४ वैशाख २०८१ मंगलबार
अन्य

सम्झौता सकियो, निर्माण सकिएन

धोवीखोला करिडाेरमा राखिएकाे ग्राभेल। तस्बिर : काष्ठमण्डप

अनामनगरस्थित धोवीखोलाको आरसिसी टिबिम पुल निर्माण रोकिएपछि स्थानीयले पैदल हिँड्ने पुल बनाउन माग गरेका छन् । सम्झौता सकिँदा पनि पुल निर्माण पूरा नभएपछि उनीहरूले पैदल पुलको माग गरेका हुन् ।

पटक–पटक काम रोकिएपछि पुल निर्माण सम्पन्न नहुँदा समस्या झेल्नुपरेको स्थानीयको गुनासो छ ।  पुल बनाउन सरोकारवाला निकायले बेवास्ता गरेपछि सर्वसाधारण मात्रै हिँड्नको लागि भए पनि पुल बनाउनुपर्ने स्थानीय सरिता गुरुङले बताइन् । ‘निर्माण सुरु भएको यतिका वर्ष बित्दा पनि पुल बन्न सकेको छैन,’ उनले भनिन, ‘पुल निर्माण नहुँदा हामीले थुप्रै समस्या भोग्नुपरेको छ । पुल निर्माण कार्य रोकिएको ९ महिना हुँदा समेत सुचारु हुन सकेको छैन । त्यसैले पुल नबने पनि मान्छे मात्रै हिँड्ने पुल बनाउनुपर्छ ।’ 

उनका अनुसार उक्त पुल नबन्दा धोबी खोला पार गर्नलाई करिब एक सय मिटरको बाटो हिँडेर अर्को पुलमा पुगी खोला पार गर्नुपर्छ । कुनै काममा जाँदा पनि समयमा पुग्न सकिँदैन । पुलको निर्माण सामग्री जथाभावी राखेपछि सर्वसाधारण ओहोरदोहोर गर्न सकेका छैनन् । पहुँचवालाको मिलेमतोमा पुल निर्माण हुन नसकेको उनी बताउँछिन् । ‘पुल नबन्दा दुई मिनेटमा खोला पार गर्न सकिने बेलामा घुमेर आठ मिनेट जति लाग्छ । पैदल पुलमात्रै बनाए पनि ओहोरदोहोर गर्न सहज हुन्छ । सवारी साधनको लागी अरु पुल भएकोले त्यहाँ सवारीको लागि पुल नै चाहिँदैन,’ उनले थपिन् । 

पुल निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको मदन भण्डारी मेमोरियल कजेजमा अध्ययन गर्दै आएका अर्का अनिता लामा बताउँछिन् । ‘वषौँ बित्दा पनि अझै यो पुल निर्माण हुन सकेन,’  उनले भनिन्, ‘कलेज जाँदा–आउँदा जहिले पनि करिब दुई सय मिटर हिँडेर आउनुपर्छ । त्यसैले समयमा कलेज पुग्न सकिँदैन ।’ उक्त पुल निर्माणमा पुलको पिलरबाहेक अरु केही काम भएको छैन । फलामका डन्डी सबै खिया लागेको छ । ती फलाम अस्तव्यस्त छन् । तर, संरक्षणमा कुनै सरोकारवाला निकायले चासो देखाएका छैनन् । निर्माण सामग्री आउनमा ढिलाई भएको भन्दै गत असार महिनादेखि काम रोकिएको छ ।

डिभिजन कार्यालयका अनुसार उक्त पुल निर्माणको लागि २०७२ साउन २१ गते नै भण्डार थोडुङ/जि.टेक जे.बी कम्पनीसँग करिब ३ करोड २ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । ०७३ माघ सम्ममा निर्माण सकाउने सम्झौता भए पनि उक्त समयमा निर्माण हुन नसकेपछि निर्माणको लागि डेढ वर्ष थप समय राखिएको थियो । थप समय सकिँदा बल्ल ४० प्रतिशत काम सकिएको छ ।

सडक डिभिजन कार्यालयका सवइन्जिनियर रामचन्द्र मिश्रले र नागरिककर्मीसँग  इन्डियाबाट बेरिङ लगायत अन्य निर्माण सामग्री ल्याएपछि तत्काल काम थालिने बताएका थिए । तर, अहिले सम्म पनि निर्माण कार्य सुचारु हुन सकेको छैन । निर्माण सामग्री नआएको र ठेकेदारको ढिलासुस्तीले पुल निर्माणमा ढिलाइ भएको उनले बताएका थिए ।  उनका अनुसार ठेकेदार कम्पनीले पुलको पाएल राख्नमै डेढ वर्ष लगाएको थियो । त्यसैले पनि सम्झौता अनुसार काम हुन सकेन । वर्षा याममा पानीले पुरै धोबी खोला भरिने भएकोले निर्माण कार्य समेत रोकिएको थियो । 

यस विषयमा थप बुझनको लागि सडक डिभिजन कार्यालयका प्रमुख कैलास श्रेष्ठलाई फोन गर्दा उनले रिसिभ गरेनन । उक्त पुलको लम्बाई १२ मिटर र चौडाई ९.७५ मिटर रहने छ । पुलमा गाडीवारपारको लागि एप्रोज रोड, बिम लगायत अन्य कार्यहरु बाँकी छ । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App