८ वैशाख २०८१ शनिबार
राजनीति

गाउँको ‘सिंहदरवार’लाई प्रश्नका चाङ

सिंगटी (दोलखा)- जिल्लाको उत्तरी बजार केन्द्र सिगंटी स्थित गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय प्रागंण। प्रागंणमा राखिएका करिब दुई सय ओटा कुर्सी सर्वसाधारणले भरिसकेका छन्।

अगाडीको लहरमा गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्का, उपाध्यक्ष सञ्जिव ओली सहित ८ ओटै वडाका वडाध्यक्ष र गाउँकार्यपालिकाका सदस्यहरु सर्वसाधारणले उठाउने प्रश्नको जवाफ दिन तयार भएर बसेका छन्। प्रशासन प्रमुखको हैसियतले गाउँपालिकाका प्रशासकीय अधिकृत नवराज ओली पनि जनप्रतिनिधिकै लहरमा छन्।

सञ्चालकले प्रश्नोत्तर कार्यक्रम सुरु भएको संकेत गर्छन्। लादुक गाउँका गोपीलाल ओलीले शुरुमै बालीनाली खाईदिएर बन्यजन्तुले दुख दिएको भन्दै किसानका समस्या उठाए।  ‘बस्ती रित्तिएर बन्यजन्तु बढेको बढ्यै छन्। कोदो लगायो, मृगले सिध्याईदिन्छ, मकै लगायो बाँदरले खाईदिन्छ, आलु वा अरु तरकारी लगायो अन्य जनावर आएर सखाप पारिदिन्छन्। उत्पादन जोगाउनै गाह्रो पर्‍यो अध्यक्ष जयु’ उनले गुनासो राखे। अध्यक्ष खड्काले बन्यजन्तुबाट बालीनाली जोगाउन संरक्षण क्षेत्र संग मिलेर  कार्यक्रम ल्याउने र किसानलाई क्षतीपुर्ती दिन पहल गर्ने भन्दै ओलीको चित्त बुझाए।

विगु गाउँपालिकाको कार्यालयले आफुले सम्पादन गरेका कामहरुबारे सर्वसाधारणको गुनासो सुन्न शनिबार सिगंटीमा आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीले अनेक गुनासा राखे। गाउँको सरकार प्रति भरोसा रहेको सुनाएका सर्वसाधारणले जनप्रतिनिधिलाई प्रश्नै प्रश्नले र्‍याखर्‍याखती पारे।

गाउँपालिकाको ७ नम्बर वडाका राम बहादुर सोडारीले गाउँका पसलमा मुल्यबृद्धीले आकास छोएको भन्दै आक्रोश पोखे। ‘गाउँका पसलमा नुन, तेल, दाल किन्न जाँदा पसलै बिच्छे फरक फरक मुल्य छ। मुल्य अचाक्ली भयो त्यसैले गाउँको सरकारले नियन्त्रण गर्न पहल गर्नुपर्दैन?’ गाउँपालिका उपाध्यक्ष ओलीले उद्योग बाणिज्य संघ सहित वडास्तरको संयन्त्रण संग मिलेर दैनिक उपभोग्य सामाग्रीको मुल्यमा एकरुपता ल्याउन प्रयत्न भईरहेको जवाफ दिए।

प्राय वडाबाट कार्यक्रममा सहभागी हुन आएका सर्वसाधारणका आफ्नो गाउँको ‘सिंहदरबार’ संग आ–आफ्नै खाले प्रश्न र जिज्ञासा थिए।  आफ्ना जनप्रतिनिधि संग कतिपयले विकास, बाटाघाटाका कुरा उठाए भने केहीले बन्यजन्तुले बालीनाली सखाप पारिदिएको भन्दै दुखेसो पोखे। किसानले थरी थरी समस्या थिए। केहीले गाउँमा मेलमिलाप कायम राख्न आग्रह गरे भने युवाले शान्तिसुरक्षा र बेरोजगारीको समस्या उठाए। 

चिलंखाका शेरसाङबो शेर्पाले चाही वडाध्यक्ष १० देखि ५ बजे सम्मै कार्यालयमा नबसेको भन्दै आक्रोश पोखे। ‘वडाध्यक्ष गाउँ कार्यपालिकाको समेत सदस्य हुने कारण अन्यत्र वडामा समेत कामका सिलसिलामा पुग्नुपर्ने साथै बैठकमा समेत गईरहनुपर्ने कारण कार्यालयमै बस्न गाह्रो पर्दोरहेछ’ उनकै वडाका अध्यक्ष मधुकर गुरुङ शेर्पालाई आश्वास्त तुल्याउदै थिए – ‘तर ढुक्क हुनुस हाम्रा लागी काम गर्न विदाको दिन वा राती बिहान दिउसो केहीले पनि छेकबार गर्दैन, २४ सै घण्टा जनताको काममा खटिरहेकै छौं।’

आलम्पुका प्रकाश थामीले भने संविधानको मर्म अनुसार स्थानिय तहमा तिन ओटा संरचना नदेखिएको भन्दै फरक प्रश्न राखे। ‘संविधानले संघ, प्रदेश र स्थानिय तिनै तहमा व्यवस्थापिका कार्यपालिका र न्यायपालिका गरेर तिन तहको संरचना हुन्छ भनेको हैन’ उनले अगाडी थप्दै सोधे– ‘हाम्रो गाउँपालिकामा चाही प्रमुख प्रतिपक्ष दलको नेता खोई? सभामुख को हो? सचेतक, संसदीय दलको नेता चाहिदैनथ्यो? न्यायाधीश भनेको तटस्थ व्यक्तीलाई बनाउने हैन र? किन स्थानीय सरकारकै उपाध्यक्षलाई न्यायीक समितिको संयोजक बनाको? गाउँपालिकाबाट अन्यायमा पर्दा न्याय माग्न जाने निकाय संविधानमा ब्यबस्था गर्नुपर्दैनथ्यो।’  

गाउँपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत ओलीले ब्यबस्थापिकाको रुपमा गाउँमा ४४ सदस्यीय गाउँ सभा रहेको, गाउँपालिका अध्यक्ष नै सभामुखका रुपमा गाउँसभाको सभाध्यक्ष रहेको, आफ्नो पालिकामा१७ सदस्यीय कार्यपालिका र उपाध्यक्षको अध्यक्ष्यतामा ३ सदस्यिय न्यायीक समिति रहेको भन्दै थामीका जिज्ञाशा मेटाउने कोशिष गरे। कार्यक्रममा अधिकांशले असारमा डोजर लगाउने काम बन्द गर्न र सडक निर्माणको काम बैशाख अगावै गर्न जनप्रतिनिधिलाई आग्रह गरे।

गाउँपालिका उपाध्यक्ष ओलीले गाउँको आफ्नो सरकारलाई खबरदारी गर्ने र जनप्रतिनिधिलाई रचनात्मक सल्लाह दिने सस्कृति विकास भएको भन्दै उत्साह व्यक्त गरे। ‘ठूलादेखी साना समस्या पनि आफ्नै गाउँको सरकारलाई राख्ने र आफ्ना जनप्रतिनिधिले गरेका कामको हिसाब राख्न सर्वसाधारण सक्षम भईसक्नुभएको छ’ उनले भने।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App