४ वैशाख २०८१ मंगलबार
अन्य

कमलविनायक–नगरकोट सडक विस्तारमा ढिलाई, कालोपत्रे नसकिँदै खाल्डाखुल्डी

कमलविनायक—नगरकोट सडकखण्डको आर्मी ब्यारेक नजिकैको सडक।

भक्तपुरको कमलविनायकदेखि पर्यटकीय आकर्षणस्थल नगरकोट पुग्ने विस्तारित सडकमध्ये झण्डै दुई किलोमिटर सडकखण्ड मात्रै कालोपत्रे भएको छ । कमलविनायकदेखि आर्मी ब्यारेकसम्मको सडक विस्तार गरी कालोपत्रेसमेत भएको हो । कालोपत्रे सकेको सडकखण्ड पनि निर्माण सम्पन्न नहुँदै बिग्रिसकेको छ । सडकमा जताततै खाल्डाखुल्डी देखिएका छन् भने धुलो उड्ने थालेको छ । 

भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक विस्तारको क्रममा काम सम्पन्न भएको सडकखण्डदेखि त्यसभन्दा माथि नगरकोटतिरको सबै सडक भने निर्माणाधिन छ । कालोपत्रे गरिसकेको सडक भन्दा माथिको नगरकोटतिरको विस्तारित सडकमा भने अहिले ग्राभेलिङको काम सम्पन्न भएको छ । 

चार मिटर फराकिलो चौडाइको दुई लेनको सडकलाई हाल सात मिटरको चार लेन फराकिलो गरी कालोपत्रे बनाउने योजना चलिरहेको छ । तर, त्यो कछुवा गतिमा छ । अहिले सडकका ठाउँठाउँमा नाली निर्माण गर्ने अनि ग्राभेलिङको काम भइरहेको छ ।

सडक विभागअन्तर्गत भक्तपुर–नगरकोट– सिपाघाट सडक विस्तार योजनाले २८ करोडको लागतमा विस्तार गरिरहेको छ । पहिलो चरणमा भक्तपुर–नगरकोट जाने सडक विस्तार सुरु गरेको हो । सडक साँघुरो हुँदै गएको, सडक मिचेर घर टहरा, पसल निर्माण विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरितको घरटहरा भत्काउँदै दुई वर्ष अगाडिबाट सडक विस्तार गर्न सुरु गरेको थियो । पहिलो चरणको योजनापछि नगरकोटबाट करिव २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ । 

उक्त सडक भएर दैनिक यात्रा गर्नुपर्ने बताउने विपना लामाले बनाउन बाँकी सडकभन्दा बनिसकेको सडक झन् खत्तम भएको बताइन् । ‘यो खुलेआम सवैले देख्ने खुला भ्रष्टाचारको ज्वलन्त उदाहरण हो,’ उनले भनिन्, ‘सडक विस्तारको काम सम्पन्न हुन पाएको छैन सम्पन्न सडक खण्डको सवै सडक पूरै बिग्रिसकेको छ ।’ काम सम्पन्न भएको सडकखण्ड अहिले पूरै कालोपत्रे विग्रेर पाइलैपिच्छे खाल्डाखुल्डी परेको छ । ग्राभेल जस्तो कालोपत्रे नै देखिन छाडेको निर्माण सम्पन्न सडकमा सवारीसाधन गुड्दा धुलो उडेर स्थानीय हैरान छन् । 

यो सडकको सुरुको केही भाग भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्रमा पनि पर्छ । भक्तपुर नगरपालिका वडा नं १० का वडाअध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले सडक निर्माण छिटो सकाउन ताकेता गर्दै गरे पनि कुनै सुनुवाइ हुन नसकेको जनाए । ‘यसका लागि सडक विभाग धेरै पुग्यौ । तर, कसैबाट केही वास्तै भएन, सवैतिरबाट एकअर्कालाई पन्छाउने काम मात्रै पायौं,’ उनले नागरिकसँग भने, ‘केन्द्रीयस्तरको योजना भएकाले हाम्रो आवाजको कसैबाट सुनुवाई नै भएन ।’

सडककै कारण नगरकोट पुग्ने बाह्य पर्यटकको संख्यामा कमी आएकोमा होटल व्यवसायीको भनाइ छ । भूकम्पमा भत्के, चर्केका होटलहरूसमेत पुनर्निर्माण र मर्मतपछि पुनः सञ्चालनमा ल्याए पनि अपेक्षाकृत पर्यटक नगरकोट आइनपुग्दा व्यवसायीहरू चिन्तित बनेका हुन् ।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले सडकको दुरावस्थाका कारण पयर्टक न्युन हुँदा होटेल व्यवसायी पीडित बनेको सुनाए । नगरकोटमा रहेका करिब चार दर्जन ठूला तथा साना होटलले मौसममा दैनिक करिब ५० लाख रूपैयाँसम्म कारोबार गर्ने नगरकोट नाल्दुम पर्यटन विकास समितिको तथ्यांक छ । तर, सडकको दुरावस्थाले अहिले उक्त कारोबार आधाले कमी आएको समितिले जनाएको छ । नगरकोटका होटलले दैनिक करिब आठ सय पर्यटक त्यहाँ बसाउने क्षमता राख्छन् ।

तीन वर्ष अघिदेखि फराकिलो बनाउन थालिएको सडकको अहिलेसम्म कुनै प्रगति भएको देखिएको छैन । एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडकको निर्माण आर्थिक वर्ष २०७२÷७३ भित्र सम्पन्न गरिसक्ने योजना थियो । तर, हालसम्म सकेको दुई किलोमिटर सडकको अवस्था पनि निर्माण गर्न बाँकी भन्दा दुरुअवस्थामा छन् । आरामाली इन्फ्रा पावर लिमिडेट र शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रूपमा सडक निर्माणको जिम्मा पाएको थियो । सडक विभाग अन्तर्गतको भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार योजना अन्तर्गत काम भएको हो । 

सडक विभाग चाकुपाट पाटनढोका ललितपुरका सहायक सूचना अधिकृत एवं सहायक प्रवक्ता अर्जुन सुवालले जतिसक्दो छिटो काम सकाउने योजना आफूहरूको रहेको सुनाए । सडक विभाग सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रवक्ता रमेश पौडेलले यथाशक्य छिटो काम सकाउन कन्ट्याक्टरलाई ताकेता गर्दै आएको जनाए । सडक विस्तार योजनाकी निमित्त प्रमुख सरला न्यौपाने काम सकेको दुई किलोमिटर सडक खाल्डैखाल्डा परेर बिग्रेकाले पुनः कालोपत्रे गर्न लगाउने बताइन् । 

भक्तपुरबाट नगरकोट पुग्ने मुख्य सडक जीर्ण भए पनि काठमाडौं र भक्तपुरकै अर्को बाटो भएर नगरकोट पुग्न सकिन्छ । तर, ती सडक पनि जीर्ण भएका कारण पर्यटक बोक्ने ठूला तथा साना गाडी उक्त सडक भएर जान मान्दैनन् । भक्तपुरको भत्केको पाटीबाट सुडाल–जीतपुर–थाकलमठ– कलमसी हुँदै नगरकोट टावर भएर नगरेकाट पुग्ने वैकल्पिक सडक पनि जीर्ण छ ।चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटका वडा अध्यक्ष शान्तबहादुर बाइबाले पहुँचवालासँगको ठेकदारको नजिकको सम्बन्धले आफूहरुको ताकेताको बेवास्ता हुँदै आएको जनाए । ‘अब हामी सबै मिलेर छिटो बनाइदिनुपरयो भनी संयुक्त ज्ञापनपत्र बुझाउन जाने योजनामा छौं,’ उनले नागरिकसँंग भने । 

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App