coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राउतका कार्यकर्ता भन्छन्, ‘सम्झौताले खुला रूपमा एजेन्डा राख्ने वातावरण मिल्यो’

रुपन्देही– सरकारसँग डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठनबन्धनले ११ बुँदे सम्झौता गरे पनि पुरानो माग भने कायम रहेको गठबन्धनका कार्यकर्ताहरुले बताएका छन्।

सीके राउतले सरकारसँग सम्झौता गरेपछि पृथकतावादी आन्दोलन छाडेर मुल धारको राजनीतिमा आएको विश्लेषण गरिएको छ। तर, राउतका कार्यकर्ताले भने सम्झौताले खुल्ला राजनीतिमार्फत स्वतन्त्र मधेसको मुद्दालाई जनतामाँझ राख्ने वातावरण मिलाएको बताएका छन्। सरकारको आँखा छलेर मधेस अलगको माग उठाउँदै आएको गठबन्धनले अब भने जिल्ला जिल्लामा पार्टी कार्यालय खोल्ने वातावरण बनाएको नेताहरु बताउँछन्। गठबन्धनका सहसंयोजक कैलाश महतोले सरकारसँगको सम्झौताले आफूहरुलाई खुल्ला राजनीतिका लागि सहज वातावरण बनेको बताए। 

‘रणनीतिक रुपमा सरकारसँग वार्तामार्फत सहमति भयो’, उनले भने, ‘राज्य पनि हैरान थियो, हामी पनि हैरान थियौं, अब खुल्ला राजनीतिबाट जनतालाई सचेत गर्छौं।’ उनले आफूहरुले पुरानो मुद्दा नत्यागेको स्पष्ट गरे। उनले आफूहरु नेपालको संविधान र सार्वभौम अखण्डतालाई स्वीकार गरेको तर स्वतन्त्र मधेस जनमत संग्रहबाट गरिनुपर्ने बुँदामै स्पष्ट रुपमा रहेको बताए। ‘बुझ्नेले कसरी बुझाैं? सम्झौतामा हामीले मुद्दा छाडेका छैनौं’, उनले भने। नवलपरासीका सहसंयोजक महतोले जनमतले स्वतन्त्र मधेस अस्वीकार गरे त्यसमा आफूहरु सहमत हुने बताए। उनले सेना, प्रहरी र प्रशासन सहितको छुट्टै स्वतन्त्र मधेस भने पनि यसलाई अतिरञ्जित गरिएको बताए। ‘हाम्रो मुद्दा विखण्डन होइन स्वतन्त्र हो’, उनले दोह-याए।

पृथकतावादी र क्षेत्रीयताको मुद्दा छाडेर मुल धारको राजनीतिमा आएको चर्चा भइरहँदा जिल्लाका नेताहरुले भने त्यस्तो नभएको बताएका छन्। गठबन्धन रुपन्देहीका संयोजक भोपेन्द्र प्रसाद यादवले नागरिकसँग भने, ‘मधेसमा विभेद छ, त्यसैका लागि स्वतन्त्र मधेसको मुद्दा ल्याइएको हो, यो मुद्दा छोडिएको छैन्।’

उनले सरकारसँग राजनीतिक सम्झौता मात्रै भएको बताए। लोकतान्त्रिक रुपमा अन्य दलहरु सरह आफूहरुले मान्यता पाए जनतालाई बुझाउन सकिने तर्क गरे। सरकारसँग भएको सम्झौताले स्वतन्त्र मधेस जनमत संग्रहमा लैजाने उल्लेख गरेकाले आफूहरुले मुद्दा नछाडेको तर्क गरे। उनले स्वतन्त्र मधेसले नेपालबाट छुट्टिने मुद्दा नभएको भन्दै सेना, प्रहरी र प्रशासनमा मधेसले नेतृत्व गर्ने भनेको बताए। 

सीके राउतको गतिविधिलाई प्रहरीले निगरानीमा राख्ने गरेको थियो। निगरानीकै कारण खुल्ला रुपमा स्वतन्त्र मधेस, अलग मधेसको माग राख्न नसकेको गठबन्धनले अब भने आमसभा, कार्यकर्ता भेला गरेर राख्न मिल्ने वातावरण बनेको बताएका छन्। तराईका जिल्लामा गोप्य रुपमा सैन्य तालिम समेत चलाएको गठबन्धनले अब शान्तिपूर्ण राजनीतिक गर्ने बताएको छ। गठबन्धनका स्वयंसेवक युवा प्रमुख सञ्जय कुमार मिश्रले पहिलेदेखि नै लोकतान्त्रिक रुपमा माग उठाउन चाहे पनि सरकारले बन्देज लगाउँदा समस्या भएको बताए। उनले अब खुल्ला रुपमा संगठित गरेर आफूहरु राजनीतिक गतिविधिमा संलग्न हुने बताए।

सीके राउतले तराईका जिल्लाहरुमा भित्र भित्र संगठन विस्तार तिव्र पारेको सम्झौता पछि खुलेको छ। स्वयमसेवक युवा रुपन्देहीका प्रमुख मिश्रका अनुसार जिल्लामा मात्रै ७ हजार युवा आबद्ध छन्। नवलपरासी, रुपन्देही, कपिलवस्तु लगायतका क्षेत्रमा राउतले संगठनलाई बलियो गरी बनाएको स्रोतले जनाएको छ। सम्झौता अनुसार अखण्ड र सार्वभौम राज्य मान्ने उल्लेख गरे पनि जिल्लादेखि केन्द्रसम्मका नेताहरुले भने जनमत संग्रहबाट मात्रै स्वतन्त्र मधेसको मुद्दा छिनोफानो हुने बताएका छन्।

प्रकाशित: २४ फाल्गुन २०७५ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App