coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकी सरकारविरुद्ध हुवावेद्वारा मुद्दा दायर

चीनको सेन्जेनस्थित हुवावेको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै हुवावे अध्यक्ष गुओ पिङ । तस्बिर : एजेन्सी

सेन्जेन - सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनियाँ कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजीको माग गर्दै मुद्दा दायर गरेको छ ।

हुवावेले आफ्ना उपकरणमार्फत चीन सरकारका लागि जासुसी गरिरहेको आरोप लगाउँदै अमेरिकाले हुवावेका सामग्री खरिदमा प्रतिबन्ध लगाइरहेको छ । जासुसीको आरोप खेपिरहेको हुवावेका सामानमाथि अमेरिकासहित विश्वका धेरै देशमा प्रतिबन्ध लगाइएको छ ।

हुवावेले अमेरिकाको टेक्सासको प्लानोस्थित जिल्ला अदालतमा सन् २०१९ को अमेरिकी प्रतिरक्षा कानुनविरुद्ध मुद्दा दर्ता गरेको जनाएको छ । सो कानुनअनुसार सरकारी निकायले हुवावेका उपकरण, सेवा वा हुवावेका ग्राहक रहेका अन्य निकायका सेवा खरिद गर्न प्रतिबन्ध लगाएको छ 

मुद्दा दर्तासँगै चिनियाँ कम्पनी हुवावे राजनीतिक, कानुनीसमेतका सबै विधि उपयोग गर्न अग्रसर भएको देखाएको छ । उच्च गतिको पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि (फाइभ–जी) विकास गरिसकेको हुवावेले आफू विश्व बजारमा महत्वपूर्ण प्रतिस्पर्धी हुन चाहेको संकेत पनि दिएको छ ।

‘हुवावेका उत्पादनमाथि प्रतिबन्ध लगाउनुपर्ने ठोस कारण र प्रमाण जुटाउन अमेरिकी संसद् पनि पटकपटक असफल भइसकेको छ । हामी कानुनी उपचार नै उपयुक्त र अन्तिम प्रयत्न हो भन्नेमा सोच्न बाध्य भएका छौं,’ हुवावेका अध्यक्ष गुओ पिङलाई उद्धृत गर्दै फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । ‘कानुनी झन्झट समाप्त गर्ने हो भने हुवावेले अमेरिकामा अझ समुन्नत प्रविधि भिœयाउने छ र उत्कृष्ट फाइभ–जी सञ्जाल निर्माणमा मद्दत गर्नेछ,’ उनले बताए । 

गुओले प्रतिबन्धका कारण भएको हानिनोक्सानीको यकिन विवरण नखुलाइएको बताए । ‘अमेरिकी सरकारले हुवावेलाई बदनाम गराउन कुनै कसर बाँकी राखेको छैन,’ सेन्जेनस्थित कम्पनीको मुख्यालयमा आयोजित गुओले पत्रकार सम्मेलनमा बताए । 
गुओले अमेरिकी सरकारले हुवावेको सर्भर ह्याक गरेको तथा इमेलहरु र ‘सोर्स कोड’ चोरी गरेको पनि दाबी गरे । यद्यपि उनले यस बारेमा विस्तृत विवरण दिन नचाहेको एएफपीले उल्लेख गरेको छ । 

अमेरिकी सरकारले हुवावेबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको जनाउँदै आएको छ । खासगरी हुवावेका संस्थापक रेन झेङफाई चिनियाँ सेनाका इन्जिनियर भएका कारण अमेरिकाले शंका जनाउने गरेको छ । हाल हुवावे विश्वकै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनी हुनुका साथै स्मार्टफोन उत्पादनमा सामसुङ र एप्पल कम्पनीलाई चुनौती दिइरहेको छ ।

चीनले हालै प्रयोगमा ल्याएको एक कानुनमा सबै चिनियाँ कम्पनीहरुले राष्ट्रिय सुरक्षामा सरकारलाई मद्दत गर्नुपर्ने व्यवस्था गरिएको छ । यो कानुनी व्यवस्थाले हुवावेका बारेमा थप चासो बढेको हो । संयुक्त राज्य अमेरिकाले हुवावेका उपकरण अरु देशका गतिविधि जासुसी गर्न चीनको कम्युनिस्ट सरकारले दुरुपयोग गर्न सक्ने बताउने गरेको छ । अमेरिकाले हुवावेको सेवा प्रयोगमा नल्याउन अन्य देशलाई पनि आह्वान गरेको छ । 

 

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App