coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

देशका बाधकतत्व

लेखक प्रकाश विकल्पले देश नबन्नुको कारण समेटेर पुस्तक लेखेका छन्– देश किन बनेन।  सांग्रिला बुक्सले छापेको पुस्तक एघार अध्यायमा विभाजित छ। पहिलो अध्याय ‘म र मेरो देश’मा काठमाडौं आएर संघर्ष गर्न थालेपछि उनले विकसित देशसँग आफ्नो देशको तुलना गरेका छन्। त्यसपछि ‘आफ्नो देश कहाँ चुक्यो ?’ भनेर अध्ययन थालेका हुन्। 

अध्याय दुई धर्म र संस्कृतिसँग सम्बन्धित छ। धर्म र संस्कृति बचाउने बहानामा हामीले रुढीवादी मान्यता पछ्याइरहेको र समय अनुसार परिवर्तन हुन नसकेकामा उनी चिन्तित छन्। विज्ञानलाई अन्तिम सत्य मान्ने जनमत निर्माण होस् भन्ने उनको चाहना छ।  अध्याय तीनले विभेद र असमानतालाई व्याख्या गरेको छ। सामाजिक विभेद, वर्गीय असमानता, जातीय अनि लैंगिक विभेदलाई उनले प्रष्ट पारेका छन्। 

अध्याय चारको विषयवस्तु राजनीति वरपर घुमेको छ। अध्याय पाँचमा राज्य मुख्य केन्द्रविन्दु बनेको छ। अक्षम कार्यपालिका, परम्परावादी न्यायपालिका, अनुत्तरदायी व्यवस्थापिका, लाचार कर्मचारीतन्त्र र प्रशासन, वित्तीय सुशासनको सुस्ततालाई उनले राज्य खस्किनुको कारण ठानेका छन्। यी पक्ष सुधार्दा मात्र राज्यमा समुन्नति छाउने उनको दाबी छ।

सुशासन, मानवअधिकार, कुटनीति र राष्ट्रियताले अध्याय ६ लाई पूर्ण बनाएका छन्। दयनीय सुशासन, कज्याइएको मानवअधिकार, वैदेशिक नीति र कुटनीतिसँग तालमेल गर्न नसक्नु, राष्ट्रियता कमजोर हुनुले देशलाई पूर्ण आकार दिन सकेन भन्ने उनको ठम्याई छ। अध्याय सातमा देश खास देश बन्न नसक्नुको पछि अन्तर्राष्ट्रिय कारणले पारेको प्रभावको चर्चा छ। भारतीय दबदबा, भूमण्डलीकरण र वैदेशिक शक्तिले अघि बढ्न नसकेको लेखकको विचार छ।  

अध्याय आठमा उनले देशको नीति र व्यवस्थापन बारेमा छानबिन गर्ने प्रयास गरेका छन्। यसमा निमुखाकेन्द्रित कानुन, फितलो नीति कार्यान्वयन, कृषि र भूमिसुधार, परनिर्भर श्रम र उत्पादन, अवैज्ञानिक विकास नीति र योजना, परम्परागत शिक्षा प्रणाली, निष्प्रभावी अनुगमन–मूल्यांकन, अस्थिर सरकारले देशलाई उन्नति गर्नबाट रोकेको मूल्यांकन गरेका छन्। 

शासन व्यवस्था र विकासको चर्चा छ अध्याय ९ मा। शासन व्यवस्थाको ऐतिहासिक पाटो, पञ्चायती व्यवस्था, बहुदलीय ब्यवस्था, गणतन्त्रात्मक व्यवस्था यसभित्रका मुख्य विषयवस्तु हुन्। लेखकले अध्याय दशमा नागरिक र देशलाई समेटेका छन्। निष्क्रिय युवा, कर्मकाण्डी नागरिक समाज, ननब्यूझिएका नागरिकले देश सुध्रिन सकेको छैन। अन्तिममा उनले देश सोचेजस्तो विकसित हुन नसक्नुमा तीन बूँदा अघि सारेका छन्– वर्गीय असमानता, धार्मिक उल्झन र विकृत शासन। यी कुरामा सुधार गर्दा देशले नया“ आकार लिन सक्ने लाग्छ उनलाई।  पुस्तकका विषयवस्तु महत्वपूर्ण छन्। लेखनशैली सरल र सुन्दर छ। हरेक नेपालीले यो किताब पढेमा देश बनाउन सकिन्थ्यो कि !  

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App