coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सामाजिक कुरीति तोड्दै एकल महिला

रातो परिहनमा एकल महिला। तस्बिर : गणेश विक/नागरिक

रुकुम - रुकुमपूर्वको सिस्ने गाउँपालिका–६, रुकुमकोटकी विष्णु देवकोटासँग एकल महिला भनेर गाउँका शुभ कार्यमा जान नदिएको तीतो पीडा छ। उनका श्रीमान्को २०५७ पुस ३ गते हत्या भयो। त्यसपछि उनी सेतो कपडा लगाउँथिन्। हातमा चुरा, गलामा माला र सिउँदोमा सिन्दुर थिएन। तर उनलाई समाजले माया र सम्मानको साटो तिरस्कार गथ्र्याे। गाउँलेले उनलाई पूजापाठजस्ता शुभ कार्यका सामान छुन नदिने, नजिकै आउन नदिनेलगायतका विभेद गर्थे। त्यतिबेला उनको मन छियाछिया हुन्थ्यो।

सोही गाउँकी बालिका ओलीको विगत पनि उस्तै छ। भेरी नदीमा बगेर श्रीमान्को मृत्यु भयो। जतिबेला उनको गर्भमा चार महिनाको छोरा थियो। बिहे गरेको चार महिनामै पतिको मृत्यु भएको थियो। बालिकाले पनि विष्णुले जस्तै सेतो पहिरनमा एकल महिला हुनुको पीडा कति भोगिन् भोगिन्। यसैले श्रीमान् खाई भन्ने आरोपसमेत झेलेको उनी बताउँछिन्।

तर अहिले उनीहरूको पहिरन हेर्दा कसैले पनि एकल महिला हो भनेर पत्याउँदैनन्। उनीहरूले दोस्रो विवाह गरेका पनि होइनन्। अहिले उनीहरूले निर्धक्कका साथ रातो पहिरन लगाउने गरेका हुन्। ‘पोसाकले महिलालाई धेरै फरक तुल्याउँदोरहेछ,’ विष्णु देवकोटाले भनिन्, ‘अहिले मेरो मनोबलसमेत बढेको छ।’ सेतो पोसाकले मन संकुचित गराउने उनले बताइन्। अगाडि भनिन्, ‘रातो पहिरनले खुसी ल्याएको छ।’ उनले श्रीमान् बितेको ६ वर्षपछि मात्र रातो पहिरन लगाउन थालेकी हुन्। हाल उनी आफूमात्र सिन्दुर लगाउँदिनन्, गाउँका अरू एक महिलालाई पनि लगाउन सन्देश दिने गर्छिन्।

रुकुमपश्चिमको मुसीकोट नगरपालिकाकी चित्रा गिरी उपाध्यायले श्रीमान् बितेको २१ वर्षपछि रातो पहिरिन्। समाजका रीतिरिवाजले आफूलाई प्रतिबन्धमा पारेको उनले बताइन्। ‘समाजले एकल महिलालाई दोस्रो दर्जाको व्यवहार गर्ने गरेको छ,’ उनले भनिन्, ‘यो कुरीति अन्त्य गर्न सबैको साथ सहयोग हुनुपर्छ।’ अन्धविश्वासले गर्दा एकल महिलाहरू रातो पहिरनबाट वञ्चित हुनुपरेको उनले बताइन्।

यहाँका एकल महिलाहरूलाई रातो पहिरन लगाउन मानव अधिकार संरक्षण कानुनी सेवा केन्द्रले सहयोग गरेको थियो। स्थानीय एकल महिला संगठित भई रातो पहिरन लगाउने अभियान नै सञ्चालन गरेका थिए। उक्त अभियानपछि जिल्लामा ९० प्रतिशत एकल महिलाले रातो पहिरन लगाउन थालेको मानव अधिकारका लागि एकल महिला जिल्ला सञ्जालकी अध्यक्षसमेत रहेकी देवकोटाले जानकारी दिइन्। उनका अनुसार जिल्लामा २३ सय हाराहारीमा एकल महिला छन्।

पछिल्लो समय एकल महिलाको दृष्टिकोण फेरिएको छ। अहिले एकल महिलाहरूले स्वतःस्फूर्त रातो पहिरन लगाउन थालेको मानव अधिकार संरक्षण कानुनी सेवा केन्द्रका सहसचिव धनवीर दाहालले बताए। हाल एकल महिलाहरूले रातो कपडा, चुरा, पोते सबै लगाउन थालेका छन्। रातो लगाउन थालेपछि आत्मसम्मानका साथै सामाजिक सम्मानसमेत बढेको यहाँ एकल महिला बताउँछन्। एकल महिलालाई पनि श्रीमान् भएका महिला समान अधिकार दिनुपर्ने उनीहरू बताउँछन्। रातो पहिरन गर्न पाउने आफूहरूको जन्मसिद्ध अधिकार भएको एकल महिला चित्रा गिरी उपाध्याय बताउँछिन्। तर यो अधिकार प्राप्तिका लागि धेरै चुनौती र कठिनाइ भोग्नुपरेको उनको भनाइ छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App