coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

जेफ बेजोस फेरि विश्वकै धनी

काठमाडौं - अनलाइन सपिङ कम्पनी अमेजनका मालिक जेफ बेजोस विश्वकै धनी व्यक्तिको सूचीमा पहिलो स्थानमा सुरक्षित राख्न सफल भएका छन्। फोब्र्स म्यागेजिनले सार्वजनिक गरेको सन् २०१९ को विश्वका डलर अर्बपतिको सूचीमा उनी पुनः पहिलो नम्बर परेका हुन्।

५५ वर्षीय अमेरिकी बेजोसको कुल सम्पत्ति १३१ अर्ब अमेरिकी डलर रहेको छ। उनले १९९४ मा इ–कमर्सका रुपमा अमेजन कम्पनी खोलेका थिए। उक्त कम्पनीमा उनी प्रमुख कार्यकारी अधिकृत (सिइओ) छन्। अमेजनमा बेजोसको १६ प्रतिशत सेयर छ।

सन् २०१८ मा अमेजनले दुई सय ३० अर्ब अमेरिकी डलर आम्दानी गरेकोमा १० अब डलर खुद नाफा रहेको छ। यो अघिल्लो वर्षको तुलनामा तीन अर्ब डलरले धेरै भएको फोब्र्सले उल्लेख गरेको छ।दोस्रो स्थानमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स छन्। ६३ वर्षीय अमेरिकी गेट्सको कुल सम्पत्ति ९६.५ अर्ब डलर पुगेको छ। उनले माइक्रोसफ्टमा एक प्रतिशत मात्र सेयर राखेर अन्य क्षेत्रमा लगानी गरेको फोब्र्सले जनाएको छ। उनकी पत्नी र उनले विश्वकै सबैभन्दा ठूलो बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन सञ्चालन गरिरहेका छन्।

तेस्रो स्थानमा ८८ वर्षीय अमेरिकी अर्बपति वारेन बफेट छन्। फोब्र्सका अनुसार बफेट सबैभन्दा सफल व्यवसायी मानिन्छन्। उनको सम्पत्ति ८२.५ अर्ब डलर बराबर पुगेको छ। उनले सञ्चालन गरेको बर्कसायर हाथावेअन्र्तगत ६० वटा कम्पनी छन्।   चौथो स्थानमा फ्रान्सका ७० वर्षे व्यवसायी बर्नार्ड आर्नोल्ट छन्। उनको कुल सम्पत्ति ७६ अर्ब अमेरिकी डलर रहेको छ। उनी एलभिएमएच कम्पनीका मालिक हुन्।

पाँचौं स्थानमा मेक्सिकन दूरसञ्चार व्यवसायी कार्लोस स्लिम हेलु छन्। उनको कुल सम्पत्ति ६४ अर्ब अमेरिकी डलर बराबर छ।  फोब्र्सको सूचीमा एक सय ९५ जना नयाँ अर्बपति थपिएका छन्। फोब्र्सको सूचीमा पहिलोपटक पर्नेमध्ये सबैभन्दा धेरै सम्पत्ति भएको चिनियाँ व्यवसायी कोलिन हुएनग छन्। सबैभन्दा कम उमेरकी अर्बपतिमा केली नेनियर छिन्। उनको उमेर २१ वर्षमात्र छ।

फोब्र्सका अनुसार विश्वमा दुई हजार दुई सय ५३ जना डलर अर्बपति छन्। यो सूची गत वर्षको तुलनामा ५५ जनाले घटी हो। विश्वका अर्बपतिको सूचीमा रहेका व्यक्तिमध्ये नौ सय ९४ अर्थात ४६ प्रतिशतको सम्पत्ति घटेको छ।
विश्वका अति धनी व्यक्तिको सम्पत्ति ८.७ हजार अर्ब अमेरिकी डलर छ, जुन गत वर्ष २०१८ को भन्दा चार सय अर्ब अमेरिकी डलरले कम हो। सग्रममा फोब्र्सको गत वर्षको सूचीबाट दुई सय ४७ जना अर्थात ११ प्रतिशत बाहिरिएका छन्। यो सन् २००९ पछिको सबैभन्दा धेरै हो। सन् २००९ मा विश्वव्यापी आर्थिक संकटका कारण धेरै व्यक्ति फोब्र्सको सूचीबाट हटेका थिए।

विश्वका डलर अर्बपतिको सूचीबाट बाहिरिनेमा एसिया–प्यासिफिक क्षेत्रका धेरै छन्। यस क्षेत्रबाट ६० जना सूचीबाट बाहिरिएकोमा चीनबाट मात्रै ४९ जना परेका छन्। अमेरिका र ब्राजिल दुई देश हुन जहाँ अर्बपतिको संख्या बढेको छ।
अमेरिकामा अर्बपतिको संख्या ६ सय सात जना छ। विश्वका सबैभन्दा धेरै धनी २० जनाको सूचीमा अमेरिकाका मात्रै १४ जना पर्ने फोब्र्सले जनाएको छ।

विनोद चौधरीको २२ अर्ब थपियो
विश्वका डलर अर्बपतिको सूचीमा रहेका विनोद चौधरीको सम्पत्ति यस वर्ष २० करोड अमेरिकी डलर थपिएको छ। फोब्र्स म्यागजिनका अनुसार सन् २०१८ मा एक अर्ब ५० करोड डलर रहेकोमा यस वर्ष एक अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ।

विश्वका अर्बपतिको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनका अनुसार उक्त सूचीमा परेका नेपालका एक्ला व्यवसायी चौधरीले गत वर्षको भन्दा २० करोड डलर धेरै कमाएका हुन्। बुधबारको विनिमय दर अनुसार यसको नेपाली रुपैयाँ २२ अर्ब ६० करोड हुन आउँछ। सन् २०१३ देखि फोब्र्सको डलर अर्बपति सूचीमा रहेका चौधरीको कुल सम्पत्ति एक अर्ब ७० करोड अमेरिकी डलर बराबर छ। यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा एक खर्ब ९२ अर्ब १० करोड हुन आउँछ। फोब्र्सको सूचीमा चौधरी १३४९औं नम्बरका धनी व्यक्ति हुन्।

चौधरी सिजी कर्प ग्लोबलका मालिक हुन्। यस अन्तर्गत कैयैं उत्पादन र सेवा रहेका छन्। सिजीले खानेकुरा, इलेक्ट्रोनिक्स, बियर र होटल सञ्चालन गरिरहेको छ। सिजी फुडले लोकप्रिय चाउचाउ वाइवाई उत्पादन गर्छ। यो चाउचाउ नेपालबाहेक भारत, बंगलादेश, साउदी अरब र सर्बियामा उत्पादन भइरहेको छ। नेबिल बैंकको बहुमत सेयर, आफ्नै स्वामित्वका २९ वटा होटल र भारतको बिलासी होटल ताजसहित ७० व्यवस्थापन हेर्ने होटल छन्। चौधरीको व्यवसाय सञ्चालनको लागि उनका तीन छोराले सहयोग गरिरहेको फोब्र्सले उल्लेख गरेको छ। उसका अनुसार निर्वाणले नेपालमा तथा राहुल र वरुण चौधरीले विदेशमा बसेर व्यवसाय गरिरहेका छन्।

प्रकाशित: २३ फाल्गुन २०७५ ०४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App