coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

विप्लव माओवादीप्रति कडारुपमा प्रस्तुत हुन गृहमन्त्रीको निर्देशन

सुर्खेत- गृहमन्त्री रामबहादुर थापाले विप्लव नेतृत्वको नेकपा माओवादीलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिएका छन्। उनले पछिल्लो केही समययता विप्लव माओवादीले देशव्यापी रुपमा ध्वंसात्मक गतिविधिहरु विस्तार गरेको भन्दै त्यसलाई नियन्त्रण गर्नका लागि कठोर रुपमा प्रस्तुत हुन सुरक्षा अंगहरुलाई निर्देशन दिए। ‘अहिलेकै संविधान र कानुनको परिधिभित्र रहेर विप्लवका गतिविधिहरु नियन्त्रण गर्नेतर्फ लाग्नुहोस्’ कर्णाली प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले भने, ‘उनीहरुलाई कुनैपनि हालतमा फैलिन दिइनु हुन्न।’

उनले विगतमा कतिपय पक्षहरुबाट विप्लव माओवादीलाई संरक्षण र उत्मुक्ति दिइएकाले उनीहरुको हौसला बढेको बताए। उनले नेपालमा सशस्त्र युद्ध गर्नका लागि कुनै बस्तुगत आधारहरु नभएकाले शान्तिपूर्ण प्रक्रियामा आउन पनि विद्रोही पक्षलाई आग्रह गरे। ‘हिजो राज्य व्यवस्थामा थुप्रै कमि कमजोरीहरु थिए, त्यसका विरुद्ध जनताले आवाज उठाएका थिए’ गृहमन्त्री थापाले भने, ‘अहिले त्यो अवस्था छैन्, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भइसकेको छ, देश विकास र समृद्धिको दिशामा अघि बढिरहेको छ, यस्तो अवस्थामा सशस्त्र युद्ध गर्ने तत्वको विस्तार र विकास हुने कुनै सम्भावना छैन।’

गृहमन्त्री थापाले विप्लवका अहिलेका गतिविधिहरुलाई सरकारले धेरै ठूलो चुनौतिको रुपमा नलिएको पनि बताए। ‘राष्ट्रको शान्ति सुरक्षाका निम्ति केही समस्या खडा गरेको छ, तर यो ठूलो चुनौति भने होइन्’ उनले भने, ‘बेलैमा यसको नियन्त्रणका लागि सबै संयन्त्रहरुलाई निर्देशन दिइसकेका छौं।’

उनले वार्ता र नियन्त्रणको काम संगै अघि बढाइएको बताए। ‘आफ्ना माग र विचारहरु लोकतान्त्रिक विधिबाट राख्न हामीले आग्रह पनि गरेका छौं र संगसंगै उनीहरुलाई नियन्त्रण गर्नका लागि राज्यका सबै संयन्त्रहरुलाई निर्देशन दिएका छौं’ उनले भने, ‘वार्तामा आएमा एउटा ढंगले समस्या समाधान हुन्छ, नआएमा संविधानको परिधिभित्रै रहेर नियन्त्रणमा लिन्छौं।’

उनले विप्लवले स्थानीय तहमा हस्तक्षेप बढाएको सूचना आफूहरु कहाँ आइपुगेको बताए। ‘स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुलाई सुरक्षा दिन सुरक्षा संयन्त्रहरुलाई निर्देशन दिइएको छ’ उनले भने, ‘जनप्रतिनिधिको सुरक्षा दिन र नियन्त्रण गर्न हामी प्रतिवद्ध छौं।’

गृहमन्त्री थापाले राष्ट्रिय एकता र अखण्डताका लागि चुनौतिको रुपमा रहेको सिके रावत समूहलाई राष्ट्रको मूल धारमा ल्याउन आफूहरु सफल भएको बताए। ‘छुट्टै देशको नारा दिएर क्रियाशिल रहेको समूहलाई राष्ट्रको मूल धारामा समावेश गरेका छौं, समस्यालाई लोकतान्त्रिक धारबाट समाधान गरेका छौं’ उनले भने, ‘यो सरकारको सफलता हो।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०५:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App