coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

पछौटेपनको आत्मसमीक्षा

आज मार्च ८ अर्थात महिला दिवस। पत्रपत्रिका, रेडियो तथा टेलिभिजनका हरेक शब्द, सम्वाद, बहस, आलेख महिलामयी छन्। महिला पछाडि पर्नुका आर्थिक, सामाजिक तथा राजनीतिक करणबारे अन्तरक्रिया, बहस तथा गोष्ठी आयोजना भइरहेका छन्। पितृसत्ताका एक÷एक व्यवस्थाको चिरफार गरेर समाजमा महिलाको कमजोर उपस्थितिका कारण खोतलिँदै छन्। र, खासमा तिनै कारण प्रमुखरूपमा जिम्मेवार पनि छन् जुन आजको दिनमा मूलप्रवाहमा छलफल गरिन्छ। आर्थिक स्रोतमा महिलाको पहुँच भएन, पुँजीगत सम्पत्तिमा अधिकार भएन भनेर सरकारका नीति, कानुन, संस्थागत र संरचनागत व्यवस्थाको घनिभूत छलफल गरी  निष्कर्ष निकालिन्छन्।

प्रतिवेदन लेखिन्छन्। तिनै कारणको सदियौँदेखिको अभ्यासको परिणाम हुन सक्छ महिलाको आत्मविश्वास कमजोर, असुरक्षित मनस्थिति, समर्पणभाव र परनिर्भरता। तर आजको यो आलेखमा महिला उत्पीडनका बाह्य कारणहरूबारे मौन रही आफैँभित्रका कारण जसले गर्दा म र म जस्ता आइमाई मान्छे सामाजिक तथा सार्वजनिक जीवनमा लोग्ने मान्छे जति खरो उत्रिन सकेका छैनौँ। यही सेरोफेरोमा आजको छलफल केन्द्रित गर्नेछु। बहस गर्ने गरिएको मुख्य पाटोबाट थोरै अलग धारमा हामी महिलाले आफूलाई समाजमा प्रस्तुत गर्ने सामाजिक र मनोवैज्ञानिक व्यवहारको आत्मसमीक्षा गर्नेछु।

सद्गुरु ओशोले भन्नुभएको छ कि कोही व्यक्ति सफल÷असफल, सुखी वा दुःखी हुनुमा उसको आफ्नो कारण जिम्मेवार रहन्छ तर जीवनभर आफ्नो असफलताको दोष अरुलाई दिएर आफू उम्कन खोज्छ। जुन अत्यन्तै अधार्मिक प्रवृत्ति हो। भनिन्छ, मेरो सुख वा दुःखको कारण म आफैँ हुँ। तर म सधैँ मेरो दुःख या असफलताको कारण अरुलाई देखाएर झन दुःखी, अशान्त र प्रतिशोधपूर्ण भावनाले ग्रसित हुन्छु र झन झन दुःखको गहिराइमा डुब्दै जान्छु। जबसम्म मैले दुःख सम्झेको विषयमा आफ्नो वर्तमान भूमिका र भावी परिवर्तित भूमिकाको चिन्तन गर्दिन, आफूलाई परिवर्तन गर्दिन, तबसम्म कम्तीमा यो जीवनकालमा त्यो दुःखबाट छुटकारा पाउँदिन। अतः आज यस आलेखमार्फत म आफ्नै व्यवहार, मेरा आमा, काकी, दिदी बहिनी, भाउजू, बुहारीका व्यवहार जसले हामिलाई सधैँ सामाजिक जीवनको मूल प्रवाहमा समाहित हुनबाट रोकिरहेको छ, तिनैलाई केलाउने प्रयास गर्नेछु। यहाँ प्रस्तुत विचारको उद्देश्य महिलालाई एकोहोरो दोषारोपण गरेर पुरुष प्रधानताको सर्वस्वीकार्यता कदापि होइन्। बरु आफ्ना कमजोरी केलाएर पितृसत्तालाई हाँक दिन सक्ने उच्च मनोबलयुक्त महिलासहितको समानतामा आधारित समाज निर्माणको अभियानमा एउटामात्रै भए पनि इँटा थप्नु हो। अनि फेरि यहाँ प्रस्तुत विचारले सबैको प्रतिनिधित्व पनि गर्दैन्। केही प्रतिनिधि घटना तथा उदाहरणमार्फत मैले आफू र आफ्नै वर्गको कष्टकर जीवनको रहस्य खोतल्ने जमर्कोमात्र गरेकी छु।

मैले यी बालबच्चालाई कसरी एक्लै हुर्काउने ? के खुवाउने ? कसरी पढाउने ? म आफँै कसरी बाँच्ने? भन्ने अनुत्तरित प्रश्न नै हामीलाई हिंसा भोगिरहन प्रेरित गरिरहने तत्व हुन्।

केही समयअगाडि पत्रिकामा आएको एउटा समाचारले मलाई निकै पछिसम्म लखेटिरह्यो। तराई मूलकी एकजना महिलालाई उनका श्रीमान्ले गरेको हिंसाको समाचार थियो। श्रीमान्ले रक्सी पिएर आइ कुटेको, कुटिसकेर दुई घण्टा सुतेर उठेपछि फेरि कुटेको, श्रीमान्को पिटाइबाट ५ महिनाको गर्भ तुहिएको समाचार साँच्चै हृदयविदारक थियो। ती महिलाप्रति असिम सहानुभूति हुदाँहुँदै पनि मलाई एउटा कुराले घच्घच्याउन छाडेन्। रक्सी पिएर आएको लोग्ने एक त शारीरिकरूपमा कमजोर हुन्छ। आफूले थोरै प्रतिवाद गर्दा पनि जोगिन सकिन्छ। अर्को दुई घण्टा सुतेर अनि ब्युँझेर फेरि कुटुन्जेल घर÷परिवार छरछिमेक माइती÷मावली, प्रहरी÷प्रशासनमा हारगुहार÷हल्लीखल्ली गर्न वा भागेर ज्यान जोगाउन पनि त सकिन्छ। दुई दुई घण्टा ती महिला के गरेर बसिन् ? कतिबेला उठेर कुट्छ भनेर ढाड थापेरै बसिन् वा कुटाइ खानुलाई नै नियति सम्झेर पिटिनुमा अभ्यस्त भई प्रतिवादमा उदासीन रहिन्? त्यस्तो हुन्थ्यो भने हिंसाको समाचार नै किन आउँथ्यो ? मेरो विचारमा आफूलाई कमजोर देखाउनमै खुसी हुने, सहानुभूति पाउँदा रमाउने, अत्यधिक समर्पणभाव र कमजोर आत्मविश्वासका कारण हामी महिलाले भोग्नुपरेको हिसाको एउटा प्रतिनिधि घटनामात्र हो यो।

त्यसैगरी प्रायजसो महिलाहिंसाका समाचारमा दशकौँदेखि हिंसा भोगिरहेकी कुनै महिलाको हिंसाको घटना सार्वजनिक हुन्छ। अनि ती महिलाले रुँदै सार्वजनिकरूपमा भन्छिन् कि मैले बालबच्चा, घरपरिवार र समाजका लागि यतिका वर्ष हिंसा खपेर बसेँ। के त्यो त्याग साँच्चै बालबच्चा र समाजका लागि मात्र थियो त ? तीन÷चार दशकसम्म के एकै दिन पनि उनले त्यहाँबाट उम्कने मौका पाइनन् वा निस्किनै चाहिनन् ?  समाज वा बालबच्चामात्र कारण हुन्थ्यो भने गरिबी र हिंसापीडित कतिपय महिला भोगिरहेको जीवनभन्दा कुनै सुखको संकेत पाए भने घरभरि बालबच्चा छाडेर दोस्रो विवाह गरेका वा आत्मनिर्भर महिलाले घर छाडेका थुप्रै उदाहरण छन्। त्यसैले बालबच्चा, पारिवारिक एकता वा समाज त आफ्नो कमजोरी लुकाउने बहानामात्र हो। मुख्य कारण त आफ्नै असुरक्षाको डर हो। मैले यी बालबच्चालाई कसरी एक्लै हुर्काउने ? के खुवाउने ? कसरी पढाउने ? म आफँै कसरी बाँच्ने? भन्ने अनुत्तरित प्रश्न नै हामीलाई हिंसा भोगिरहन प्रेरित गरिरहने तŒव हुन्। कहिलेकाहीँ कुटाइ खाए पनि कम्तीमा छोराछोरीको सुरक्षा छ, एकसरो लाउन र दुई छाक खान पाएकी छु। यहाँबाट निस्किएर कहाँ जाने ? के गरी जीवन निर्वाह गर्ने भन्ने विकल्प नभेटेर वा नखोजेर नै दशकौँदेखि हिंसा खप्न बाध्य भएका छौँ हामी महिला। दासता स्वीकार्दिन भन्ने आँट गरेर घरबाट निस्कने हो भने जीवन निर्वाहका बाटा यत्रतत्र भेटिन्छन् तर जीवन नै अगाडि बढाउन सक्दिन कि भन्ने आफैँप्रतिको कमजोर विश्वासले समाज र परिवारको बहानामा महिला हिंसामात्र होइन, मृत्युवरणसमेत गरिरहेका छन्।

हामी महिला पनि स्याहारकर्तामात्र होइनौँ, परिवारको संरक्षक वा पालनकर्ता पनि हुनसक्छौँ भन्ने विश्वास हामी आफैँलाई छैन्। म आफ्नै उदाहरण दिन्छु। मसँगै काम गर्ने अधिकांश पुरुष सहकर्मी मित्रहरूले आफ्नो एक्लो कमाइले श्रीमती, छोरा÷छोरी र बाबु÷आमाको हरेक जिम्मेवारी, सामाजिक तथा सांस्कारिकलगायतका गाँस, बास, कपासको पारिवारिक जिम्मेवारी एकलरूपमा निसंकोंच दायित्वबोध गरी निर्वाह गरिरहनुभएको हुन्छ। तर कहिलेकाहीँ त्यस्तै अवस्था मलाई आयो भने म आफँै अलि हच्किएको अथवा एकदमै बोझले अत्तालिएको जस्तो अनुभूति हुन्छ। हामी आममहिला घरको आर्थिक जिम्मेवारी मेरो होइन भन्ने धारणा लिएर बसेका हुन्छौँ र बाध्यता नपरी आर्थिक भूमिका निर्वाह पनि गर्दैनौँ। अझ मैले कतिपय यस्ता महिला देखेकी छु आफ्नै वरिपरि जो आफ्नो सम्पूर्ण कमाइ सुन÷चाँदी र अन्य फुर्मासी खर्चमात्र गर्ने, अनि घर खर्च त श्रीमान्ले त गर्नुपर्छ, मेरो कमाइ त आफ्नै लागिमात्र हो भन्ने। समाजले पनि त्यहीअनुसार महिलालाई आर्थिक जिम्मेवारीबाट छूट दिएको छ। एक्ली महिलाले धानेको घर÷व्यवहारप्रति अत्यन्तै सहानुभूति राखेको पाइन्छ। तर अधिकांश घरमा एकजना लोग्ने मान्छेकै कमाइबाट परिवारका सम्पूर्ण सदस्यको जीवन निर्वाह भइरहेको हुन्छ। त्यसलाई भने सामान्यरूपमा लिइन्छ। गहन जिम्मेवारी लिन जब हामी हच्किन्छौँ तब हामीलाई परिवारको निर्णायक भूमिकाबाट पनि विमुख गराइन्छ।

हाम्रो अर्को एउटा कमजोर पाटो भनौँ या महानता ?  त्याग, समर्पण र आशक्ति। अनि त्योबापतको अत्यधिक अपेक्षा। आफू उत्तिकै क्षमतावान हुँदाहुँदै पनि श्रीमान्को पढाइ, जागिर, क्षमता, कमाइलाई आफ्नै सम्झेर सँगसँगै लैजान सकिने आफ्नो वृत्तिलाई ठप्पै रोकेर समर्पित हुने अनि एकातिर मैले परिवार बालबच्चाका लागि त्याग गरेँ भनेर जीवनभर खोक्रो महानता दर्शाउने अर्कोतिर म पनि केही गर्नसक्थेँ, आफ्नै पहिचान बनाउन सक्थेँ भनेर जीवनभर हीनताबोध लिएर बस्ने। कुनै समयकी एसएलसीमा बोर्ड टपर छात्रा पछि आफ्नोश्रीमान् र छोराछोरीको समय व्यवस्थापन र हेरचाहका लागि आफ्नो करियरमा पूर्णविरामलगाएको समाचारले मलाई नमीठो गरी छोएको थियो। उनी त्यति सानो भूमिकामा खुम्चिनमात्र जन्मिएकी थिइनन्शायद। आफू छुट्टै जन्मिएको हो र छुट्टै मरिन्छ। बालबच्चा पनि हुर्कन्छन्। केही समयसम्म गाह्रो होला तर आफू नै गुमनाम हुनेगरीको त्याग, यदि गुनासोरहित भयो भने त प्रेमिल होला तर थोरैमात्र कुण्ठा बाँकी भयो भने त्यो आफ्नै अस्तित्वप्रति अन्याय हुन्छ। अनि यसैगरी महान् बन्न त्याग गर्दागर्दै एकातिर राज्यका हरेक निकाय, तह र तप्कामा पिछडिएको वर्गका रूपमा अंकित हुनुपर्ने र अर्कोतिर समानताका लागि फेरि अर्को लडाईँ लड्नुपर्ने विरोधाभाषपूर्ण अवस्थाको सिर्जना हामी आफैँ गरिरहेका हुन्छौँ।

दासता स्वीकार्दिन भन्ने आँट गरेर घरबाट निस्कने हो भने जीवन निर्वाहका बाटा यत्रतत्र भेटिन्छन् तर जीवन नै अगाडि बढाउन सक्दिन कि भन्ने आफैँप्रतिको कमजोर विश्वासले समाज र परिवारको बहानामा महिला हिंसामात्र होइन, मृत्युवरणसमेत गरिरहेका छन्।

हाम्रा स–साना व्यवहार र चिन्तनशैलीले पनि हामीलाई सानो घेराभन्दा बाहिर जान रोकिरहेको हुन्छ। हाम्रा समकक्षी पुरुष साथीहरू एकअर्कामा भेटघाट हँुदा आर्थिक, सामाजिक, राजनीतिक विषयमा गफिने, समसामयिक विषयका सम्भावना चुनौती मन्थन गर्ने, वृत्ति विकासका अवसरहरूमा छलफल गर्ने गरेको पाइन्छ। हामी भने अझै पनिश्रीमान्लाई मनपर्ने तरकारी अचार, सारी लाएको मन पराउँछन् कि कुर्ता÷सुरुवाल, कपाल काटेको मन पराउँछन् कि पालेको जस्ता विषयमै अमूल्य समय खर्चिरहेका हुन्छौँ। जन्मदिनमा उपहार पाउन के अभिनय गरुँ, तीजमा एउटा सारी किनाउन कसरी फकाउँ, हातमा मेहन्दीले उनको नाम लेखेर कसरी भक्तिभाव देखाउँ, कसरी अरु नातागोताबाट एक्ल्याएर आफ्नो एकलौटी पारौँ, उनीहरूका सामु आफू कमजोर देखिएर कसरी सहानुभूति बटुलौँ, चुरीफुरी देखाएर आफूतिर ध्यान केन्द्रित गरुँ जस्ता विषयमै सिर्जनशील र ऊर्जाशील समय हामी खर्च गरिरहेका हुन्छौँ। अनि कसरी हामी सार्वजनिक जीवनमा उनीहरूसँग प्रतिस्पर्धा गर्न सक्षम हुन्छौँ ? हाम्रो चिन्तन जे हुन्छ प्राप्ति पनि त्यही हुने हो नि। समय दिनुपर्ने, साहस देखाउनुपर्ने ठाउँमा म त महिला पो भनेर सहुलियत खोज्ने अनि मैले बराबरी जिम्मेवारी पाइन भनेर गुनासो गर्नुको सट्टा समाज र परिवारमा समान भूमिका निर्वाह गरेपछि समान पहिचानको लडाइँमा अझ खरो उत्रन नैतिक साहस जुट्छ। महिला आन्दोलनले सार्थकता पाउँछ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०३:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App