काठमाडौं – भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले संघीय संरचनाअनुरूप नेपालको आधिकारिक प्रशासनिक नक्सा सार्वजनिक गरेको छ। नापी विभागले तयार पारेको नक्सा बिहीबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा भूमीव्यवस्थामन्त्री पद्मा अर्यालले रिबन काटेर सार्वजनिक गरेकी हुन्।
कार्यक्रममा मन्त्री अर्यालले अहिलेसम्म पुरानै नक्सा प्रयोग गर्दै आएको बताइन्। पुरानो नक्सा प्रयोग गर्दा त्यसबारे केही प्रश्नहरू उठ्कोले संघीय संरचनाअनुसार आधिकारिक नक्सा बनाउन नापी विभागलाई निर्देशन दिएको बताइन्। उनले भनीन्,‘बजारमा धेरैखाले नक्सा पाइन्छन्। आधिकारिक नक्सा बनाउन अब ढिलो गर्नु हुँदैन भन्ने ठानेर अहिले नै नक्सा सार्वजनिक गरेका हौ।’ अब चाँडै ७७ जिल्ला, ७ प्रदेश र ७ सय ५३ वटै पालिकास्तरको नक्सा बनाएर हस्तान्तरण गर्ने अभियान सुरू गर्ने बताइन्।
बिहीबार सार्वजनिक गरिएको नक्सा तत्काल सिंहदरबारभित्रका सबै मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयमा प¥याउने र त्यसपछि प्रदेशस्तर, ७ सय ५३ स्थानीय तह र पुस्तक भण्डारहरूमा पु¥याउने तयारी भएको उनले बताइन्। आधिकारिक नक्सा प्रयोग गर्न उनले सबैलाई आह्वान पनि गरीन्।
सो अवसरमा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सबै प्रदेशका नामकरण नभएकोले नक्सा सार्वजनिक गर्न ढिलो भएको बताए। बिहीबार सार्वजनिक गरिएको नक्सामा ३ प्रदेशको मात्र नामंकरण गरिएको छ। अन्य प्रदेशको नामाकरण हुनेबित्तिकै नामकरण गरिएका प्रदेशको नक्सा सार्वजनिक गर्ने उनले बनाए। बिहीबार सार्वजनिक गरिएका नक्सामा सातवटै प्रदेश, जिल्ला, सदरमुकाम, प्रमुख राजमार्ग, सहरहरू, सीमाहरू, निकुञ्जहरू, नदीहरू, प्रमुख ठाउँहरूको नाम उल्लेख गरिएको छ।
प्रकाशित: २४ फाल्गुन २०७५ ०१:४६ शुक्रबार