coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हिमाली गाउँमा रिसोर्टभन्दा भव्य विद्यालय (तस्बिरसहित)

सेलाङ (सिन्धुपाल्चोक)- विकट हिमाली गाउँ सेलाङका बालबालिकाले सुविधासम्पन्न भव्य विद्यालय पाएका छन्। झट्ट हेर्दा ‘रिसोर्ट’ जस्तो देखिने विद्यालय भवनको चिटिक्क कक्षाकोठामा पढ्न पाउँदा उनीहरु दंग छन्।

सिन्धुपाल्चोकको कर्णाली क्षेत्र भनेर चिनिने जुगल गाउँपालिकाको सेलाङ माविको भवन पहिला ढुंगामाटोले बनेको परम्परागत किसिमको थियो। त्यो पनि २०७२ वैशाख १२ को भूकम्पले ढालिदियो। साढे तीन वर्षभन्दा बढी समय जस्ताको अस्थायी टहरोमा पढेका विद्यार्थीले बदलामा अत्याधुनिक विद्यालय पाएका हुन्।

‘भूकम्पपछि यस्तो भव्य भवन पाउँछौँ भन्ने सोचेकै थिएनौँ,’ विद्यालयका प्रधानाध्यापक हरिप्रसाद पौडेलले नागरिकसँग भने, ‘अत्याधुनिक र आकर्षक भवनले भूकम्पले दिएका सबै दुःख भुलाएको छ।’ एशियाली विकास बैँक (एडिबी) को झण्डै सात करोड ८३ लाख रुपैयाँको आर्थिक सहयोगमा पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) मार्फत यो विद्यालय भवन पुनर्निर्माण गरिएको हो।

ठेकेदार कम्पनी सोवर्ण निर्माण सेवाले दुई वर्ष लगाएर गएको माघमा विद्यालय पुनर्निर्माण सम्पन्न गरेको थियो। सोवर्ण निर्माणका मूक्ति सापकोटाले बुधबार नवनिर्मित भवन संयूक्त रुपमा इकाइ (शिक्षा) र विद्यालयलाई हस्तान्तरण गरे। सोही अवसरमा सांसद तथा नेकपाका नेता अग्नि सापकोटाले विद्यालयको औपचारिक उद्घाटन गरेका थिए।

जंगलबीच १० रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा तीनवटा भवन छन्। दुई तलेदरका भवनलाई व्यवस्थित घेराबार गरिएको छ। भवनका २० कोठामध्ये १२ कक्षामा पढाइ सञ्चालन हुने विद्यालयले जनाएको छ। बाँकी कोठा प्रअ, प्रशासनिक कक्ष, पुस्तकालय, कम्प्युटर र विज्ञान प्रयोगशाला कक्षको रुपमा प्रयोगमा ल्याइएको छ। दुबै प्रयोगशालामा कम्प्युटरसहित आवश्यक शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ। भवनमा भान्छा कोठासमेत छ। जहाँ बसेर शिक्षक, विद्यार्थी दिउँसोको खाजा खान्छन्।

किताव राख्न मिल्ने फर्निचर, सिलिङ फ्यान, ह्वाइट बोर्डले सुसज्जित भवनका कक्षा कोठा फराकिला र चिटिक्क छन्। ‘भवन आकर्षक त छ नै,’ इकाइ (शिक्षा) का आयोजना प्रमुख कृष्णप्रसाद सुवेदी भन्छन्, ‘भवनमा एउटा सुविधायूक्त विद्यालयमा हुने सम्पूर्ण सुविधा उपलब्ध छ।’ उनका अनुसार विद्यालय अपांग, वातावरण, सरसफाइमैत्री र शैक्षिक वातावरणअनुकूलित छ।

विद्यालयमा परिसरमा छात्र, छात्रा र शिक्षकका लागि छुट्टाछुट्टै शौचालय भवनको व्यवस्था छ। शौचालयभित्र दिसा र पिसाव गर्ने छुट्टाछुट्टै संरचना छन्। शौचालयमा महिनावारी हुने छात्रा लागि प्याड व्यवस्थापन गर्ने सुविधासमेत छ। शौचालय बाहिर हात धुने तथा पानी खाने ६ वटाका दरले धारा उपलब्ध छ। शौचालय र धारामा चौवीसै घण्टा पानी आपूर्ति हुन्छ। भवनका प्रत्येक कक्षमा व्यवस्थित बिजुली बत्ती छ। विद्युत आपूर्ति बन्द हुँदा विद्यालयमा जडित सोलार प्यानलले बिकल्पमा उज्यालो दिन्छ।

विद्यालयमा दुई सय ४० विद्यार्थी अध्ययनरत छन्। प्रअ पौडेल विद्यालयले अत्याधुनिक र सुविधा सम्पन्न भवन पाएकले अब शैक्षिक गुणस्तरमा ध्यान दिने बताए। ‘विद्यालयको डिजाइन र त्यसभित्र रहने सुविधा उत्कृष्ट रहेकाले निर्माणमा निकै मेहनत गरेका छौँ,’ निर्माण कम्पनी सोवर्णका प्रमुख अर्जुन थापाले भने। उनका अनुसार सोवर्णले यस्तै सुविधायूक्त अरु १५ सामुदायिक विद्यालय पुनर्निर्माण गरिरहेको बताए।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App