८ वैशाख २०८१ शनिबार
अन्य

काठमाडौं प्याराग्लाइडिङ

आकाशमा उडिरहेका चरा देख्दा त्यसै गरी उड्ने कल्पनामा रमाउँछ मान्छे। विज्ञानको चमत्कारले चराझैं फनफनी घुम्न सकिन्छ अचेल। त्यसका लागि प्याराग्लाइडिङ एउटा राम्रो माध्यम हो। तालिम प्राप्त मान्छेले मात्र ग्लाइडर उडाउन सक्छ। उडाउने तालिम नलिएकाहरूले चाहिँ पाइलटसँगै बसेर त्यसको मजा लुट्न सक्छन्। साहसिक खेल प्याराग्लाइडिङमा रमाउनेहरूको संख्या दिनानुदिन बढ्दै छ। जति बढी साहसिक काम उति बढी रोमाञ्चक अनुभव हुन्छ।    

के हो त प्याराग्लाइडिङ ?
एक प्रकारको पखेटा जडित ग्लाइडरलाई शरीरमा जोडेर अग्लो ठाउँबाट ओरालोतिर दगुर्दै जाँदा हावाको झोक्कासँग उडिने खेल नै प्याराग्लाइडिङ हो। यसमा इन्जिन हुँदैन। हावाको बेगअनुसार उड्नु पर्छ। ग्लाइडरको धागो समातेर पाइलटले नियन्त्रणमा राख्छन्। मौसमले साथ दिए ५–७ घन्टासम्म लगातार उड्न सकिन्छ।

ललितपुरको चापाखर्कबाट उडान गरेको नेपालीले ६५ सय रुपैयाँ तिर्नु पर्छ। यति रकमले २५ मिनेट उडान भर्न सकिन्छ।

नेपालमा दुई दशक अघि बेलायती पाइलट एडम हिल र नेपाली पर्यटन व्यवसायी बिरू बमजनको सक्रियतामा प्याराग्लाइडिङ भिœयाइएको थियो। बमजन र एडम मिलेर पोखरामा खोलेको सनराइज प्याराग्लाइडिङ नै नेपालको पहिलो प्याराग्लाइडिङ कम्पनी हो। प्याराग्लाइडिङका दृष्टिले आज पोखरा संसारकै उत्कृष्ट गन्तव्यको सूचीमा सूचीकृत भैसकेको छ। पोखरापछि मुलुकभित्र काठमाडौं, बन्दीपुर, भोटेचौर, भेडेटार लगायत ठाउँमा पनि प्याराग्लाइडिङको व्यवसायिक उडान गरिन्छ।  

पाइलटसँगै बसेर दुई जना उडान गर्नुलाई ‘टेण्डम फ्लाइट’ भनिन्छ। पाइलटमा त उडाउने सीप र ज्ञान चाहियो नै, यात्रुमा पनि सहास र इच्छाशक्ति हुनु पर्छ। आकाशमा चिसो हुने भएकाले विन्डचिटर र स्पोर्टस शु लगाउँदा सजिलो हुन्छ। पाइलटको निर्देशन मानेर उडिसकेपछि निर्धक्क भएर चारैतिर दृश्यावलोकन गर्न सकिन्छ। पाइलटले खिचिदिन्छन् भिडियो र फोटा। काठमाडौंको पहिलो प्याराग्लाइडिङ कम्पनी ‘काठमाडौं प्याराग्लाइडिङ एन्ड हयाङग्लाइडिङ कम्पनी’ हो। यसले सन् २००७ मा इजाजत पाएको थियो तर व्यवसायिक उडान सुरु गरेको भने सन् २०१५ देखि हो। कम्पनी नेपाली र कोरियाली नागरिकको साझेदारीमा खोलिएको। यसका साझेदारमा च्याङ जिङ ख्वान, विनोद शाह, कुमार घिमिरे, नारायण अर्याल र ट्रिप कन्सर्न प्रालि छन्।

करिब तीन करोड रुपैयाँ लगानीमा सञ्चालित कम्पनीले  ललितपुरको गोदावरी नगरपालिकाको चापाखर्कबाट उडान गर्दै आएको छ। त्यहाँबाट उडेर गोदावरी क्षेत्रकै रचनटारमा ल्याण्ड गराउँछ। पाइलटले २५ सय मिटरसम्म उडाउँछन्। प्याराग्लाइडिङ गर्नेहरूमा स्वदेशी र विदेशी दुवै हुन्छन्। कम्पनीका  प्रबन्ध संचालक नारायण अर्यालका अनुसार तिनमा ८० प्रतिशत विदेशी छन्।

गोदावरीको पिकनिक स्पटबाट चापाखर्कसम्म ४।५ किमी जंगलको बाटोमा रोमाञ्चक ड्राइभ हुन्छ। चापाखर्क ९२,१०० मिटर० बाट गणेशदेखि लाङटाङ हिमश्रृङखला, गौरीशंकर हुँदै सगरमाथासम्म देखिन्छ। उपत्यकाको दृश्यावलोकन त छँदै छ, गोदावरीको हरियालीमा तन र मन रिचार्ज पनि हुन्छ। १२ वैशाखको भुइँचालो अघिसम्म कम्पनीले राम्रै गति लिइरहेको थियो। तर, भुइँचालोपछि करिब तीन महिना बन्द भयो।  

पछिल्लो समय कम्पनी आक्रामक बजारीकरणमा जुटेको छ। उसले कला, साहित्य, संगीत र पत्रकारिता क्षेत्रका परिचित अनुहारहरूलाई उडाएर नयाँ सन्देश दिँदै छ। ‘हामी नेपालीलाई पनि प्राथमिकता दिन्छौं भन्ने’, अर्याल भन्छन्, ‘सन्देश बाँडिरहेका छौं।’ कम्पनीले नेपालीका लागि ८ हजार रुपैयाँको प्याकेज बनाएको छ। उसले प्रवद्र्धनात्मक अभियान अन्तर्गत अचेल ६५ सय रुपैयाँ लिन्छ। यसमा दोहोरो यातायात, फोटो, भिडियो र उडान सुविधा हुन्छ। दस जनाभन्दा बढी समूह भएमा प्याकेजमा लन्च या ब्रेकफास्ट दिइन्छ।

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App