६ वैशाख २०८१ बिहीबार
अन्य

‘अब्बल’ कविता

जेबी खत्री
मुलतः कविको चिनारी बनाएका वियोगी बुढाथोकी गजल र मुक्तकमा पनि कलम चलाउँछन्। उनी शिवपुरी सन्देश साहित्यिक त्रैमासिक पत्रिकाका सम्पादकसमेत हुन्। हालै उनको कविताकृति ‘फर्किएँ’ प्रकाशित भएको छ। यसमा उनका ३६ कविता छन्। सरल भाषामा लेखिएका कविता आकारका दृष्टिले पनि छरिता छन्।

भन्न मन लागेका कुरा छोटकरीमै भन्न सक्नु उनको खुबी हो। शीर्षक, विषयवस्तु, भाव, प्रतीक, शैली, बिम्ब र विचारका दृष्टिले कविता ‘अब्बल’ छन्। ‘फर्किएँ’ शीर्षक कवितामा उनले स्वाभिमान व्यक्त गरेका छन्। यस कवितामा कर्मचारी क्षेत्रमा देखिएको मानवीय विसंगति र विकृतिको भीडबाट आफूलाई सकुशल उतारेको भावना छ। कतै खोट नलागी पेन्सन पकाएर अवकास लिन सकेकामा उनको मन गर्वले फुलेको छ। 
चढ्दा–चढ्दा
परिश्रमको लामै उकालो चढिएछ
शिखर चुम्ने गरी चढिएछ
उमेर हदको बहीखातामा ल्याप्चे ठोकेर
एउटा हात पेन्सनको लौरोमा
अर्को हात रित्तो खल्तीमा राख्दै
फर्किएँ

अर्को कविता ‘जागिर’मा उनले जागिरको मूल्य, महत्व र आवश्यकताको चित्रण गरेका छन्। जागिर जागिरेका लागि मात्र हुनुहुँदैन। यो त देशका लागि हुनुपर्छ भनेका छन्। ‘सकसमा देश’ कवितामा राजनीतिक विकृति, विसंगति, उतारचढाव आदिका कारण उत्पन्न समस्याको चित्रण छ। 

‘घाइते’ शीर्षक कवितामा पनि देशप्रतिकै चिन्ता छ। वर्तमानको वस्तुस्थिति र मानवीय व्यवहारको चित्रण गर्दै आजको समयलाई घाइते समयको संज्ञा दिएका छन् उनले। वियोगीले ‘हात्तीगौँडा’ शीर्षक कवितामा स्थानीय परिवेशको चित्रण गर्दै लोप हुँदै गइरहेको पुरानो सभ्यता र सौन्दर्यको खोजी गरेका छन्। यसमा आफू जन्मेको, हुर्केको र बसोवास गर्दै आएको काठमाडौंको हात्तीगौँडामा आएको परिवर्तन लेखेका छन्। 
गौँडा बिनाको हात्ती
हात्ती बिनाको गौँडा
हात्तीगौँडा बिनाको हात्तीगौँडा
पत्याउन मुस्किल छ अचेल 

यसरी हेर्दा कवि वियोगी नेपाली साहित्य आकासमा चम्किरहने नक्षत्र हुन्। उनका कवितामा मानवीय जीवनका मायाप्रेम, संयोग, वियोग, उत्तारचढाव, सामाजिक, धार्मिक, आर्थिक, सांस्कृतिक, राजनीतिक विषयवस्तुको विविधता पाइन्छ। कवि स्रष्टा मात्र होइनन्, द्रष्टा पनि हुन्। त्यसैले उसले जीवन र जगतलाई बुझि मात्र रहेको हुँदैन। नियालिरहेको पनि हुन्छ। यहाँ त वियोगीको कविता कृतिका पाँच कविताको मात्रै चर्चा गरिएको छ। उनको सम्पूर्ण साहित्य सिर्जनाको समीक्षा छोटो लेखमा सम्भव छैन। उनका अन्य विधा र सम्पादकीय पक्ष त छुट्टै छँदैछ। 

 

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App