८ वैशाख २०८१ शनिबार
अन्य

‘खानेपानी समस्या समाधानका लागि ठाउँठाउँमा डिप बोरिङ गरिरहेका छौं’

श्यामकृष्ण खत्री 
वडा अध्यक्ष 
भक्तपुर नगरपालिका वडा नं १ दूधपाटी

जनप्रतिनिधि भएपछि मुख्य के–के काम गर्न भ्याउनुभयो ? 
जनप्रतिनिधि भएर आएपछि वडा भवन निर्माण सुरु गर्यौं । अहिले लगभग तयार भइसकेको छ । त्यस्तै, भक्तपुर बहुमुखी क्याम्पस अगाडि रहेको भाजु पोखरीको निर्माण गरिरहेका छौं । हाम्रो वडामा भक्तपुरको प्रख्यात पोखरी परेको हुनाले पोखरीको संरक्षणतर्फ लागेका छौं । 

वडामा के–कस्ता समस्या देख्नुहुन्छ ?
पहिलो समस्या खानेपानीको हो । यसको समाधानका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडसँग समन्वय गरिरहेका छौं । 

खानेपानीको समस्या समाधानका लागि के–कस्तो योजना बनाइरहनुभएको छ ?
भक्तपुर नगरभित्रको खानेपानी समस्या समाधानका लागि नगरपालिकाले सिगाख्वाते, लिवाली, टुमचो, सल्लाघारीमा डिप बोरिङ गरेका छाैं । सल्लाघारीको डिप बोरिङको काम सकाएर वैशाखभित्र पानी वितरण सुरु गर्ने योजना छ ।

सिंगाख्वातेबाट चुनदेवी जोड्ने हनुमन्ते खोलामा पुल नभएर समस्या छ भन्ने छ, के भन्नुहुन्छ ? 
सिंगाख्वातेबाट चुनदेवी जोड्ने हनुमन्ते खोलामा झोलुंगे पुल राख्ने प्रस्ताव आएको थियो । तर, हाम्रो माग पक्की पुल बनाउने थियो । त्यसकारण हामीले उक्त पुलको रकम मागेर अपुग रकम आफै थप्ने गरी पक्की पुल बनाउने प्रस्ताव गर्र्याे । तर, मानेनन् । त्यसपछि अहिले भक्तपुर नगरपालिका आफैले पक्की पुल बनाउने भएको छ ।

तपाईँको वडामा भक्तपुर अस्पताल पनि पर्छ । अस्पतालमा राम्रो सेवासुविधा नहुँंदा यो रिफर अस्पतालको रुपमा चिनिन्छ, यसबारेमा तपाई के भन्नुहुन्छ ?
यसबारे टीकाटिप्पणी आउने गरेको छ । तर, अहिले पहिलाको तुलनामा भक्तपुर अस्पताल धेरै राम्रो भएको सुनिन्छ । भक्तपुर नगरपालिका र अस्पतालबीच समन्वय भयो भने झन् राम्रो गर्न सकिन्छ । अहिले भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुविधाका लागि ख्वप अस्पतालको लक्ष्यसहित शिलान्यास गरिसकेको छ । 

तपाईँको वडामा पर्ने भक्तपुर क्यान्सर अस्पताल, सहिद गंगालाल मानव अंग प्रत्यारोपण केन्द्रजस्ता केन्द्रीयस्तरका अस्पतालमा पनि बिरामीको अत्याधिक चाप देखिन्छ, यसमा यहाँंले ध्यान दिन सक्नुभएको छ ? 
भक्तपुर क्यान्सर अस्पतालमा र मानव अंग प्रत्यारोपण केन्द्रमा बाहिरी देशका बिरामी पनि उपचारका लागि आउने गर्छन् । बिरामी धेरै हुने भएकाले अहिले अस्पतालमा भौतिक संरचना अपुग भएको देखिन्छ । त्यसकारण अस्पतालभित्रको जग्गा व्यवस्थित गर्न सके राम्रो हुन्छ । हामीले सक्ने सहयोग गर्नेछौं ।

सल्लाघारीको एक सय आठ रोपनी जग्गा संरक्षणका लागि यहाँंहरूले प्रयास गर्नुभएको छ, यो प्रयासको प्रगति कस्तो भइराखेको छ ?
सल्लाधारीको जग्गालाई संरक्षण शिलान्यासपछि जगको रूपमा तीनदेखि आठ फिटसम्म ढुंगाको वाल बनाउने काम भएको छ । त्यसको माथि वाल बनाउने काम केही दिन अगाडिबाट सुरु भइसकेको छ । सल्लाधारीको एक सय आठ रोपनी जग्गा संरक्षणको काम वैशाखको अन्तिमभित्र सकाउने योजना छ । यसमा जम्मा सात फिटको वाल बनाउने भएका छौं ।

भक्तपुरकै पुरानो भक्तपुर बहुमुखी क्याम्पसमा गुणस्तरीय शिक्षा प्रदान गराउन यहाको केही भूमिका हुनसक्छ ?
भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरको सबैभन्दा पुरानो क्याम्पस हो । म प्रतिनिधि भएर आएपछि व्यवस्थापन समितिमा बोलाएको थियो । व्यवस्थापन समितिबाट भौतिक संरचनाको आवश्यकता महसुस गरी भौतिक संरचना बनाउने योजना छ । हामी सहयोग गर्छाै । नगरभित्रको पुरानो शैक्षिक संस्थालाई संरक्षण गर्नेछौं ।

भक्तपुर मिनी बसपार्क व्यवस्थित देखिँदैन, यसलाई व्यवस्थित पार्ने योजनाबारे केही ध्यान दिनुभएको हो ? 
बसपार्कको संरचना अपुग छ । बसपार्कलाई व्यवस्थित गर्न १८ लाखको बजेट विनियोजन गरिसकेका छौं । वैशाखसम्ममा बसपार्क ढलान गर्ने योजना छ । साथै मिनीबस सेवा समितिसँग समन्वय गरी अगाडि बढ्ने हामीले सोचेका छौं । 

तपाईँको वडामा भक्तपुर नगरपालिकाले सञ्चालन गरिराखेको शिशु स्याहार पनि छ । शिशु स्याहारमा राम्रो व्यवस्थापनका लागि के कस्तो योजना बनाइरहनुभएको छ ? 
अरु नगरपालिकाको तुलनामा यो शिशु स्याहार अलि अव्यवस्थित देखिन्छ । गत वर्षभन्दा यो वर्ष शिशुको संख्या वृद्धि भएको छ । त्यसैले अहिले ठाउँको समस्या देखेको छ । त्यसैले अहिले यो शिशु स्याहारलाई अन्त सार्ने योजनामा छौं । 

यहाँं भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिको संयोजक पनि हुनुहुन्छ, समग्र नगरको खेलकुद विकासका लागि के–कस्तो योजना बनाइरहनुभएको छ ? 
खेलकुद क्षेत्रलाई पनि अगाडि बढाउने काम गर्दै आएको छु । भक्तपुरमा अहिले पाँच खेलको प्रशिक्षण दिइराखेका छौं । थप जिम्यास्टिक खेलको प्रशिक्षण सुरु गर्ने योजना छ । भक्तपुर नगरवासीलाई स्वस्थ बनाउने योजना छ । साथै गत वर्ष पाँच वटा र यो वर्ष १३ वटाको प्रतियोगिता गराइसकेका छौं । युवालाई उच्च प्रशिक्षण र प्रतियोगिता दिइराखेकै छौं । हामीले अन्तरनगर प्रतियोगिता गरेका थियौं । प्रत्येक वडामा फिजिकल फिटनेसका सामान पाँच वडामा राखिसकेका छौं । अब पाँच वडामा राख्न बाँकी छ  । सामान आइसकेका छन्, यसलाई राख्ने काम मात्र बाँकी छ । शारीरिक, मानसिक, बौद्धिक विकासका लागि खेलकुद अत्यन्त आवश्यक छ । निःशुल्क प्रशिक्षण, सामाग्री पनि नगरपालिकाले गर्दै आएको छ । यसमा अधिकांश महिला नै सहभागी हुने, साथै विद्यार्थीहरू नै आउँने गरेको देखिन्छ । महेश्वरी र सहिद स्मृति खेल मैदानलाई व्यवस्थित गरिरहेका छौं । 

प्रकाशित: २४ फाल्गुन २०७५ ०६:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App