७ वैशाख २०८१ शुक्रबार
अर्थ

थप म्याद गुज्रिँदा पनि विमानस्थल अधुरै

कालोपत्रेमा ढिलासुस्ती भएको लामीडाँडा विमानस्थल अनुगमन गर्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई लगायत । तस्बिर: नागरिक

खोटाङ – थप भएको म्याद गुज्रिँदासमेत खोटाङको लामीडाँडा विमानस्थल कालोपत्रेको काम पूरा हुन सकेको छैन। २०७४ माघ १६ गतेसम्मको म्याद गुज्रिएपछि थप भएको ७ महिना बित्दा पनि कालोपत्रेको काम ८० प्रतिशत मात्र पूरा भएको छ। लामीडाँडा गाउँपालिका–३ लामीडाँडास्थित विमानस्थल कालोपत्रेको कामका लागि पहिलोपल्ट थप गरिएको म्याद गुज्रिएको पनि ६ महिना बितिसकेको थियो।

सुरुको सम्झौता म्याद २०७४ माघ १६ गते नै गुज्रेपछि थप भएको सात महिनाको म्याद पनि गत २०७५ असोजमै गुज्रिसकेको छ। थप भएको म्याद पनि नाघेको ६ महिना बित्दा समेत विमानस्थल कालोपत्रेका काम पूरा नहुनु दुःखद भएको स्थानीयको गुनासो छ। २०७४ माघ १६ गतेसम्ममा पूरा गर्नेगरी २०७३ मंसिर १७ गते सम्झौता गरिएको विमानस्थल कालोपत्रेका काममा निर्माण कम्पनीको ढिलासुस्ती देखिएको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए। सँगै ठेक्का लागेको खोटाङकै खोटेहाङ गाउँपालिका–४ बड्कादियालेस्थित थामखर्क विमानस्थल कालोपत्रेको काम पूरा भएपछि गत माघ २८ गतेदेखि सञ्चालनमा आइसकेको छ।

कुल पाँच सय ६० मिटर लम्बाइ भएको विमानस्थलको धावनमार्गमा पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइ कालोपत्रे गर्ने कामको जिम्मा ठेकेदार कम्पनी वाइएएन–एसएपी–सूर्य कन्स्ट्रक्सन जेभीले लिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणको ६ करोड ७६ लाख ९३ हजार लगानीमा विमानस्थल कालोपत्रेका लागि अपग्रेडका काम थालिएको हो। तर, ठेकेदारको ढिलासुस्तीका कारण सँगै सम्झौता भएको विमानस्थल कालोपत्रेको काम सकिँदा खोटाङको सबैभन्दा पुरानो विमानस्थल लामीडाँडा अझै अधुरो रहेको छ।

सञ्चालनमा आएको ४६ वर्षपछि कालोपत्रे गर्न थालिएको लामीडाँडा विमानस्थलमा कालोपत्रेको कामकै लागि झन्डै दुई वर्षदेखि उडान बन्द छ। उडान बन्द हुँदा स्थानीय मारमा परेका छन्। लामीडाँडामा उडान रोकिँदा स्थानीय होटल, पशल तथा व्यपार व्यवसाय समेत ठप्प जस्तै बनेको छ। २०७३ साल मंसिरमा सम्झौता गरे पनि ठेकेदार कम्पनीले ढिलागरी २०७४ वैशाखबाट मात्र लामीडाँडा विमानस्थल कालोपत्रेका विभिन्न चरणका काम थालेको थियो।

विमानस्थलको थप काम आगामी चैतसम्ममा पूरा गर्नेगरी काम भइरहेको नेपाल नागरिक उड्यान प्राधिकरणका साईड सुपरभाईजर राजकुमार पाठकले दाबी गरे। ‘दुई सय मिटर पिच भइसकेको छ। बाँकी पिचको काम महिना दिनमै सक्ने लक्ष्य छ,’ साईड सुपरभाईजर पाठकले भने, ‘विमानस्थलको बाँकी रहेको साईडको जमिन सम्याउने काम पनि सँगै पूरा गरिने छ।’ गाउँपालिकाले दुधकोसीको गिटी–ढुंगा निकाल्नमा रोक लगाएको र प्रकृया पूरा गरेर निकाल्दा विमानस्थलको काममा ढिलाइ भएको निर्माण कम्पनीको दाबी छ। यसबाहेक निर्माण सम्बन्धी कामकाक्रममा खोलाको पानी ल्याउनमा समेत केही स्थानीयको अवरोध आउने गरेको ठेकेदार कम्पनीले जनाएको छ।

२०२८ सालदेखि सञ्चालनमा आएको विमानस्थल खोटाङका तीन वटा विमानस्थलमध्ये सवैभन्दा पुरानो विमानस्थल हो। लामीडाँडा विमानस्थल खोटाङ बाहेक त्रि–धार्मिकस्थल हलेसी आउने–जाने दर्शनार्थी तथा पर्यटकले उपयोग गर्ने गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा निर्माण गरिएको खानीडाँडा विमानस्थल सञ्चालनमा आउनुअघि व्यस्त रहने लामीडाँडामा हाल यात्रुको चाप घटेको छ। लामीडाँडा विमानस्थल कालोपत्रे भएपछि लामीडाँडा गाउँपालिका, ऐसेलुखर्क गाउँपालिकाका तथा छिमेकी जिल्ला ओखलढुंगाका स्थानीय समेत लाभान्वित हुने छन्।

ढिलासुस्तीमा अनुगमन
लामीडाँडा विमानस्थल कालोपत्रेका काममा चरम ढिलासुस्ती भएको गुनासोपछि मंगलबार अनुगमन गरिएको छ। सुरुको म्याद नाघेपछि पुःन थप भएको म्यादभित्र पनि विमानस्थल कालोपत्रेको काम पूरा नभएपछि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई, जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबी चामलीङ, रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौला, कांग्रेस महासमिति सदस्य सुवासकुमार पोखरेल लगायतको टोलीले अनुगमन गरेको हो। अनुगमनकाक्रममा विमानस्थल कालोपत्रेको कामको काममा चरम ढिलासुस्ती भएको र पूरा भएको कामको पनि ‘फिनिसिङ’ राम्रो नभएको पाइएको प्रतिनिधिसभा सदस्य भट्टराईले बताए।

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App