७ वैशाख २०८१ शुक्रबार
समाज

नेतृत्व तहमा महिला अझै उपेक्षित

सर्लाही - जिल्लाको दक्षिणपश्चिम क्षेत्र शंकरपुरस्थित साना किसान कृषि बहुमुखी सहकारी संस्था लिमिटेडको अध्यक्षमा सहमति हुन नसक्दा गत मंसिर ११ गते चुनाव नै भयो। चुनावबाट चिरञ्जीवी पोखरेल ९०१ मतका साथ अध्यक्षमा निर्वाचित भए भने प्रतिद्वन्द्वी जंगबहादुर महतोले ५९३ मत प्राप्त गरे।

कुल २ हजार ९६ शेयर सदस्य रहेको उक्त संस्थामा महिला शेयर सदस्यको संख्या १ हजार ५१० थियो। झन्डै दुई तिहाई महिला शेयर सदस्य रहे पनि अध्यक्षको निर्वाचनमा पुरुषबीच भिडन्त भयो। लगभग महिलाहरूकै मतबाट पोखरेलले अध्यक्षको पगरी गुथे। लगतै मंसिर १४ गते छिमेकी गाउँ राजघाटस्थित महिलाहरूले मात्र सञ्चालन गर्दै आएको राजघाट महिला कृषि सहकारी संस्थासमेत सोही संस्थामा विलय भयो। तीन सय महिला शेयर सदस्य रहेको संस्थालाई अध्यक्ष शिवमाया खरेलसहितको नेतृत्वले पोखरेल नेतृत्वको साना किसान कृषि बहुमुखी सहकारी संस्थामा मर्ज गराएको हो। उक्त संस्थाका प्रबन्धक माधवप्रसाद काफ्लेका अनुसार १५ सदस्यीय सञ्चालक समितिमा तीन जनामात्र महिला सदस्य (पदाधिकारी छैनन्) छन्। साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री योगेन्द्र राय यादव त महिला शेयर सदस्य संख्या एवं कार्यक्रममा उपस्थित महिलाको संख्या देखेर अचम्मितसमेत भए। ‘यति धेरै महिला सहभागिता भएको संस्थालाई म मन्त्रालयका तर्फबाट कृषिउपज भण्डारण गर्न शीत भण्डार उपलब्ध गराउँछु,’ उत्साहित हँुदै मन्त्रीले घोषणा नै गरे।

उत्तरी क्षेत्रका धेरैजसो तथा दक्षिणी क्षेत्रमा समेत आर्थिक कारोबार बढी भएका सहकारी संस्थाको शेयर सदस्यमा महिलाको सहभागिता झन्डै दुई तिहाई देखिन्छ । तर नेतृत्वमा भने पुरुषको बिगबिगी ।

२ नम्बर प्रदेशकै उत्कृष्ट सहकारी संस्थाका रूपमा पुरस्कृत भइसकेको उत्तरी क्षेत्र हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा ९ हजार ४ सय २ शेयर सदस्य छन्। १९ वर्षअघि स्थापना भएर गत आर्थिक वर्षमा १ अर्ब ७ करोड ६१ लाख ७६ हजार रुपैयाँको कारोबार गरिसकेको सगुनमा महिला शेयर सदस्य संख्या ५ हजार ३ सय ४३ छ। उक्त सहकारीको अध्यक्षमा निकै वर्षदेखि बाबुराम घिमिरे रहँदै आएका छन् भने १५ सदस्यीय सञ्चालक समितिमा पाँच महिला छन्। त्यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा ८ करोड १३ लाख ७७ हजार रुपैयाँ कारोबार गरेको सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था (हरिवन)को कुल शेयर सदस्य संख्या १ हजार ४ सय ५५ छ। आठ सय ७७ महिला शेयर सदस्य संख्या रहेको उक्त संस्थाको सञ्चालक समितिको अध्यक्षमा उद्योग वाणिज्य संघ (हरिवन)का अध्यक्षसमेत रहेका मोहनलाल श्रेष्ठले सम्हालिरहेका छन्। सञ्चालक समितिलगायत निर्णायक तहमा पुरुष नै हाबी छन्। यी तीन सहकारी संस्था नमुना मात्र हुन्। उत्तरी क्षेत्रका धेरैजसो तथा दक्षिणी क्षेत्रमा समेत आर्थिक कारोबार बढी भएका सहकारी संस्थाको शेयर सदस्यमा महिलाको सहभागिता झन्डै दुई तिहाई देखिन्छ। तर नेतृत्वमा भने पुरुषको बिगबिगी।

पछिल्लो समय उठेको समावेशिताको आवाज, महिला राख्नैपर्ने बाध्यतालगायतले केही महिलाले सञ्चालक समितिमा स्थान पाउने गरेका छन्। नेतृत्वमा स्थापित गराउने भन्दा पनि धेरैजसो सहकारी संस्थाले बजारमा पैसा संकलन गरेर ल्याउने काममा भने महिलालाई प्राथमिकता दिने गरेको पाइन्छ। महिला बचत तथा ऋण सहकारी संस्था नै नाम रहेका र अपवादमा अन्य केही सहकारी संस्थामा मात्र अध्यक्ष तथा सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व बढी देखिन्छ। अन्तर्राष्ट्रिय नारी दिवस होस् वा महिला हिंसाविरुद्धको १६ दिने अभियान– महिलालाई अगाडि बढाउने, नेतृत्व तहमा स्थापित गराउनेजस्ता नारा नै लगाइन्छ। अनि राजनीतिक दलका नेता हुन् वा विभिन्न क्षेत्रका अगुवाबीच महिला अधिकारका विषयमा भाषण गर्न होडबाजी नै चल्छ। तर व्यवहारमा दुई तिहाई महिला शेयर सदस्य रहेका सहकारी संस्थामा पनि अध्यक्ष तथा पदाधिकारी त परै जाओस्, सञ्चालक समितिमा समेत महिलाले बहुमत सदस्यका रूपमा स्थान पाउन सकेका छैनन्।

सहकारी संस्थाहरूमा महिलाको सहभागिता बढ्नु सकारात्मक पाटो भएको अन्तर पार्टी महिला सञ्जाल (सर्लाही)की अध्यक्ष बुककुमारी थापा बताउँछिन्। ‘पछिल्लो समय महिलामा चेतनास्तर बढ्दै गएको छ, सहकारी संस्थाहरूमा सहभागिता बढ्दै गएको छ,’ उनले भनिन्, ‘तर अझै पनि नेतृत्वको पहुँचबाट महिलालाई टाढै राखिएको छ।’ अब नेतृत्वका लागि पनि दिदीबहिनीले आवाज बुलन्द पार्नुपर्ने थापाको धारणा छ। साना किसान कृषि बहुमुखी सहकारी संस्थामा मर्ज भएको राजघाट महिला कृषि सहकारी संस्थाकी अध्यक्ष शिवमाया खरेल राजनीतिक दलका नेता तथा सिंगो समाजको दृष्टिकोण नै गलत भएकाले समस्या आउने गरेको बताउँछिन्। ‘नीतिगत रूपमा क्रमशः महिलाको सहभागिता सुनिश्चित हुँदै गए पनि व्यावहारिक रूपमा अगाडि बढ्न निकै गाह्रो भइरहेको छ,’ उनले भनिन्, ‘यहाँ पनि हामीलाई सहकारी धेरै भए, अब मर्ज हुनुपर्छ भनेर नगरपालिकाका मेयर सा’बसहित गाउँ समाजका नेताज्यूहरूले आग्रह गर्नुभयो, अनि हामी गाभिएका हौं।’

प्रदेश सांसद बेची लुंगेली महिलालाई प्रयोगमात्र गर्ने सदियौंदेखिको परिपाटीका कारण सहकारी संस्थामा सहभागिता बढी भए पनि नेतृत्वमा महिलालाई स्थान नदिने गरिएको बताउँछिन्। उनले भनिन्, ‘पुरुषवादी मानसिकतालगायत विभिन्न कारणले महिला पछाडि पारिएका छन्।’

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App