१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

लक्ष्मणाको गौरव

बर्दियाको लक्ष्मणास्थित शिव मन्दिर (माथि)। र, केही दिनअघि गरिएको मन्दिर उद्घाटनमा सहभागी नेपाल रिपब्लिक मिडिया प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक विनोद ज्ञवाली (बायाँबाट दोस्रो)लगायत।

चार दशक अघिको एउटा घटना बर्दिया लक्ष्मणावासीमाझ अविस्मणिय छ। खडेरीको चिन्तामा थियो लक्ष्मणा गाउँ। त्यही बेला गाउँका केही युवाले भगवान् शिवलाई सम्झँदै गाउँ परिक्रमा गरे। गाउँमा पूजा गरेकै दिन पानी परेपछि लक्ष्मणामा दैवि शक्ति भएको विश्वास गाउँलेले गरेको सुनाउँछन्, स्थानीय दिनानाथ ज्ञवाली।

अहिले मन्दिर निर्माण समितिको अध्यक्ष भएर काम गरेका दिनानाथ त्यस दिनको घटनाले गाउँलेमा शिवभक्ति बढाएको बताउँछन्। युवाले गाउँमा पूजा गरेकै दिन पानी परेपछि लक्ष्मणामा शिव मन्दिर निर्माणको परिकल्पना सुरु भएको थियो। पछि बिस्तारै गाउँलेले मन्दिर निर्माण गर्ने अठोट लिए। त्यसको नेतृत्व लिने परिवार थियो ज्ञवाली। मन्दिर स्थापना भयो तर, त्यसले आधुनिक र बृहतरूप लिन सकेको थिएन। अहिले सञ्चार उद्यमी एवम् नेपाल रिपब्लिक मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीको आर्थिक सहयोगमा बर्दियामा आर्कषक शिव मन्दिर निर्माण भएको छ। जसले लक्ष्मणालाई मात्र होइन, बर्दियालाई धार्मिक पर्यटनको सम्भावना भएको जिल्लाका रूपमा चिनाउन सहयोग गरेको छ।

बर्दिया आफैँमा धार्मिक र प्राकृतिक सुन्दरताले धनी जिल्लामा पर्छ। त्यसमा थपिएको अर्को पहिचान हो लक्ष्मणाको शिव मन्दिर। बर्दिया बाँसगढी–६, स्थित लक्ष्मणा थारु र पहाडी समुदायको मिश्रित बस्ती हो। शान्त र सुन्दर। करिब दुई सय घरधुरी मिलेर बनेको छ। यही गाउँमा सानो मन्दिर थियो। जीर्ण भइसकेकाले संरक्षणको खाँचो थियो। मन्दिर नजिकै सञ्चार उद्यमी तथा समाजसेवी स्वर्गीय हेमराज ज्ञवालीको घर छ। स्थानीयको चासो र आफ्नो धार्मिक आस्थाका कारण हेमराज सोही मन्दिरलाई संरक्षणमा लागे। दुई वर्षअघि उनले सोही स्थानमा ठूलो मन्दिरका लागि शिलान्यास समेत गरे। तर, दुःखद् हेमराजले यो मन्दिरको पूर्णरूप हेर्न पाएनन्। मन्दिर निर्माण अधुरै थियो उनको कान्छा छोरा उद्यमी विनोदराजले उक्त कार्यलाई पूर्णता दिए। फलस्वरूप उक्त मन्दिर शिवरात्रिको अवसर पारेर सोमबार उद्घाटन गरियो।
मन्दिरसँग धार्मिक आस्थासँगै बुबाको माया र स्नेह गाँसिएको सम्झन्छन प्रबन्ध निर्देशक ज्ञवाली। बुबाको इच्छाअनुसार शिवरात्रिमा मन्दिर उद्घाटन गरेको उनले बताए। २०३५ जेठ १५ यो ठाउँमा महावेदको शक्तिको परीक्षण गरिएको थियो। दिनानाथ ज्ञवालीलगायत ९/१० का ३० जनाजति विद्यार्थीले पानी माग्दै गाउँ परिक्रमा गरे। सोही दिन दिउँसो १२ बजे आकास गर्जन थाल्यो। साँझ ५ बजे आँधीधुरीसहित भारी वर्षा भयो। पानी आएपछि यहाँ महावेदको शक्ति छ भन्दै दिनानाथले घर बनाउने केही इँटा राखे। सानो मन्दिर बनाउन स्थानीय जुटे। त्यसपछि पुसबाट धार्मिक शक्ति केन्द्रका रूपमा लिएर पूजाआजा हुन थालेको विश्वेश्वर महादेव मन्दिर समितिका अध्यक्ष दिनानाथले बताए।

लक्ष्मणामा आर्कषक शिव मन्दिर निर्माण भएको छ । यसबाट सिंगो बर्दिया जिल्लालाई नै धार्मिक पर्यटन केन्द्र बनाउन मद्दत पुगेको छ ।

मन्दिरमा खडेरी परेका बेला पानी मागेपछि पानी पर्ने र अन्य अभूतपूर्व शक्ति रहेको किंवदन्ती रहेको मन्दिर समितिका सचिव रामगोपाल चौधरीले बताए। मन्दिरमा जडान भएका आँखीझ्याल, ढोकाका कारण आर्कषक देखिन्छ। नवनिर्मित मन्दिरको लागत ५३ लाख रुपैयाँ छ। विनोदराज ज्ञवालीको ४० लाख, पर्यटन बोर्डको १० लाख र स्थानीयको जनश्रमदान तीन लाख सहित मन्दिरमा निर्माण भएको हो। यसले यहाँको धार्मिक आस्थासँगै आर्थिक र पर्यटकीय हिसाबले महत्व बोकेको स्थानीय बताउँछन्। शिव मन्दिर स्थापनापश्चात् हिन्दू धर्मावलम्बीहरुको आकर्षणको केन्द्र बन्ने वडाध्यक्ष तुलप्रसाद गौतमले बताए। ‘धार्मिक आस्थाका रूपमा यो परिचित हुँदै गएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यसको संरक्षण र रेखदेखमा ध्यान दिन आवश्यक छ।’ यसको संरक्षणका लागि वडा सरकारले आगामी वर्षदेखि काम गर्ने उनको भनाइ छ। मन्दिरसम्म पुग्ने कच्ची बाटोलाई व्यवस्थित गर्ने उनले बताए। यो नमुना र व्यवस्थित मन्दिर बनेको उनी बताउँछन्।

अहिले मन्दिर वरिपरि फराकिलो बनाउने कुरा चलेको उनले बताए। यस नजिक रहेका जग्गाधनीलाई बाटोमा जग्गा दिने र मन्दिर वरिपरिको जग्गा मन्दिरको नाममा लिने कुरा चलेको उनले जनाए। यस वडामा दर्जनभन्दा बढी मन्दिर छन्। सबैको संरक्षण हुन् सकेको छैन। यसलाई धार्मिक क्षेत्र पवित्रस्थलका रूपमा लिन सकिन्छ। मन्दिरसम्म सवारी साधनबाट पुग्न सकिन्छ। धार्मिक क्षेत्रका रूपमा विकास भएको लक्ष्मणाको प्रचारप्रसार गर्न आवश्यक छ। परापपूर्वकालदेखि स्थापना गरिएका मन्दिरहरूमा यहाँका बासिन्दाको आस्था र विश्वास उस्तै छ। यी शक्तिपिठमा दैनिक जसो पूजापाठ हुँदै आएको छ।

धार्मिक विश्वास रहेको यस गाउँमा नयाँ मन्दिर स्थापनापश्चात् नयाँ उमंग थपिएको छ। यसलाई धार्मिक पर्यटकीयस्थलका रूपमा समेत विकास गर्नु पर्ने स्थानीयको भनाइ छ। विभिन्न शक्तिपिठमा यहाँका बासिन्दाले विश्वास राख्ने गरेका छन्। स्थानीय डिल्लीराम बस्याल मन्दिरसँगै स्थानीय विकासमा ज्ञवाली परिवारले दिएको योगदान सम्मानयोग्य भएको बताउँछन्। उनले भने, ‘अहिले बनेको शिव मन्दिर देशकै नमुना मन्दिरमा पर्छ। यस्तो मन्दिर हाम्रो गाउँमा बन्नु गर्वको कुरा हो। बर्दियाबासीको आस्था केन्द हो मन्दिर। यसले स्थानीयमा आत्मसम्मान बढाउँछ। बर्दियामा धार्मिक पर्यटन विकासमा टेवा पुग्छ।’

प्रकाशित: २५ फाल्गुन २०७५ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App