७ वैशाख २०८१ शुक्रबार
अर्थ

२० अर्बको इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनमा

काठमाडौं - ठूला पूर्वाधारमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बुधबारबाट कारोबार सुरु गरेको हो। अर्थमन्त्री युवराज खतिवडाले बुधबार उक्त बैंकको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रलाई सम्बोधन गर्दै खतिवडाले दीर्घकालीन निक्षेप संकलन गर्नतिर लाग्न बैंक सञ्चालकलाई आग्रह गरे। ‘दीर्घकालीन लगानीलाई प्राथमिकता दिनुहोस्,’ उनले भने, ‘अल्पकालीन लगानीका लागि अन्य बैंकहरु छन् , तपाईंहरु त्यतातिर नलाग्नुहोस्।’

अर्थमन्त्री खतिवडाले अल्पकालीन लगानीतिर लागेको खण्डमा बजार अरु तात्ने भएकाले त्यतातिर नलाग्न आग्रह गरे। ‘अल्पकालीन स्रोत जुटाउनेतर्फ लाग्दा तातेको बजारलाई तपाईंहरुले अरु नतताउनोस्,’ उनले भने। बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ छ। २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई सेयर जारी गर्ने योजना छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक सेयर छ।  

ठूला आयोजना छनोट गरेर लगानी विविधीकरण गर्न पनि अर्थमन्त्री खतिवडाले सुझाव दिए। बैंकहरुले दीर्घकालीन जोखिम लिन नचाहेकै कारण इन्फ्रास्ट्रक्चर बैंकको अवधारणा आएको उनको भनाइ थियो। बैंकर्स र उद्योग व्यवसायीबीच कर्जाको ब्याजदरको विषयलाई लिएर बढेको विवादतर्फ इंगित गर्दै अर्थमन्त्री खतिवडाले भने, ‘तपाईंहरुको पाखुरा सुर्कासुर्की सरकारलाई मन परेको छैन।’

साधारण सेयर बिक्रीपछि उक्त बैंकमा सरकारको १०, बिमा कम्पनीहरुको १८.९७, वाणिज्य बैंकहरुको २०.८९, निजी तथा सार्वजनिक कम्पनीको ५.१५, व्यक्तिगत ४.९९ तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व हुनेछ। बैंकका अध्यक्ष अनुज अग्रवालले पूर्वाधारको विकासमार्फत सामाजिक तथा आर्थिक विकासमा सहकार्य गरी लगानीकर्र्तालाई सामाजिक लाभांश समेत प्रदान गर्ने सोच राखेको बताए।

राष्ट्रिय योजना आयोगले नेपालमा पूर्वाधार विकासका लागि सन् २०२५ सम्ममाकरिब सय खर्ब लगानी आवश्यक रहेको जनाएको छ। यस सन्दर्भमा उक्त आकारको लगानी जुटाउन हालका वाणिज्य बैंक तथा वित्तीय संस्थाबाट मात्र सम्भव नहुने देखेर पूर्वाधार विकास बैंकको परिकल्पना गरिएको हो। यसले अन्तर्राष्ट्रिय, सार्वजनिक तथा निजी क्षेत्रसँग सहकार्य गरी आवश्यक स्वदेशी तथा विदेशी पुँजी जुटाउने, परियोजनामा लगानी गर्ने तथा सो सम्बन्धमा आवश्यक प्राविधिक सहयोग समेत गर्ने उनले बताए।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल ज्ञवालीले पूर्वाधार विकासको लागि आवश्यक दीर्घकालीन स्रोत संकलनका निम्ति बैंकले क्षेत्रगत स्रोतको अवधारणाअन्तर्गत पूर्वाधारसम्बन्धी क्षेत्र (ऊर्जा, पर्यटन, यातायात, स्वास्थ्य आदि) मा लगानी गर्ने उद्देश्यका साथविशेष रणनीति बनाई अगाडि बढ्ने बताए। संघीय शासन प्रणाली अनुसार आवश्यकता हेरी सातवटै प्रदेशमा कार्यालय खोली हरेक प्रदेशमा रहेको सभ्भाव्य पूर्वाधार योजनामा समेत लगानी गर्ने लक्ष्य लिएको ज्ञवालीले जानकारी गराए।

बैंकले पूर्वाधार विकाससँग सम्बन्धित स्वदेश तथा विदेशस्थित सरकारी तथा अर्धसरकारी संस्था, बैंक तथा वित्तीय संस्था, बिमा, भेन्चर क्यापिटल, विभिन्न प्रकारका लगानीकर्ता, बहुराष्ट्रिय÷द्विराष्ट्रिय विकास एजेन्सी तथा सरकार र निजी क्षेत्रसँग समन्वय गरी कार्य सम्पादन गर्ने÷गराउने एक नोडल इन्स्टिच्युसनको रुपमा अगाडि बढ्ने लक्ष्य लिएको सिइओ ज्ञवालीको भनाइ छ।

बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यावसायिक घराना समूह आवद्ध भएका छन्। बैंकको अध्यक्षमा अनुज अग्रवाल र सञ्चालकमा मुकुन्दप्रसाद पौड्याल, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, नुमनाथ पौड्याल छन्। पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी यो बैंक स्थापनाका लागि नेपालको निजी क्षेत्र तीन वर्ष अघिदेखि गृहकार्यमा थियो। बैंकले सञ्चय कोष, बिमा कम्पनीलगायतबाट निक्षेप लामो समयका लागि लिनेछ।

उक्त अवसरमा गभर्नर चिरञ्जीवी नेपालले विदेशी लगानी भिœयाएर पारदर्शी रुपमा लगानी गर्न सुझाव दिए। बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरी ऋण लिने, डिबेन्चर जारी गरी स्रोत परिचालन गर्नेलगायत काम गर्नेछ।

प्रकाशित: २३ फाल्गुन २०७५ ०५:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App