coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘पागल अल्पसंख्यक’ लाई परास्त गरेरै छाड्ने मादुरोको प्रतिबद्धता

भेनेजुएलाका नेता ह्युगो चाभेजको छैटौं वार्षिकी कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति निकोलास मादुरो। तस्बिर : एजेन्सी

कराकस – आफूलाई शक्तिबाट हटाउन चाहेका ‘अल्पसंख्यक पागल’ लाई जसरी भए पनि परास्त गरैरै छाड्ने भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले बताएका छन्। देशका विपक्षी नेता उवान गुआइडोलाई चेतावनी दिँदै राष्ट्रपति मादुरोले विपक्षीले शनिबार गर्न लागेको प्रदर्शनविरुद्ध उत्रन आग्रहसमेत गरेको बिबिसीले उल्लेख गरेको छ । उनले विपक्षीको साम्राज्यवादी नीतिविरुद्ध प्रदर्शनमा उत्रन सर्वसाधारणलाई आग्रह गरेका हुन् । 

विपक्षीले अमेरिकाको सहयोगमा देशमा ‘कू’ को प्रयास गरिरहेको आरोप भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरोले लगाएका छन् । 

मादुरोलाई झुक्याएर सोमबार विपक्षी नेता गुआइडो स्वेदश फिर्ता भएपछिको यो उनको पहिलो प्रतिक्रिया हो । विपक्षीले अमेरिकाको सहयोगमा देशमा ‘कू’ को प्रयास गरिरहेको आरोपसमेत राष्ट्रपति मादुरोले लगाएको बिबिसीले उल्लेख गरेको छ ।भेनेजुएलाका सर्वमान्य नेता एवं मादुरोका राजनीतिक गुरु ह्युगो चाभेजको छैटौं वार्षिकीमा बोल्दै उनले भने, ‘पागल अल्पसंख्यकले आफ्नो घृणा देखाउँछन् भने त्यो उनीहरुको समस्या हो । हामी उनीहरुको त्यस्तो गतिविधिमा ध्यान दिँदैनौं ।’भेला भएका सैनिक अधिकारीअघि उभिएर बोलेका मादुरोले भने, ‘हामी उनीहरुलाई उनीहरुको बाटो, राष्ट्रिय युनियनमा रोक्न गइरहेका छौं ।’

‘पागल अल्पसंख्यकलाई उनीहरुको तिक्ततासँगै बग्न दिऔं । हामी उनीहरुलाई परास्त गर्ने छौं । चाभेजका लागि र देशको गर्विलो इतिहासका लागि पनि हामीले त्यस्तो गर्ने छौं,’ उनले बताए । अर्को फरक प्रसंगमा मादुरोलाई शक्तिबाट हटाउनका लागि भेनेजुएलामाथि थप प्रतिबन्धको तयारी भइरहेको संयुक्त राज्य अमेरिकाले बताएको छ । भेनेजुएलामा भविष्यमा हुने लोकतान्त्रिक निर्वाचनमा मादुरोको भूमिका सकारात्मक हुने कुनै संकेत नभएकाले उनलाई शक्तिबाट हटाउनका लागि अमेरिकाले थप प्रतिबन्धबारे सोचिरहेको भेनेजुएलाका लागि अमेरिकाका विशेष दूत इलियट अब्राम्सलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ । 

‘यदि मादुरोले लोकतान्त्रिक भेनेजुएला बनाउन चाहन्छन् भने उनलाई त्यस्तो गर्न मौका छ तर उनले त्यस्तो गर्नेवाला छैन,’ अब्राम्सले बताए । मादुरोको नेतृत्वमा गत वर्ष सम्पन्न भएको निर्वाचन अवैधानिक भएको भन्दै विपक्षी नेतृत्वमा रहेको देशको राष्ट्रिय सभाका अध्यक्ष एवं विपक्षी नेता उवान गुआइडोले जनवरीमा आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुएलाको राजनीति कठिन मोडमा पुगेको छ । 

मादुरो नेतृत्वा गत वर्ष सम्पन्न निर्वाचनमा निष्पक्ष हुन नसक्ने भन्दै विपक्षीले बहिष्कार गरेका थिए । विपक्षीले बहिष्कार गरेको निर्वाचनमा मादुरोको विजयी भएको घोषणा गरिएको थियो । सोही निर्वाचनको मत परिणामअनुसार यसै वर्षको जनवरी महिनाको सुरुमा मादुरोले दोस्रो कार्यकालका लागि राष्ट्रपति पदको शपथ लिएपछि विपक्षीले सरकारविरुद्धमा राजधानी कराकसमा प्रदर्शन गरेका थिए । सोही प्रदर्शनकै क्रममा विपक्षी नेता गुआइडोले आफूले आफैंलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए । उनले देशको संविधानअनुसार आफू अन्तरिम राष्ट्रपति भएको बताएका थिए । 

भेनेजुएलाको संविधानअनुसार राष्ट्रपतिको गैरउपस्थितिमा देशको राष्ट्रिय सभाका अध्यक्ष अन्तरिम राष्ट्रपति हुने प्रावधान छ । यही प्रावधानअनुसार अवैधानिक निर्वाचनमार्फत् मादुरो राष्ट्रपति भएकाले देशमा राष्ट्रपति नभएको भन्दै गुआइडोले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए । विपक्षी नेता गुआइडोले आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकाले उनलाई मान्यता दिएको थियो । 

अमेरिकाको बाटो पछ्याउँदै हालसम्म ४० भन्दा बढी देशले उनलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिइसकेका छन् । यसरी मान्यता दिनेमा अधिकांश युरोपेली राष्ट्रसहित क्यानडा, बेलायत र फ्रान्स पनि रहेका छन् । उता, मादुरोको पक्षमा भने रुस, चीन, टर्की, मेक्सिकोलगायतका राष्ट्र देखिएका छन् ।

 

प्रकाशित: २३ फाल्गुन २०७५ ०३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App