coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कुचो उत्पादन आधा घट्यो

इलामको बिब्ल्याँटेमा आइतबार विक्रीका लागि राखिएको कुचो। तस्बिर : भीम/नागरिक

इलाम - भरपर्दाे आम्दानी दिइरहेको कुचो उत्पादन आधाले घटेपछि हजारौं किसान समस्यामा परेका छन्। गत वर्षहरूमा भाउ नआएकाले खेती विस्तारमा किसानलाई उत्साह नजागेपछि यो वर्ष कुचो उत्पादन आधा भएको हो। उत्पादन घटेपनि माग मूल्य भने यो वर्ष झन्डै दोब्बर भएको छ। तर, किसानसँग कुचो नै नभएकाले बजारमा यसको कारोबार थोरै मात्र भइरहेको छ। तीन वर्षअघि सय रुपैयाँ प्रतिकिलोसम्म पुगेको कुचोको भाउ पोहोर यहीबेला प्रतिकिलो ३० रुपैयाँ थियो। तर, यो वर्ष उत्पादन कम भएपछि मूल्य बढेर ५० रुपैयाँ पुगेको छ।

व्यापारीहरूका अनुसार यो सिजनको सुरुमै कुचो प्रतिकिलो ४० रुपैयाँले खरिद भएको थियो। ‘सधैंभन्दा कुचोको उत्पादन यो वर्ष ढिलो भयो,’ नगदेबालीमा जिल्लाकै मुख्य व्यापारिक केन्द्र मानिने बिब्ल्याँटे बजारका व्यापारी कृष्ण पौडेलले भने, ‘गाउँबाट ८० प्रतिशतभन्दा बढी कुचो बजार आइसक्यो।’ उनले गाउँबाट आएको कुचो यो वर्ष व्यापारीको गोदाममा बाँकी नरहेको पनि जनाए। ‘गतवर्षहरूमा कुचो पछिसम्म स्टक राख्दा मूल्य घटेर एकै व्यापारीलाई २ करोड रुपैयाँसम्म घाटा भएको थियो,’ उनले भने, ‘यो वर्ष त स्टक राख्ने कुचो नै छैन।’ उनले जिल्लाका सबैजसो बजारमा अहिले कुचोको कारोबार ज्यादै कम भइरहे पनि मूल्य भने राम्रो रहेको जनाए।’ व्यापारीहरूका अनुसार बिब्ल्याँटे बजारबाट मात्रै बर्सेनि ४ करोड रुपैयाँभन्दा बढीको कुचो निर्यात हुन्छ। यहाँबाट झापाको धुलाबारी हुँदै भारतको सिलिगुडी, बेङ्लोरलगायत सहरमा इलामको कुचो पुग्ने गरेको छ।

पाखोबारीमा रोपेर राम्रो आम्दानी हुने कुचोको भाउ बर्सेनि कम हुने गरेकाले किसान समस्यामा छन्। कुचो उत्पादन बर्सेनिजसो घटिरहेको र अम्लिसोको बोट पनि मासिएकाले घाटा लागिरहेको किसान बताउँछन्। ‘पोहोर कुचोले पूरै घाटा लगायो,’ माइजोगमाई गाउँपालिकाका किसान बुद्धवीर लिम्बूले भने, ‘पोहोरदेखि अम्लिसो मासेर अरू नै खेती गर्न थालियो, यो वर्ष चाहिँ कुचोको पनि भाउ राम्रो छ तर उत्पादन आधा पनि छैन।’ फाकफोकथुम गाउँपालिकाका टंक नेउपानेले पनि यो वर्ष कुचो उत्पादन ज्यादै कम भएकाले आम्दानी हुन नसकेको जनाए। ‘यो वर्ष कुचो ज्यादै ढिलो फुल्यो, त्यो पनि आधाजति अम्लिसोमा कुचो आयो, आधाजसो फुल्दै फुलेन।’

तर, वस्तुभाउलाई घाँस खुवाउन, यसको डाँठ दाउरा बाल्न र फूल बेच्न हुने भएकाले किसानले अम्लिसो मासिहाल्न भने सकेका छैनन्। कुचो उत्पादन घट्दा धेरै किसानको भरपर्दाे आयस्रोत हराउँदैछ। अलैंची र अदुवाको भारतीय बजार अनिश्चित भइरहेका बेला कुचोको आम्दानीले किसानलाई घरखर्चमा सघाएको थियो। मौसम नै नमिलेको र चिसो बढदा कुचो उत्पादन कम हुने किसान बताउँछन्। अम्लिसोमा बोट र पात रातो हुने, गुभोबाट कुचो नै ननिस्किने रोग पुरानै भएकाले पनि कुचो उत्पादन घट्दै गएको हो। ‘हावापानी नमिलेकाले नै कुचो उत्पादन घटेको हो,’ अर्का किसान चेतनाथ बराल भन्छन्, ‘परार सालभन्दा पोहोर अहिल राम्रो थियो, यो वर्ष आधारभन्दा धेरै नै घट्यो।’

जिल्लाका चिसापानी, नयाँबजार, फिक्कल, मंगलबारे, दानाबारी, तीनघरेलगायतका बजार र गाउँमा कुचो बिक्री हुन्छ। किसानले बजारसम्म ल्याएर कुचो बेच्ने गरेका छन्। कतिपय गाउँमा कुचो किन्न व्यापारी नै पुग्छन्। अम्लिसोलाई तीन तरिकाले उपभोग गर्न सकिने भएकाले यसबाट उति घाटा भने नहुने किसानको भनाइ छ। सुलुबुङका किसान सन्तोष मगरले अम्लिसोको फूल बेच्न, डाँठको पात घाँस र डाँठको दाउरा हुने भएकाले अम्लिसो खेती छाड्न पनि नसकिने बताए। खेती गरिएको बारीका काँल्ला, जंगल र पाखोबारीमा अम्लिसो उत्पादन हुन्छ। जिल्लामा २ देखि ७० मनसम्म कुचो उत्पादन गर्ने किसान छन्। जिल्लाको साढे ५ हजार हेक्टरमा अम्लिसो लगाइएको सरकारी तथ्यांक छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App