छ। लाखौं खर्च गरेर हङकङ पुगेका उनले आइडी बनाउन नसक्दा काम गर्न नपाएको छटपटी र ऋणको बोझले पारेको मानसिक तनाव कथामा छ। 

मोनिका, बिर्सिएको साँझ, मिलेनियम, चोइसाम, मौइसी, सरी र बाटो बिराएको मान्छे शीर्षक कथामा डलर कमाउन हङकङ पुगेका युवाको दैनिकी उजागर गर्ने प्रयास गरेका छन्। श्रीमतीलाई छाडेर हङकङ पुगेका युवाले अविवाहित छु भन्दै युवतीसँग बिहे गर्ने, रोमान्स गर्ने, पोल खुल्ने अवस्था आएपछि केटा बेपत्ता हुने र युवतीले काम छाडेर नेपाल फर्कनुपरेको सत्य लेखेका छन् उनले। 

संग्रहका अर्चना, सुजिता, मोनिका, सुनिता नाम गरेका युवतीले दुःख पाएका छन्। श्रीमतीको अभाव पूर्ति गर्न बिहेको नाटक गर्ने सुरेश, नरेन्द्र, बूढो लाहुरेलगायत खलपात्रका रूपमा उभिएका छन्। 

लागूऔषधमा युवा कसरी फस्दैछन् भन्ने सामाजिक समस्या पनि उठाएका छन् उनले। यसबाहेक सतासी नम्बरी मामाको पारिवारिक कथा, मुनाबहादुर राई इमान्दारितालाई उजागर गरेको छ। मुन्ना चौधरी कथामा लेख्छन्, ‘श्रममा बाँचेका श्रमजीवी न परियो। नयाँ–नयाँ ठाउँमा चहारिरहनुपर्ने बाध्यता। बाध्यताको बल्छीमा उनिएर समयसँगै दौडिरहँदा को–कहाँ पुग्छ, ठेगाना रहँदैन। हङकङ सानो द्वीप भनेर के गर्नु ? हराएका मान्छे वर्षौ भेटिँदैन।’ 

सबैजना हरेक दिन टाँकीका फूल टिप्न पसिना बगाएर भिडेका छन्। पुस्तकले हङकङमा काम र दाम भए पनि नेपालीपन नभएको र अप्ठेरो पर्दा जन्मभूमि नै पहिलो विकल्प हुने देखाएको छ।  

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०६:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App