७ वैशाख २०८१ शुक्रबार
राजनीति

सरकारलाई दिएको समर्थन फिर्तासँगै राजपा आन्दोलनको तयारीमा

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्तासँगै फेरि मधेस आन्दोलन चर्काउने तयारी थालेको छ। सरकारलाई दिएको समर्थन उसले र्फिता लिँदैमा अकंगणतीय रूपमा केही फरक पर्दैन। सरकारको पक्षमा अहिले पनि प्रतिनिधिसभाका १ सय ९२ सांसदको समर्थन छ। जबकि, दुईतिहाइ पुग्न १ सय ८४ सांसदको समर्थन भए पुग्छ।

राजपाका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो आफ्नो दलको समर्थन र्फिताले सरकारलाई अकंगणीतमा केही फरक नपरे पनि मधेसको सेन्टिमेन्ट भने गुमाउने दाबी गरे। सरकारविरुद्ध आन्दोलन गर्ने जनाउँदै महतोले भने, ‘अबको आन्दोलन मधेस आन्दोलन या थरूहट आन्दोलन मात्र हुँदैन, अधिकार नपाएका र सरकारसँग रूष्ट भएका भएका परिवर्तनकारी, पहिचानवादी सबै शक्ति आन्दोलनमा आउनेछन्।’ अब सुरू हुने पूर्ण आन्दोलन हुने दाबी गर्दै उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबाट हामीलाई आन्दोलनमा जाने बाटो खुलेको छ।’

संघीय समाजवादी फोरमका महासचिव रामसाह यादवले राजपाले गर्ने निर्णयबाट राजनीतिक रूपमा फोरमलाई फरक नपर्ने बताए। ‘राजपा र फोरम अलगअलग पार्टी हुन्। दुबै पार्टीले आ–आफ्नो निर्णय गर्न सक्छन्,’ उनले भने। यद्यपि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भने दुःखद भएको उनले बताए। सरकारको कार्यशैलीप्रति फोरम पनि सन्तुष्ट नभएको बताउँदै उनले भने, ‘हामीले दुई महिनाअघि सरकारलाई स्मरणपत्र पनि बुझाएका छौं। तत्काल संविधान संशोधन प्रक्रिया अघि बढाउन हामीले सरकारलाई आग्रह गरेका छौं।’ सरकार र फोरमवीच भएको दुइ बुँदे सम्झौता कार्यान्वयन नभएको गुनासो उनले गरे।

तर राजपाका अध्यक्षमण्डलका सदस्य महतोले भने फोरम सरकारमा रहेसम्म राजपाको लागि फोरम पार्टी नेकपा सरह हुने बताए। उनले भने, ‘हाम्रा लागि अहिले उपेन्द्र यादव, पुष्पकमल दाहाल र केपी उस्तैउस्तै हुन्।’ राजपाका सांसद रेशम चौधरीलाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएपछि आक्रोशित भएका राजपाका नेताहरूले बिहीबार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन्। यद्यपि राजपाका नेताहरूले अदालतको निर्णय र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय अलग अलग विषय भएका बताउदै आएका छन्। सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको भोलिपल्टै राजापका अध्यक्षमण्डलका ६ सदस्यमध्ये महन्थ ठाकुरबाहेक ५ सदस्य बिहीबार मधेस गएका छन्। त्यहाँ उनीहरू विभिन्न कार्यक्रमा सहभागी हुने भएका छन्।

नेकपाको नेतृत्वमा गठित वर्तमान सरकारलाई संघीय समाजवादी फोरम नेपाल, एकजना स्वतन्त्र सांसद र राष्ट्रिय जनमुक्ति पार्टीको समर्थन छ। प्रतिनिधिसभामा राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना सांसद्को उपस्थिति रहेको छ।प्रतिनिधि सभामा तराइ मधेस केन्द्रित दुइ दल राजपा र संघीय फोरमका प्रतिनिधित्व उस्तैउस्तै छ। रेशम चौधरी सहित राजपाको संख्या १७ भने फोरमको संख्या १६ छ। तर राजपा आन्दोलनमा गयो भने यसको दबाब फोरमलाई पनि पर्ने निश्चित छ।

प्रकाशित: २४ फाल्गुन २०७५ ०१:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App