८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

रकेट प्रक्षेपण केन्द्र ब्युँताउँदै उत्तर कोरिया

सोल - उत्तर कोरियाले ध्वस्त बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र पुनः ब्युँताउन लागेको विश्लेषकहरुले बताएका छन् । उत्तर कोरियाको नयाँ स्याटेलाइट तस्बिरमा उसले यसअघि निष्क्रिय बनाउँछु भनेको रकेट प्रक्षेपण केन्द्र सक्रिय बनाउन लागेको जस्तो देखिएको विश्लेषकहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

तस्बिर गत महिनाको २७ र २८ तारिखका दिन एसियाली मुलुक भियतनाममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको दोस्रो शिखर बैठकपछि लिइएको बताइएको छ । कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नेबारे दुई नेताबीच कुनै सहमति नभइकन सो बैठक अन्त्य भएको थियो। 

उत्तर कोरियाले तोङचाङ–री परीक्षण केन्द्र पुनः सक्रिय बनाउन लागेको विश्लेषकहरुले बताएका छन् । तोङचाङ–री परीक्षण केन्द्र यसअघि भूउपग्रह प्रक्षेपण र इन्जिनको परीक्षणका लागि प्रयोग भएको भए पनि ब्यालेस्टिक क्षेप्यास्त्रका लागि भने हालसम्म प्रयोग नभएको बिबिसीले उल्लेख गरेको छ । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली सर्वोच्च नेताबीचसन् २०१८ को जुन १२ का दिन ऐतिहासिक पहिलो शिखर बैठक भएको थियो । सो बैठकमा कोरियाली प्रायःद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि वासिङ्टन र प्योङयाङबीच मिलेर काम गर्ने सहमति भएको थियो । सहमतिअनुसार उत्तर कोरियाले गत वर्ष नै तोङचाङ–री परीक्षण केन्द्र नष्ट गर्ने कार्य सुरु गरेको थियो तर अमेरिकासँगको वार्तामा सहमति नभएसँगै सो प्रक्रिया अन्त्य गरेको थियो ।तोङचाङ–री परीक्षण केन्द्र नष्ट गर्ने सहमतिलाई वासिङ्टन र प्योङयाङबीच विश्वासको वातावरण बनाउने माध्यमका रूपमा लिइएको थियो ।

यसैबीच प्योङयाङले आणविक निःशस्त्रीकरणको लागि उचित कदम नचाले उसले थप प्रतिबन्धको सामना गर्नुपर्ने वासिङ्टनले चेतावनी दिएको बिबिसीले उल्लेख गरेको छ । विभिन्न अमेरिकी थिंक ट्यांक र दक्षिण कोरियाली गुप्तचर निकायबाट बाहिरिएको स्याटेलाइट प्रमाणका अनुसार उत्तर कोरियाले तीव्र गतिमा तोङचाङ–री परीक्षण केन्द्रस्थित सोहाई परीक्षणस्थलको पुनर्निर्माण कार्य गरिरहेको देखिएको बिबिसीले उल्लेख गरेको छ । गत जुलाईमा सार्वजनिक गरिएको तस्बिरमा उत्तर कोरियाले सो तोङचाङ–री परीक्षण केन्द्र ध्वस्त गर्ने कार्य सुरु गरेको देखिएको थियो । 

सोहाई सन् २०१२ देखि उत्तर कोरियाको प्रमुख स्याटेलाइट परीक्षण केन्द्रको रूपमा रहँदै आएको छ । यो केन्द्र संयुक्त राज्य अमेरिकासम्म पुग्न सक्ने सामथ्र्यको क्षेप्यास्त्रको इन्जिन परीक्षणका लागि पनि प्रयोग भएको बिबिसीले उल्लेख गरेको छ । यद्यपि सोहाई परीक्षण केन्द्र यसअघि कहिले पनि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षणका लागि भने प्रयोग नगरिएको बताइएको छ । यस परीक्षणस्थल अत्यन्तै चुनौतीका रूपमा पश्चिमा राष्ट्रले हेर्ने गरेका छन् । ‘उत्तर कोरियाको यो परीक्षण केन्द्रको फरकपना महत्व रहेको छ,’ ३८ नर्थ नामक एक मनिटरिङ समूहका प्रबन्ध निर्देशक जेन्नी ब्राउनले बताइन् । परीक्षण केन्द्र पुनर्निर्माणको प्रक्रिया सुरु हुनु भनेको अमेरिकासँगको वार्तामा प्योङयाङको विश्वास हट्दै गएको उनले बताइन्। 

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०४:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App