coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्थानीय स्तरबाट प्याराग्लाइडिङ सञ्चालनमा ल्याईँदै

चौतारा–साँगाचोकगढी नगरपालिकाको कदमवासमा प्याराग्लाइडिङको परीक्षण गरिँदै। तस्बिर : नागरिक

सिन्धुपाल्चोक - सदरमुकाम चौतारा नजिकै स्थानीय स्तरबाट साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा ल्याइने भएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा यसै सातादेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन लागिएको हो।

लामाचौर प्याराग्लाइडिङ तथा ह्याङ्ग्लाइडिङ संघ गठन गरेर स्थानीयले उडानको आवश्यक तयारी पूरा गरेका छन्। संघका सचिव मिलन पाख्रिन तामाङले शनिबार प्याराग्लाइडिङको औपचारिक उद्घाटन गरिने बताए। उनका अनुसार परीक्षण उडान सफल भएपछि प्याराग्लाइडिङको औपचारिक सुरुवात गरेर त्यसलाई व्यावसायिक रुपमा अघि बढाउन स्थानीय हौसिएका छन्।

सचिव तामाङले नै प्याराग्लाइडिङ सुरुवातको नेतृत्व गरिरहेका हुन्। गत फागुन ५ गते तीनटा ¥याडर उडान गरेर प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो। ‘घरैपिच्छे चन्दा संकलन गरेर प्रारम्भिक लगानी झन्डै आठ लाख रुपैयाँ संकलन गरेका छौं,’ उनले नागरिकसँग भने। यहाँ प्याराग्लाइडिङ सञ्चालनमा ल्याउन दुई वर्ष अघिदेखि प्रयास थालिएको थियो।

नगर प्रमुख अमानसिंह तामाङले प्याराग्लाइडिङको औपचारिक सुभारम्भ गर्दै छन्। सञ्चालकले प्याराग्लाइडिङको रुट निर्धारण गरिसकेका छन्। कदमवासको लामाचौरबाट सुरु हुने उडान सुनकोसी गाउँपालिका, पाखरडाँडा हुँदै दोलखा जिल्लामा पर्ने धार्मिक पर्यटकीय क्षेत्र कालिञ्चोक र आसपास पुगेर फर्केपछि पुनः कदमबासकै सिरानचौरमा अवतरण हुने अभियन्ता तामाङले बताए।

‘यो रुटको उडान बढीमा ३५ मिनेटको हुने अनुमान गरेका छौं,’ उनले भने, ‘प्याराग्लाइडिङ गर्न प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेका छौं।’ ब्रम्हायणी, सुनकोसी नदी, स्थानीय ग्रामीण परिवेश, जुगल र गौरीशंकर हिमशृंखलाका साथै कालिन्चोक क्षेत्र नियाल्न सकिने उडान साँच्चिकै रोमाञ्चक हुने संघको विश्वास छ। उडान भर्नका लागि सञ्चालकले पोखरामा काम गरिरहेका अनुभवी पाइलटको व्यवस्था गरिसकेको जनाएका छन्। एकल र तीनदेखि पाँच जना क्षमताको रहने ¥याडर आवश्यकता अनुसार थप्दै जाने योजना उनीहरुले अघि सारेका छन्। उद्घाटन दिन मात्रै झन्डै १० वटा ¥याडर उडाउने तयारी छ। ‘ प्याराग्लाइडिङ  प्रवद्र्धनका लागि उक्त दिन आयोजक र चन्दा दातालाई निःशुल्क उडाउने तयारी गरेका छौं,’ सचिव तामाङले भने।

संघले उद्घाटनलाई विशेष बनाउन प्याराग्लाइडिङ प्रतिस्पर्धा नै गराउने तयारी गरेको छ। उसका अनुसार निर्धारित रुट घुमेर पहिला फर्कने तीन -याडर र पाइलटलाई क्रमशः १५, १० र पाँच हजार रुपैयाँ पुरस्कार दिइने छ। राजधानी नजिकको कदमवास र आसपास क्षेत्र पर्यटकीय गन्तव्य भएकाले प्याराग्लाइडिङले व्यवसायिक रुप लिनेमा स्थानीय विश्वस्त छन्। कदमवासमूनि भएर बहने सुनकोसी, भोटेकोसी नदी साहसिक खेल ¥याफ्टिङका लागि चर्चित छन्। भोटेकोसीकै लाष्ट रिसोर्टमा अर्को साहसिक खेल बन्जी जम्प सञ्चालनमा छ। सुनकोसीदेखि भोटेकोसी नदीसम्म अरनिको राजमार्ग क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरेर दर्जनौंको संख्यामा रिसोर्ट, लज तथा होटल खुलेका छन्। ‘यहाँ आउने पर्यटकलाई प्याराग्लाइडिङसम्म तान्ने रणनीति बनाएका छौं,’ संघका अध्यक्ष अमरबहादुर कामीले भने।

प्याराग्लाइडिङ सञ्चालनमा तयारी गरेको संघलाई कम्पनीमा रुपान्तरण गरेर स्थानीयले दर्ता प्रक्रियासमेत अघि बढाइसकेका छन्। कदमवास हुँदै ठोकर्पा, कालिका, र साँगाचोकको आसपास उडान भरेर प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो। दुई हजार फिटसम्म उचाइमा ¥याडर पु¥याइएको थियो।

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App