७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री ओली र सीके राउतको सम्बोधन एउटै मञ्चमा

काठमाडाैँ - प्रधानमन्त्री केपी ओली र स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष डा. सिके राउत एउटै मञ्चबाट सम्बोधन गर्न लागेका छन्। मधेस स्वराजको आन्दोलन चलाइरहेका डा. राउतले पृथकतावादी आन्दोलन छोड्ने एजेण्डाको औपचारिक घोषणाका लागि राष्ट्रिय सभागृहमा आयोजित सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीसँग सम्बोधन गर्न लागेका हुन्। 

राउतले स्वतन्त्र मधेशको नारा त्याग्ने, स्वतन्त्र मधेश गठबन्धन नामक संगठनलाई पनि विघटन गर्ने घोषणा हुने प्रधामन्त्रीका प्रमूख राजनीतिक सल्लाकार विष्णु रिमालले बताए। प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ट्विट गर्दै १ बजे राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री ओलीको विशेष महत्वको विषयमा सम्बोधन रहेको जानकारी दिएका छन्।

राज्यविरुद्धको अभियोगमा थुनामा रहेका राउत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। जिल्ला अदालत गौरमा विचाराधीन मुद्दाको तारिख लिएर फर्किंदै गर्दा असोज २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो।

बिहीबार सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको थियो। कुनै पनि हालतमा नेपालबाट मधेशलाई अलग्याएर छुट्टै राष्ट्र निर्माण गर्ने अभियानमा करिब ९ वर्षदेखि डा. राउत सक्रिय थिए।

प्रकाशित: २४ फाल्गुन २०७५ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App