coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा

पोखरा - पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्यवासिनी मन्दिरमा लिफ्ट सेवा सञ्चालनमा आएको छ। मन्दिर प्रांगणमा आयोजित एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले लिफ्टको बिहीबार समुद्घाटन गरिन्। उक्त लिफ्ट प्रतिष्ठित घराना कम्पनी लक्ष्मी ग्रुप र हुन्डाई कम्पनी कोरियाको सहयोगमा निर्माण गरिएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले जनाएको छ। लिफ्ट निर्माणमा करिब एक करोड खर्च भएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए।

मन्दिरको उत्तर पूर्वी क्षेत्रमा लिफ्ट निर्माण गरिएको हो। आठ महिना लगाएर निर्माण गरिएको लिफ्ट ६० फुट अग्लो छ। लिफ्ट ६ सय ८० केजी तौल क्षमताको रहेको सदस्य सचिव श्रेष्ठले जानकारी दिए। एकैपटक १० जनासम्म चढ्न मिल्ने लिफ्टमा हाल ६ जनाबाट सेवा सञ्चालन गरिने उनले बताए। पछि बिस्तारै १० जनासम्म चढ्ने मिल्ने गरी खुला गरिने उनको भनाइ छ। जेष्ठ नागरिक, असक्त, अपांगता भएकालाई लक्षित गरी लिफ्ट सञ्चालनमा ल्याइएको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले बताए। त्यस्तै तिनका सहयोगीले पनि प्रयोग गर्न पाउने उनले जानकारी दिए। तर सबलांगलाई लिफ्ट सेवा दिने कि नदिने भन्नेबारे समितिले निर्णय नगरिसकेको उनले बताए।

जेष्ठ नागरिक, असक्त तथा अपांगता भएकाको मन्दिरमा आगमन र उनीहरुले गर्ने लिफ्टको प्रयोगका आधारमा सबलांगलाई लिफ्ट प्रयोग गर्न दिने कि नदिने भन्ने निर्णय गरिने उनले प्रष्ट्याए। जेष्ठ नागरिक, असक्त, अपांगता भएकालाई निःशुल्क लिफ्ट सेवा दिइने तर सबलांगको हकमा उनीहरुलाई पनि सेवा दिइएको खण्डमा सशुल्क हुनसक्ने उनको भनाइ छ। लिफ्टको माथिल्लो बिन्दुमा टावरसमेत निर्माण गरिएकाले सो ठाउँबाट दृश्यावलोकनसमेत गर्न सकिने समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिए। उनका अनुसार लिफ्टको माथिल्लो भागबाट माछापुच्छ्रे हिमालसहित अन्नपूर्ण हिम शृंखला प्रष्ट देखिन्छ। लिफ्टको  तल र माथि दुवै ठाउँमा २०–२० जना अटाउने प्रतिक्षालय बनाइएको छ। जहाँ तीर्थयात्रीहरुले केहिबेर आरामसमेत गर्न मिल्ने उनले बताए।

लिफ्ट सञ्चालनसँगै भक्तजन बढ्ने विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको विश्वास छ। अपांगमैत्री सेवा नहुँदा जेष्ठ नागरिक, असक्त तथा अपांगता भएकाहरु मन्दिरमा नआउने गरेकाले लिफ्ट सेवा सञ्चालनसँगै ती धार्मिक पर्यटक पनि बढ्ने समितिको विश्वास छ। मन्दिरमा लिफ्ट निर्माण नेपालमै पहिलो भएको समितिका सदस्य सचिव श्रेष्ठले दाबी गरे। उनले भने, ‘मन्दिरमा लिफ्ट निर्माण गर्ने नेपालकै पहिलो सौभाग्य हामीलाई मिलेको छ।’ कार्यक्रममा लिफ्ट निर्माणमा सहयोग गरेका लक्ष्मी ग्रुप र कोरियाको हुन्डाइ कम्पनीलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७५ ०५:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App