७ वैशाख २०८१ शुक्रबार
अन्य

शैक्षिक ऋण दिँदै भक्तपुर नगरपालिका

भक्तपुर नगरपालिकाले विद्यार्थीका लागि छात्रवृत्तिको सुविधा दिएको छ । भक्तपुरका चार वटा नगरपालिकामध्ये छात्रवृत्तिको व्यवस्था भएको पहिलो यो नगरपालिका देशभरमै छात्रवृत्तिको व्यवस्था गरेको सम्भवतः पहिलो नगरपालिका हो । नगरपालिकाले मेडिकल सेक्टरमा मास्टर (एमडी) को लागि यो वर्षदेखि छात्रवृतिको व्यवस्था गरेको छ । एमडीको छात्रवृत्ति वर्षको दुई जनालाई दिनेछ । यो भक्तपुरका स्थानीयवासीको लागि मात्र हो । अरु बाहिरको विद्यार्थीले पाउँदैनन् । 

यो छात्रवृत्तिमा देशभित्र मात्र नभएर देश बाहिरको विश्वविद्यालयमा पढ्न जान पनि पाइन्छ । सबै पैसा नगरपालिकाले व्यहोर्ने गर्छ । यो छात्रवृत्तिको एउटा सर्त भने छ । यो छात्रवृति लिएर पढेको विद्यार्थीले ५ वर्ष नगरपालिकाद्वारा संचालित जनस्वास्थ्य कार्यालयमा बसेर काम गर्नुपर्छ । काम गरेबापत मासिक पारिश्रमिकको पनि व्यवस्था छ । 

यसका साथै नगरपालिकाले स्नातक तहमा मानविकी संकायमा निश्चित विषय अध्ययन गर्ने नगरभित्रका विद्यार्थीलाई पनि छात्रवृत्ति दिने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । मानविकी संकायको इतिहास, नेपालभाषा, राजनीतिशाश्त्र, सस्कृत र कल्चर (संस्कृति) विषयमा पढ्ने विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था नगरपालिकाले गरेको हो । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मानविकी संकायका निश्चित विषय अध्ययन गर्ने विद्यार्थी कम भएको पाइएकोले प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था गरेको बताए । यसको लागि वर्षमा १० लाख रूपैयाँ विनियोजन गर्दै आएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले यो वर्षदेखि देशभरकै पहिलो पटक शैक्षिक ऋणको पनि व्यवस्था गरेको छ । नगरपालिकाले पाँच लाखको शैक्षिक ऋणको व्यवस्था गरेको हो । ‘हामीले देशभरकै नगरपालिकामध्ये शैक्षिक ऋण दिने पहिलो हौं,’ मेयर प्रजापतिले दाबी गरे । भक्तपुर नगरवासीका लागि मात्रै शैक्षिक ऋण दिइने नगरपालिकाले जनाएको छ । यसमा विद्यार्थीले पढदापढ्दै लोन तिर्ने सुरु गरे पनि हुन्छ । यसको ब्याज ६ प्रतिशत लिने नगरपालिकाले जनाएको छ । 

नगरपालिकाले भक्तपुरको बारेमा थेसिस गर्नेलाई पनि सहयोग गर्ने व्यवस्था मिलाएको छ । यसलाई नगरपालिकाले ‘अनुसन्धान वृत्ति’ नाम दिएको छ । यो सुविधा देशैभरका विद्यार्थीका लागि प्रदान गरिने नगरपालिकाले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रविन्द्र ज्याख्वका अनुसार यो छात्रवृति सवैमा विद्यार्थीलाई पैसा नदिई सिधै नगरपालिकाले नै सम्बन्धित निकायमा तिरिदिने (खर्च गरिदिने) व्यवस्था छ । ‘पैसा डाइरेक्ट कलेजमा तिरिदिने नियम बनाएका छौ, यसलाई हामीले कलेजको समन्वयमा तिर्ने गर्छाैं,’ उनले भने ।

भक्तपुर नगरपालिका विद्यालय स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यले भक्तपुरलाई शैक्षिक हवको रूपमा विकास गर्ने योजना अनुसार यसरी छात्रवृत्ति, शैक्षिक ऋण अनि अनुसन्धानकर्तालाई सहयोग गर्ने व्यवस्था गरेको जनाए । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०६:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App