coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बालमन्दिरमा धर्मपुत्र खोज्ने दम्पती बढी

काठमाडौं - बालमन्दिर ४५ वर्षदेखि बेसहारा बालबालिकाका लागि सहारा बन्दै आएको छ। त्यहाँ छोरीछोरीबीच कुनै भेदभाव नगरीकन पालनपोषण गरिन्छ, संरक्षण दिइन्छ। थुप्रै निःसन्तान नेपाली दम्पती धर्मपुत्र–धर्मपुत्री खोज्दै बालमन्दिरमा पुग्छन्। तर त्यहाँ पुग्ने प्रायः दम्पतीले धर्मपुत्र नै खोज्ने गरेको पाइएको छ। ‘धर्मपुत्र–धर्मपुत्री खोज्दै आउने ९८ प्रतिशत दम्पती धर्मपुत्रकै माग गर्छन्,’ काठमाडौं नक्सालस्थित केन्द्रीय बालमन्दिरअन्तर्गत धर्मपुत्र–धर्मपुत्री शाखाका कर्मचारी मंगला सिंहले भनिन्।

‘एकाधबाहेक सबैजसो छोरा नै खोज्न आउँछन् तर हामीले दिएका छैनौं,’ १७ वर्षदेखि बालमन्दिरका निर्देशक रहेका बालकृष्ण डंगोलले नागरिकसित भने। बालमन्दिरमा अहिले २० दम्पती धर्मपुत्र पाइने प्रतीक्षामा छन्। त्यहाँका १४ बालबालिकामध्ये तीनजना मात्र छोरा छन्, बाँकी ११ जना छोरी। बालमन्दिरका १० वटा शाखामा करिब चार सय बालबालिकाले संरक्षण पाइरहेका छन्। उनीहरू स्कुलदेखि कलेज जाने उमेरसम्मका छन्। कर्मचारी सिंहका अनुसार बालमन्दिरमा छोरा मात्र खोज्ने चलन पहिलेदेखिकै हो। तथ्यांकअनुसार २०७१ देखि २०७४ सालसम्म धर्मपुत्रपुत्रीका रूपमा लगिएका २४ जनामध्ये नौ बालक र १५ बालिका छन्। तर ती बालिकामध्ये केही संख्यामा विदेशी दम्पतीले लगेको देखिन्छ। तथ्यांकमा कति नेपाली र कति विदेशी दम्पतीबाट धर्मपुत्र–पुत्री लगियो भन्ने विषयमा यकिन जानकारी प्राप्त हुन सकेको छैन। चालू आर्थिक वर्ष सुरु भएदेखि हालसम्म बालमन्दिरबाट धर्मपुत्र–धर्मपुत्रीका रूपमा लगिएका १६ जनामध्ये १२ जना छोरा छन् भने चार जना छोरी।

स्थापनाकालदेखि अहिलेसम्म बालमन्दिरबाट विदेशी दम्पतीले धर्मपुत्रीका रूपमा करिब आठ सय छोरी लगिसकेका छन्।

बालमन्दिरका अनुसार छोरा खोज्नेमा बढी ग्रामीण पति–पत्नी छन्। सहरका एकाध शिक्षित दम्पतीले भने छोरी पनि खोज्न गरेका छन्। नेपाली समाजमा कायम धार्मिक तथा सामाजिक परम्पराका कारण पनि छोरा बढी रोजाइमा पर्ने गरेको उनीहरू बताउँछन्। ‘धर्मपुत्र खोज्न आउनेहरू छोराले कुल थाम्छ भन्ने मान्यता राख्छन्, हामी छोरी मात्र रहेको जानकारी दिन्छौं,’ सिंहले भनिन्। निर्देशक डंगालेका अनुभवमा नेपाली समाजमा कायम पितृसत्ताको असर धर्मपुत्र–धर्मपुत्री राख्नेमा समेत परेको हुनुपर्छ। कुल र सामाजिक प्रतिष्ठा धान्ने सोचको प्रभावले गर्दा पुरुषले त धर्मपुत्र खोज्ने नै भए, महिलाहरूसमेत धर्मपुत्रीभन्दा धर्मपुत्र नै पाइयोस् भन्ने चाहना राख्छन्। निर्देशक डंगोलका अनुसार नेपाली समाजमा एक दशकअघिसम्म धर्मपुत्र–पुत्री ग्रहण गर्ने चलन थिएन। आफैंले जन्माएकोभन्दा अरूलाई सन्तानका रूपमा ग्रहण गर्नुलाई समाजको नजरमा राम्रो नमानिने कारण बालमन्दिरमा बच्चा माग्न पनि कोही आउँदैनथे। कतिपय दम्पती भने समाजको आँखा छलेर अस्पताल या अन्य माध्यमबाट बच्चाहरू खोजेर सन्तानको अभाव पूर्ति गर्थे। ‘अरूको सन्तान लिए समाजमा अपमानित भइने डरले नेपाली दम्पती बच्चा खोज्नै आउँदैनथे,’ उनले भने, ‘कानुनी प्रक्रिया पूरा गर्ने क्रममा समाज र आफ्नो खलकले थाहा पाउने डरले उनीहरू बालमन्दिर आउन चाहँदैनथे।’ जब बालमन्दिरमा धर्मपुत्र–पुत्री खोज्ने क्रम सुरु भयो तब छोराकै खोजी बढी हुने गरेको उनको भनाइ छ।

डंगोलका अनुसार नेपालमा छोरीको खोजी कम हुने गरेको जानकारी अमेरिका र युरोपमा समेत रहेको पाइन्छ। त्यसैले छोरीको खोजीमा नेपाल आउने धेरै अमेरिकी तथा युरोपेली दम्पतीको लर्को नै लाग्ने गरेको छ। स्थापनाकालदेखि अहिलेसम्म बालमन्दिरबाट विदेशी दम्पतीले धर्मपुत्रीका रूपमा करिब आठ सय छोरी लगिसकेका छन्। बीचमा विदेशीलाई धर्मपुत्र–धर्मपुत्री लैजान प्रतिबन्ध लगाएपछि भने यो क्रम रोकिएको थियो। बीचमा फुक्का गरेपछि केही छोरी विदेशी दम्पतीले लगेका थिए। अहिले फेरि त्यसमा रोक लगाइएको छ। नेपालमा धर्मपुत्र–धर्मपुत्री ऐनअनुसार निःसन्तान दम्पती, पहिला छोरी मात्र या छोरा मात्र एक सन्तान भएका दम्पतीले धर्मपुत्र–धर्मपुत्री लैजान पाउँछन्। यसका लागि बालमन्दिरमा विभिन्न कानुनी प्रक्रिया पूरा गर्नुपर्छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App