८ वैशाख २०८१ शनिबार
राजनीति

महिला अधिकारका लागि संविधान संशोधन गर्नुपर्छः संयोजक भट्टराई

काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले महिला अधिकार प्राप्तिका निम्ति अहिलेको संविधान संशोधन गर्नुपर्ने बताएका छन्।  

महिला शक्ति महासंघ नेपालद्वारा १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक विभेदरहित समाज निर्माण’ विषयक अन्तर्क्रियामा संयोजक भट्टराईले आमाको नामबाट पनि सहजरुपमा नागरिकता पाउने अवस्था सिर्जना गर्न कानून बनाएर मात्र नहुने बताउँदै संविधानमा भएका विभेदकारी व्यवस्थाहरु नै संशोधन गर्नुपर्ने बताए। ‘अन्तर्राष्ट्रिय महिला दिवसलाई एक कर्मकाण्ड हैन, साँच्चै तीनवटै लिंगीको सबै क्षेत्रमा बराबरी हक र सम्मानको प्रत्याभूति गर्ने अभियानको बिम्वको रूपमा ग्रहण गरौं’, उनले भने, ‘तत्काल संविधानको धारा ११ र कानूनमा रहेको नागरिकता सम्बन्धी लैंगिक विभेद अन्त्य गर्नुपर्छ।’ 

संयोजक भट्टराईले महिलालाई समानरुपले अगाडि बढ्न सांस्कृतिक र आर्थिकरुपले समेत बाधा पारेकोले पुरातनवादी संस्कृतिको ठाउँमा नयाँ लोकतान्त्रिक संस्कृति स्थापित गर्नुपर्ने बताए। उनले महिलालाई आर्थिकरुपले समान अधिकार नदिएसम्म समानताको पाइला अगाडि नबढ्ने धारणा राखे।

उनले नयाँ शक्ति पुराना शक्तिको हाँगा नभएको र यो अवसर नपाएकाको असन्तुष्ट समूह नभई नयाँ विचारसहितको शक्ति भएको बताए। 

कार्यक्रममा बन्दना ढकालले मिडियामा महिलाहरुका विषय राम्ररी नसमेटिएको बताउँदै सम्पादकहरुमा महिला नभएसम्म महिलाहरुको मर्म बुझ्ने गरी पत्रपत्रिकामा समाचार आउन नसक्ने बताए। उनले पत्रकारहरुले महिलाको विषयमा समाचार लेख्दा लिंगीय संवेदनशीलतालाई समेत ख्याल गर्नुपर्नेमा जोड दिए। 

त्यसैगरी, नयाँ शक्ति पार्टी काठमाडौंका संयोजक मानुषी यामीले महिलाहरुलाई हरेक क्षेत्रमा हतोत्साहित गर्ने संस्कृति रहेको बताउँदै कतिपय अवस्थामा आफूसमेत त्यसबाट पीडित बन्नुपरेको बताए। 

अन्तर्क्रिया कार्यक्रमको अध्यक्षता राष्ट्रिय महिला आयोगका पूर्व सदस्य एवम् नयाँ शक्ति पार्टी नेपालकी नेत्री मनु हुमागाईले गरेका थिए। अन्तर्क्रिया कार्यक्रमअघि पूर्वमन्त्री एवम् नयाँ शक्ति पार्टी नेपालकी हेडक्वाटर सदस्य हिसिला यमीको नेतृत्वमा माइतीघर मण्डलामा महिलाहरुले नारा जुलुस गर्दै समानताको माग गरेका थिए। विरोध प्रदर्शनमा नेतृ यमी र पिंकी गुरुङले सम्बोधन गरेका थिए। 

प्रकाशित: २४ फाल्गुन २०७५ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App