७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियाली कदम प्रमाणित भए ‘निराश’ हुने ट्रम्पको भनाइ

वासिङ्टन - उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण गरिरहेको भन्ने विषय पुष्टि भए त्यसले आफूलाई अत्यन्तै निराश पार्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । ध्वस्त पार्छौं भनेको रकेट प्रक्षेपण केन्द्र प्योङयाङले पुनर्निर्माण गरिरहेको भनेर देखिने खालको भूउपग्रहीय तस्बिर बुधबार प्रकाशित भएपछि राष्ट्रपति ट्रम्पको यस्तो धारणा बाहिरिएको हो । 

सोहाई भूउपग्रह प्रक्षेपण केन्द्र ध्वस्त पार्ने प्रक्रिया गत वर्ष सुरु भएको थियो । प्योङयाङको सो कदमलाई सहमतिको खाकाका रूपमा लिइएको थियो । एसियाली मुलुक भियतनाममा गत साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच दोस्रो शिखर बैठक कुनै सहमतिबिनै टुंगिएको थियो । 

बुधबार प्रकाशित भएको तस्बिरलाई सत्य हो भनेर अहिले नै भन्नु चाँडो हुने पत्रकारसमक्ष बोल्दै राष्ट्रपति ट्रम्पले बताए । ‘यदि उत्तर कोरियाले रकेट प्रक्षेपण केन्द्रको पुनर्निर्माण कार्य गरिरहेको रहेछ भने म निकै निराश हुने छु,’ प्योङयाङले परीक्षण केन्द्र पुनः निर्माण गर्न थालेको बारे बुधबार प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले पत्रकारहरुसमक्ष बताए । ‘यो रिपोर्ट भर्खरै आएको छ । यदि त्यस्तो भइरहेको हो भने म अध्यक्ष किमसँग निकै निराश हुने छु र मलाई लाग्छ त्यस्तो अवस्था आउने छैन तर के हुन्छ हामी हेर्छौं । हामी निश्चय पनि हेर्ने छौं । अन्ततः यसको समाधान निस्कन्छ,’ उनले बताए । 

लामो समयदेखि प्रतिक्षा गरिएको ट्रम्प–किमबीच गत साता भियतनामको हनोईमा भएको शिखर बैठक कुनै सहमतिबिनै सम्पन्न भएको थियो । प्योङयाङमाथि लाग्दै आएको प्रतिबन्धलाई केही खुकुलो पार्नुपूर्व उत्तर कोरियाले आणविक कार्यक्रमलाई कतिको कम गर्छ भन्नेमा कुरा नमिलेपछि दुई नेताबीचको बैठक बिना सहमति टुंगिएको थियो । 

उत्तर कोरियाको नयाँ स्याटेलाइट तस्बिरमा उसले यसअघि निष्क्रिय बनाउँछु भनेको तोङचाङ–री परीक्षण केन्द्रको सोहाई परीक्षणस्थलको सक्रिय बनाउन लागेको जस्तो देखिएको विश्लेषकहरुले बुधबार बताएका थिए । तोङचाङ–री परीक्षण केन्द्र यसअघि भूउपग्रह प्रक्षेपण र इन्जिनको परीक्षणका लागि प्रयोग भएको भए पनि ब्यालेस्टिक क्षेप्यास्त्रका लागि भने हालसम्म प्रयोग नभएको बिबिसीले उल्लेख गरेको छ । 

विभिन्न अमेरिकी थिंक ट्यांक र दक्षिण कोरियाली गुप्तचर निकायबाट आइरहेको स्याटेलाइट तस्बिरअनुसार उत्तर कोरियाले तीब्र गतिमा तोङचाङ–री परीक्षण केन्द्रस्थित सोहाई परीक्षणस्थलको पुनर्निर्माण कार्य गरिरहेको जस्तो देखिएको छ । गत जुलाईमा सार्वजनिक गरिएको तस्बिरमा उत्तर कोरियाले सो तोङचाङ–री परीक्षण केन्द्र ध्वस्त गर्ने कार्य सुरु गरेको देखिएको थियो । 

यद्यपि बिबिसीका अनुसार परीक्षण केन्द्रको पुनर्निर्माण कार्य गरेर प्योङयाङले आफूसँग हतियार बनाउन सक्ने प्रविधि रहेकोबारे वासिङ्टनलाई सम्झाउन चाहेको हुन सक्ने बताएको छ । उत्तर कोरियाले रकेट परीक्षण केन्द्र पुनर्निर्माण कार्य गरिरहेको तस्बिर बाहिरिएलगत्तै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनले यदि उत्तर कोरियाले आणविक निःशस्त्रीकरणको बाटोमा उल्लेखनीय प्रगति नगरे उसले थप प्रतिबन्धको सामना गर्नु पर्ने चेतावनी बुधबार नै दिएका थिए । 

बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीच सन् २०१८ को जुन १२ का दिन ऐतिहासिक पहिलो शिखर बैठक भएको थियो । सो बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरणका लागि वासिङ्टन र प्योङयाङबीच मिलेर काम गर्ने सहमति भएको थियो । सहमतिअनुसार उत्तर कोरियाले गत वर्ष नै तोङचाङ–री परीक्षण केन्द्र नष्ट गर्ने कार्य सुरु गरेको थियो । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App