१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राष्ट्रपति मनकामना जाँदा दुई घण्टा रोकिए भक्तजन

राष्ट्रपतिको सवारीले मनकामना मन्दिरमा पुजाआजा गर्न नपाएपछि दुई घण्टा लाईन बसेर घर फर्किँदै एक वृद्ध । तस्विर : नरहरि/नागरिक

केस फुलेकाहरु मन्दिर छिर्न पाएनन, खिन्न भएर फर्किए

मनकामना – राष्ट्रपति विद्यादेवी भण्डारी बिहिवार मनकामना आउने कार्यक्रम तय थियो। सुरक्षा निकाय, उच्च पदस्थ, कार्यक्रम आयोजक र स्थानीयलाई उक्त खबरको जानकारी थियो। बिहिवार पुगेका भक्तजनलाई भने जानकारी थिएन, आखिर थाहा हुने कुरा पनि रहेन।

राष्ट्रपति आउने भएपछि मन्दिर दर्शन गर्न गएका भक्तजनलाई विद्यालय भएतिरबाट लाईन लगाइएको थियो। सुरक्षा र मन्दिर परिसरमा भएको कार्यक्रमको सहजताका लागि सुरक्षाकर्मी र आयोजकले त्यस्तो ब्यवस्था गरेका थिए। भक्तजनलाई उच्च पदस्त ब्यक्ती आउने कुरा मन्दिरमा दुई घण्टा सम्म लाईन अगाडी नबढेपछि थाहा भयो। राष्ट्रपति भण्डारी पोखराबाट हेलिकप्टरमा उड्नु अघिदेखि भक्तजनलाई मन्दिर छिर्न रोकिएको थियो।

कार्यक्रममा सहभागी हुन आउने मान्छे आउनु भन्दा धेरै समय अघिदेखि रोकिनुपरेको भन्दै लाईनमा कुरेर बसेका भक्तजन आक्रोशित भएका थिए। मन्दिर छिर्नपाउनुपर्छ पुजा गर्न पाउनुपर्छ भन्ने आवाज लाईनमा बस्नेहरुले उठाईरहे। तर त्यो भिँडमा भक्तजनको आवाज सुन्ने कोही थिएन। नजिकै रहेका सुरक्षाकर्मी सुनेनसुने झैँ गरिरहे। केही उपाए नलागेपछि पहिलो पटक मनकामना पुगेका भक्तजन पनि पुजा गर्ने आश मारेर सुरक्षाकर्मीलाई फुल अक्षता दिएर मन खिन्न बनाउँदै फर्किए।

काठमाण्डौँबाट मनकामना मन्दिर दर्शन गर्न पहिलो पटक आएकि ७६ वर्षिया कान्छी कार्कीले गुनासो गर्दै भनिन् ‘दुई घण्टा बसेँ, पालो आएन, ममात्रै होईन, एक सय ५० जना जेष्ठ नागरिक आएका छौँ, कति समय कुर्नु ? ’ पुजा गर्न नपाएपछि फर्कँदै गरेकी उनले भनिन। उनीजस्तै धेरै भक्तजन निराश हुँदै मन्दिरमा पनि नपुगी बाहिरबाटै फर्किए। कारण थियो बिहिवार राष्ट्रपतिको सवारी मनकामनामा थियो।

भक्तजनले धमाधम फुल प्रसाद एउटा भाँडोमा जम्मा गरेर मन्दिर छेउमा राखेर हिड्न थाले । बाहिरैबाट हात जोडेर भाकल गर्दै दुखेसो पोख्दै भक्तजन फर्किएको दृष्य नरामाईलो लाग्ने खालको थियो। एक दुई जना होईन सयौँ जना भक्तजन पुजा नगरी फर्किन बाध्य भए। भक्तजनको दुखेसो बारे न राष्ट्रपतिलाई जानकारी थियो न त कार्यक्रम आयोजकले नै नियमित पुजा गर्ने चाँजोपाँचो मिलाएका थिए। मात्रै सुरक्षार्थ खटिएकाहरुको चिन्ता र चासोले भक्तजनले दुःख सहनुप¥यो। बाक्लो संख्यामा सुरक्षाकर्मी, तालिमप्राप्त कुकुर, जिल्लादेखि प्रदेश र केन्द्रका उच्च पदस्त सबै राष्ट्रपतिको सुरक्षामा थिए। उनीहरु कसैलाईपनि भक्तजनको असुविधा र गुनासो संवोधन गर्ने त पर सुन्ने समय पनि थिएन।

प्रकाशित: २३ फाल्गुन २०७५ १२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App