coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन गरेर संविधान कार्यान्वयनलाई तीव्रता दिन उपराष्ट्रपतिको आग्रह

काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनले विजयादशमीको शुभअवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै देशविदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका छन्।

उपराष्ट्रपति पुनले आज दिएको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देशलाई प्रकृतिको सुन्दरतासँगै हाम्रा मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गरेका छन्।

सन्देशमा उनले धर्मनिरपेक्ष हाम्रो मुलुकमा सबै धर्म संस्कृतिका समुदायलाई आफ्नो धर्म संस्कृतिको संरक्षण एवम् सम्बद्र्धन गर्न पाउने अधिकार संविधानले प्रत्याभूत गरेको र असत्यमाथि सत्यको विजयको रुपमा मनाइने विजयादशमीसहित सबैखाले चाडपर्व नेपालीका साझा सम्पत्ति हुन् भनेका छन्।

उपराष्ट्रपतिले भनेका छन्– “हामीले अघिल्लो वर्षको दसैँ संविधान जारी गरेर मनाएका थियौँ। संविधान जारी पछिको दोस्रो दसैँ मनाउँदै गर्दा संविधान कार्यान्वयन प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन।”

उनले विजयादशमीको यो पावन अवसरले संविधान कार्यान्वयनको क्रममा देखिएका असन्तुष्टिलाई आपसी संवाद, सहमति र सहकार्यको माध्यमबाट सम्बोधन गर्दै विभिन्न तहको निर्वाचन गरेर संविधान कार्यान्वयनलाई तीव्रता दिन सबैलाई प्रेरित गरोस् भनी कामनासमेत गरेका छन्। रासस
 

 

प्रकाशित: २५ आश्विन २०७३ ०४:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App